सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
भेरी पम्पिङ परियोजना

भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?

बुधबार, २३ माघ २०८१, १८ : ००
बुधबार, २३ माघ २०८१

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकावासीको तिर्खा मेट्ने बहुचर्चित भेरी पम्पिङ आयोजना अन्तर्गत पहिलो चरणको काम भइरहेको छ ।

भदौ महिनामा चिनियाँ कम्पनी सिंज्याङ टर्म्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले यो आयोजना निर्माणको जिम्मा पाएको थियो । उक्त कम्पनीसँग ३ अर्ब ५ करोड ८ लाख १५ हजार २८०.६१ लागतमा सम्झौता भएको आयोजनामा चार महिनाको अवधि अर्थात् पुस मसान्तसम्म २६ करोड ३० लाख रकम खर्च भएको छ ।

यो आयोजनाका लागि चालु आर्थिक वर्ष १ अर्ब २० करोड ९ लाख ९८ हजार रकम विनियोजन गरिएको छ । तीन तहका सरकारको समन्वयमा निर्माण अघि बढेको आयोजनामा यो वर्ष केन्द्र सरकारले १ अर्ब ६ करोड ५९ लाख ९८ हजार, कर्णाली सरकारले ३ करोड ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले १० करोड रकम विनियोजन गरेका छन् ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाई वीरेन्द्रनगर नगरपालिकाका आयोजना प्रमुख (सीडीई) सञ्जीव कुमार साहका अनुसार चार महिनाको अवधिमा केन्द्रको २१ करोड ४ लाख, प्रदेशको ३ करोड ४१ लाख ९० हजार र वीरेन्द्रनगर नगरपालिकाको १ करोड ८४ लाख १० हजार रकम खर्च भएको छ ।

दुई खण्डमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनामा केन्द्र सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । स्थानीय विवाद निरूपण, पहुँचमार्ग विस्तारदेखि आवश्यक पूर्वाधार काम नगरपालिका आफैँले गर्नुपर्नेछ ।

हालसम्मको वित्तीय प्रगति ८.६२ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

  • अहिलेसम्म भएका काम

अर्धवार्षिक प्रगति समीक्षा अनुसार अहिलेसम्म ९ वटा काम भएका छन् । त्यसमा पनि केही सुरु भएका र केही प्रक्रियामै छन् ।

अहिलेसम्म भेरी पम्पिङ उप–आयोजना प्याकेज–२ वितरण प्रणालीको सर्भे भई डिजाइनको काम भइरहेको छ भने सुर्खेत उपत्यका खानेपानी क्षेत्रगत सुधार विस्तार आयोजनाको सर्भे डिजाइन लागत इष्टिमेट पूरा भई ठेक्का हुने प्रक्रियामा रहेको आयोजना प्रमुख सञ्जीव कुमार साहले बताए ।

यस्तै भेरी पम्पिङ उप–आयोजनाले नसमेटिएको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ को बाँकी भाग र वडा नम्बर १४, १५, १६ को सर्भे भएर डिजाइनको काम भइरहेको छ ।

citra photo

आयोजना प्रमुख साहले भने, ‘सार्वजनिक शौचालयको लागत इष्टिमेट तयार भएको छ भने कम्पोनमेन्ट ३ अन्तर्गत जलाधार व्यवस्थापनको अध्ययन कार्य भइरहेको छ ।’

भेरी पम्पिङ उप–आयोजना (प्याकेज १) अन्तर्गत निर्माण कम्पनीले जोइन्ट सर्भेको काम सम्पन्न गरिसकेको छ भने क्रसर प्लान्ट, ब्याचिङ्ग प्लान्ट र निर्माण सामग्रीको परीक्षण गर्न ल्याब स्थापना गरिसकेको छ ।

साहका अनुसार निर्माण कम्पनीले धारापानी र खोर्केमा ४५० घनमिटरको पानीपोखरीको निर्माण कार्य पनि सुरु गरेको छ भने डीआई पाइप र फिटिङ्गहरू अर्डर गरेको छ ।

सङ्घीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा चालु आर्थिक वर्षदेखि केन्द्र, प्रदेश र स्थानीय सहकारको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत यो आयोजना अघि बढाइएको हो ।

यसलाई मेलम्चीपछिको दोस्रो ठुलो आयोजनाको रूपमा लिइएको छ ।

  • रुख कटानको अनुमति

आयोजना कार्यान्वयनमा रुख कटानलाई प्रमुख समस्या मानिँदै आएको थियो । यद्यपि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रुख कटानको लागि अनुमति दिइसकेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।

उनले भनिन्, ‘काम धमाधम भइरहेको छ । यो परियोजनाले वीरेन्द्रनगर नगरवासीको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्नेछ ।’

  • बजेट अभाव र समस्या

चालु आर्थिक वर्षका लागि ९ करोड ५० लाख बराबर रकम अपुग रहेको आयोजना प्रमुख (सीडीई) सञ्जीव कुमार साह बताउँछन् । उक्त रकम प्रदेश सरकारबाट आउनुपर्ने भए पनि आएको छैन ।

यदि बजेट अभाव भयो भने आयोजनाको लक्ष्य अनुसार काम गर्न समस्या हुने देखिन्छ । यो अवधिसम्म खर्च भएको भनिएको रकम चिनियाँ कम्पनीले पेस्की स्वरुप लिएको रकम हो ।

यस्तै जग्गा प्राप्तिको काम हुन सकेको छैन भने झुप्राखोलामा हालसम्म पुल नबनेकाले पहुँच मार्गमा कठिनाइ देखिएको आयोजना प्रमुख साह बताउँछन् ।

  • तीन वर्षमा भेरीको पानी वीरेन्द्रनगरमा झार्ने लक्ष्य

वीरेन्द्रनगरका खानेपानीको हाहाकार छ । लामो समयदेखि चर्चामा रहेको भेरी पम्पिङ आयोजना कार्यान्वयनमा आएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

यो आयोजना सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा खानेपानीको सहज आपूर्ति होस् भन्ने उद्देश्यसहित अघि बढाइएको हो ।

दुई चरणमा काम हुने आयोजनाको पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ किलोमिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिने छ ।

surkhet-valley-final_OPz1O6bU4p

त्यसपछि इन्टेकदेखि करिब ४०० मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण गरिने छ भने ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की बनाइने छ । पहिलो चरणमै ट्याङ्कीदेखि मुख्य प्रसारण लाइन विस्तार गरिने छ ।

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ ।

त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।

अमृतडाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा वडा नम्बर १ देखि १३ सम्म वितरण गरिने छ ।

तीन वर्ष निर्माणको समयावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापनको जिम्मा निर्माण कम्पनीले लिने छ ।

त्यस पश्चात् आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउने छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अबको तीन वर्षमा भेरीको पानी वीरेन्द्रनगरमा झर्ने बताइन् ।

हाल झुप्रा खोला, खरिखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाइएको छ । ती मुहानमा खडेरीका समयमा कारण पानी घट्दै जाँदा उपत्यकामा पानीको चरम अभाव हुन्छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान छ । जबकि घरधुरी संख्या झण्डै ४० हजार पुगेको अनुमान गरिएको छ । करिब ४ हजार दुई सय बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान कार्य हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सूचीमा छन् ।

धारा जडान भएका घरधुरीका लागिमात्रै दैनिक ३७४ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्छ । दैनिक १५७ लिटर प्रतिसेकेन्ड खानेपानी आपूर्ति हुने स्रोतहरूबाट हाल ५२ लिटर प्रतिसेकेन्ड मात्र खानेपानी आपूर्ति हुन्छ ।

हिउँदको समय लागेसँगै खानेपानीको चरम सङ्कट पैदा हुन्छ भने चैत, वैशाख, जेठ र असार महिनामा सबैभन्दा बढी खानेपानीको अभाव हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप