‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
![‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’](https://npcdn.ratopati.com/media/news/ratneshwor-kayastha_da8URJ1tOT.jpg)
३६ वर्ष काम गरेर नेपाल सरकारको सचिव पदबाट अवकाशप्राप्त रत्नेश्वरलाल कायस्थ तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा २०६३ सालमा आबद्ध भएका थिए ।
मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी उक्त पार्टीको वीरगञ्ज महाधिवेशनबाट सचिवसम्म भए । पार्टीमा बौद्धिक र शालीन व्यक्तित्वको रूपमा परिचित कायस्थ २०७४ सालको चुनावपछि मधेस प्रदेश प्रमुख नै भए ।
आफ्नो जागिर र पढाइमा जहिले पनि उत्कृष्ट ठहरिएका कायस्थले त्यही अनुभवका आधारमा काम गर्न खोजेका थिए । तर, पूर्णकार्यकाल उनी सो पदमा रहन सकेनन् । पञ्चायत, बहुदल र गणतन्त्र तीन वटै व्यवस्थामा उच्च तहमा रहेर काम गरेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख कायस्थसँग उनका अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश:
- उच्चपदस्थ जागिरबाट रिटायर्ड भएर राजनीतिमा आउनुभयो, सरकारी जागिर अवधिको अनुभव कस्तो रह्यो ?
–करिब ३६ वर्ष सरकारी जागिरमा बिताएँ । विभिन्न उच्च पदमा रहेर काम गरेँ । त्यो अवधिले जीवन जिउन सिकायो । त्यसले जीवनमा देश र समाजप्रति केही राम्रो काम गर्नुपर्छ भनी सिकायो ।
आफूले लिएको अनुभव र ज्ञानले समाजका लागि केही गर्नुपर्छ भनी अन्तिम समयमा राजनीतिमा लागेको हुँ । रिटायरमेन्टपछि राजनीतिमा जुन योगदान दिएँ, त्यसमा जागिरे जीवनको अनुभवले निकै सघायो, राजनीति गर्न कन्फिडेन्स बढायो, काम गर्न सहज भयो । म जति दिन राजनीतिमा रहेँ, त्यति सफल रहनुको कारण मेरो जागिरे जीवन नै हो ।
जागिर अवधिमामा पञ्चायतीदेखि बहुदलसम्मको अनुभव लिए । त्यसैले नै गणतन्त्र ल्याउन संघर्ष गर्न मलाई सिकायो ।
- तपाईंले मधेसी जनअधिकार फोरम नै किन रोज्नुभयो त ?
–मेरो पारिवारिक राजनीतिक पृष्ठभूमि कांग्रेस हो । सैद्धान्तिक रूपमा कांग्रेस पक्षधर नै थिएँ । कार्य अवधिमा कांग्रेस, कम्युनिस्टको राजनीतिक गतिविधि देखेँ । त्यसले चलाएको सरकारको अनुभव पनि लिएँ । एउटा विकासशील मुलुकका जनताले जे खोजिरहेका थिए, त्यसलाई ती कांग्रेस, कम्युनिस्टका नेता तथा उसले नेतृत्व गरेको सरकारबाट त्यो डेलिभर भइरहेको थिएनजस्तो मलाई लागिरह्यो ।
म रिटायर्ड भएपछि नयाँ शक्तिका रूपमा माओवादी र मधेसी जनअधिकार फोरम आएको थियो । यसले देश परिवर्तन गर्न सक्छ भन्ने मलाई लाग्यो । किनभने, कांग्रेस र एमालेका कामका शैली अनुभव गरिसकेको थिएँ । त्यसैले फोरममा आबद्ध भएँ ।
- तपाईंले पञ्चायत, बहुदल र गणतन्त्र तीन वटै समयमा उच्च ओहदामा रहेर काम गर्नुभयो, यी तीन वटै समयलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
–पञ्चायती, बहुदल वा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र यी सब प्रणाली हुन् । जुन व्यवस्था आए पनि जनताका लागि काम हुनुपर्छ । पञ्चायती वा राणाकाल, जेमा भए पनि जनताका लागि भयो भने त्यो राम्रो हुन्छ ।
बहुदलमा जनताका लागि राम्रो काम भएको भए गणतन्त्र नै चाहिँदैनथ्यो । गणतन्त्रमा राम्रो काम भएन भने जनताले फरक ढंगले सोच्न थाल्छन् । अर्थात् प्रणाली वा व्यवस्था केही होइन, मान्छले के खोजेका छन्, त्यसमा ध्यान दिनुपर्छ । जे जस्तो व्यवस्था भए पनि समाज र देशका लागि काम गर्नुपर्छ ।
पञ्चायतले राम्रो नगरेर प्रजातन्त्र आयो । प्रजातन्त्रले राम्रो गरेन भनेर अझ अग्रगामी व्यवस्था गणतन्त्र ल्याइयो । तर, यसमा पनि सुधारका कुराहरू भइरहेका छन् । काम भयो भने जनताले विकल्प खोज्दैनन् । मेरो अनुभवले त्यही भन्छ, डेलिभरी इज मोस्ट इम्पोर्टेन्ट ।
- पञ्चायती व्यवस्थामा शानदार जागिर पाउनुभयो, बहुदलमा पनि सेवासुविधा पाउनुभयो, गणतन्त्रमा पनि मधेस प्रदेश प्रमुख नै बन्नुभयो । अनि तपाईंले नै डेलिभरी भएन भन्नुहुन्छ । कसरी ?
–खासमा म प्रदेश प्रमुख हुन्छु वा मन्त्री बन्छु भनेर म राजनीतिमा आएको होइन । समाज उत्थानका लागि लागेको हुँ । समाजलाई बुझेको छु, त्यसलाई अनुभव गरेको छु । अब त्यसका लागि केही गर्नुपर्छ भनेर ठाउँ खोजिरहेको थिएँ । समाजलाई राजनीतिक दलले मात्र परिवर्तन गर्न सक्छ । समाजले पनि सबैभन्दा बढी कुरा सुन्ने राजनीति दल नै हो । त्यसैले राजनीतिमा आएको हुँ । त्यो अवसर पाएर म प्रदेश प्रमुखसम्म बनेँ ।
पञ्चायतकामा पनि आफ्नो क्षमता र विवेकले जागिर पाएको थिएँ । त्यसले मलाई सचिवसम्म पुर्यायो । तर म एक जनाले समाजमा परिवर्तन भयो त ? जनताले खोजेका कुरा पाए त ? मेरो कन्सर्नको विषय नै यही हो ।
- काम गर्ने मान्छेले त जहाँबाट पनि गर्न सक्छन्, प्रदेश प्रमुख नै किन ?
–पदमा भएको व्यक्तिसँग अधिकार र साधन स्रोत हुन्छ । नीति निर्माण तहसम्म उसको पहुँच हुन्छ । सायद अरू ठाउँमा गाह्रो हुन्छ । गर्न त धेरैले देशका लागि केही न केही गरिरहेका हुन्छन्, तर किन सक्सेस हुँदैनन् त ? अन्तिममा राज्य निकायको सहारा लिनुपर्छ । जहाँबाट जनताका लागि डेलिभरी गर्न सजिलो हुन्छ, त्यहाँ जानुपर्छ ।
- त्यसोभए तपाईंले जुन प्लेटफर्म पाउनुभयो, त्यहाँ आफ्नो अनुभव सदुपयोग गर्न पाउनुभयो कि भएन ?
–कुनै व्यक्तिले कुनै काम एक्लै गरेको जस्तो सजिलो छैन, राजनीतिक प्लेटफर्म । यहाँ समूहमा काम गर्नुपर्छ । म त्यहाँ हुन्जेलसम्म टिम वर्क मिलेको थियो । काम गर्न सजिलो थियो । सरकारले ल्याउने नीति तथा कार्यक्रम म आफैँ बनाउँथेँ । कार्यान्वयन गर्न सरकारलाई सुझाव दिन्थेँ ।
मेरो कार्यकालमा थुप्रै कानुन निर्माणका विधेयकहरू बढे । विकास निर्माणका कामहरू बढ्यो । त्यसको मूल्यांकन अहिले पनि भइरहेको छ । हामीले कोरेको खाकामै अहिलेसम्मका सरकार चलिरहेका छन् । काम गराइका क्रममा कतिपय अवस्थामा ओभरल्याप पनि भएको होला । त्यसले गर्दा मैले दिएका सुझाव कार्यान्वयनमा नगएको हुन सक्छ । गर्न सकिने जति काम गर्न नसकेको होला, तर प्रयास भएकै थियो ।
- तपाईं त्यहाँबाट हटेसकेपछि काम गर्ने परिस्थिति त्यस्तै छ कि केही फरक पाउनुभएको छ ?
–म कसैलाई गुनासो गर्ने, टिप्पणी गर्ने पक्षमा छैन । तर, कसैको अनुभव र विज्ञको सुझाव लिने र त्योअनुसार कामहरू बढाउने कुराको अभाव देखिरहेको छु । डेलिभरीमा समस्या देखिरहेको छु ।
- त्यस्तो हुनुको कारणचाहिँ के देख्नुभयो ?
–कुनै पनि व्यक्तिले बिनास्वार्थ कुनै काम गर्दैन । तपाईं कुन स्वार्थका लागि काम गरिरहनुभएको छ, त्यो मुख्य कुरा हो । राजनीतिमा अधिकांश मान्छेले व्यक्तिगत स्वार्थका लागि काम गरिरहेका हुन्छन् । देश र समाजको स्वार्थले व्यक्तिगत स्वार्थलाई पछाडि पार्न सकिरहेको छैन । मधेस प्रदेश सरकारको अवस्था पनि त्यही छ । त्यहाँ समाज र देशभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको छ । त्यसले गर्दा समाज र देशका लागि काम भइरहेको छैन ।
- यसमा तपाईंको पार्टी पनि दोषी होला नि, होइन ?
–म त अहिले पार्टीमा छैन । तर, पार्टीको काम हेरिरहेको छु । पार्टीमा आउने हरेक व्यक्ति एउटै खालका हुँदैनन् । विचार एउटै भए पनि पद्धति र शैली फरक हुन्छ । त्यही शैली र पद्धतिले धेरै कुरा बिगारेको हुन्छ भने धेरै सपारेको पनि हुन्छ ।
पार्टीले चाहेर पनि राम्रो काम गर्न नसकेका होला । कुनै व्यक्तिको कारण सफल नभएको होला, त्यो बेग्लै कुरा हो । पार्टीले राम्रो काम गरेको भए सबैले मन पराइहाल्थे । पार्टी कमजोर भएको छ । यसको मतलब कहीँ न कहीँ त त्रुटि पक्कै भएको छ ।
- यसरी पार्टी कमजोर हुँदै जानुमा तपाईंको अनुभवले के भन्छ ?
–नेता होस् वा कार्यकर्ता, नवनिर्माणका लागि ऊ जसरी बढ्नुपर्ने हो, त्यसमा सकिरहेको छैन । नेताहरूको चेतनास्तर अझै विकास भएको छैन । अझै पनि सानोतिनो कुरामा अल्झिएका छन् । सबैमा यही समस्या देख्छु । नेताहरूमा ‘प्यासेन्स’ देखिँदैन । यस्तो जसपा नेपालमा मात्र होइन, अन्य पार्टीहरूमा पनि देखिएका छन् ।
- संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएको सबैभन्दा धेरै गुनासो मधेस प्रदेशले गरेको छ । तपाईंलाई के लाग्छ ?
–यो पनि व्यक्तिगत स्वार्थ हाबी भएकै कारण हो । त्यसले गर्दा हुनुपर्ने काम पनि भइरहेका छैनन् । संविधानमा यस्ता धेरै कुरा उल्लेख छन्, जुन पूर्ण रूपमा कार्यान्वयनमा आए जनताले ठुलो राहत महसुस गर्छन् । तर, कतै न कतैबाट त्यसलाई रोक्ने काम भइरहेको छ । हो, यही हो व्यक्तिगत स्वार्थ । देश र समाजको स्वार्थ भए रोकिँदैन्थ्यो ।
संविधान जस्तो छ, त्यसलाई फुलफेजमा कार्यान्वयनमा लैजानुपर्छ । प्रयोगमा ल्याउनुपर्छ, त्यसमा छिद्र खोजेर व्यक्तिगत स्वार्थका लागि अवरोध गर्ने काम भइरहेको छ । यसले जनतालाई अप्ठ्यारो भइरहेको छ ।
एउटा मान्छेले त्यही कानुन टेकेर राम्रो काम गरिरहेका हुन्छ भने अर्कोले सकिरहेको हुँदैन । अर्थात् जे छ त्यसलाई इमानदारीपूर्वक कार्यान्वयनमा लैजानु पर्छ, यसको अभाव मधेस प्रदेशमा देखिएको छ ।
- नेपालमा विकास भएन भनिन्छ । तपाईंलाई के लाग्छ ?
–यहाँ कुरा आउँछ दृश्य कि अदृश्य विकास । दृश्य विकास भनेको घर, सडक, भ्युटावर, पुलपुलेसा, बिजुलीलगायत हो ।
अदृश्य विकास भनेको चरित्र निर्माण हो । त्यसमा शिक्षा, स्वास्थ्यको कुरा हुन्छ । त्यसलाई देखिँदैन, अनुभव गर्न भने सक्छ । तर, यहाँ दृश्य विकासमा बढी जोड दिइन्छ ।
गाउँमा सडक, बत्ती, भवन, इन्टरनेट पुगेको छ, त्यसको सदुपयोग छैन । अर्थात् मान्छेको चेतनाको विकासमा जोड दिनुपर्छ । उसलाई शिक्षित बनाउनुपर्छ । समाज शिक्षित भयो भने सबै विकास आफै हुन्छ । शिक्षा र स्वास्थ्यको अगाडि भौतिक विकासको कुनै अर्थ रहँदैन ।
बहुदलमा प्रतिव्यक्ति ३–४ हजार ऋण थियो, तर अहिले ७५–७६ हजार पुगेको छ । ऋण बढ्यो तर, विकास किन हुन सकेन ? त्यसको विश्लेषण गर्यो भने सबै छर्लङ्ग हुन्छ । विकास गर्न भिजनरी लिडरसिप र इमान्दार नेता देशमा भएनन् । तर म आशावादी छु, कुनै न कुनै लिडर आउँछन् र देश बनाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला