सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

गगन थापामाथि उठेका शङ्कैशङ्का र प्रश्नैप्रश्न

बुधबार, २३ माघ २०८१, १२ : ५९
बुधबार, २३ माघ २०८१

कुनै बेला नेपाली राजनीतिमा युवापुस्ता र आमनेपाली जनताकै आशा र भरोसाको केन्द्रको त्यान्द्रो बनेका नेपाली काङ्ग्रेसका वर्तमान महामन्त्री गगन थापा यतिबेला नेपाली काङ्ग्रेसकै महामन्त्री नै हुन् र भन्ने अवस्थामा पुगेका देखिन्छन् ।

गगन गत २०७८ मंसिरमा सम्पन्न नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा पुस्तान्तरण र रूपान्तरणको मुद्दा अगाडि सारेर अत्यधिक मतसहित महामन्त्रीमा विजय भएका नेता हुन् तर महामन्त्री भएको तीन वर्ष कार्यकाल बिताउँदा समेत के उनी अहिले नेपाली काङ्ग्रेसकै महामन्त्रीमै सक्रिय छन् र भन्ने अवस्थामा पुगेका देखिन्छन् । उनको सैद्धान्तिक र वैचारिक आस्था, कार्यशैली र कार्यक्षमतामा थुप्रै प्रश्न उठ्न थालेका छन् । चारवर्षे कार्यकालमा तीन वर्षको समय थोरै होइन, उनको यो अवधिमा परिवर्तनका संकेत पनि नै देखिएनन् । नेपाल कम्युनिस्ट पार्टीमा छोटो समयमै मदन भण्डारीले जुन उचाइ प्राप्त गरेका थिए, नेपाली काङ्ग्रेसमा पनि गगनलाई त्यो उचाइ प्राप्त गर्ने ठुलो अवसर थियोे, तर उनले त्यो अवसरलाई सदुपयोग गर्न नसकेको देखिन्छ । उनले नेपाली काङ्ग्रेसमा लामो समयदेखि जरा गाडेर बसेको व्यक्तिवादी सोच र गुटवादी संस्कृतिलाई चिर्न असफल भए । उनी पनि गुटवादी संस्कृतिबाट बाहिर निस्किन सकेनन् ।

उनी अवसरवादी र गुटवादी संस्कृतिमै हराएर ओझेलमा परेको जस्तो लाग्छ । कुनै राजनीतिक दलमा जब कुनै व्यक्ति वा गुटको हाबी हुन्छ अनि दलले राजनीतिक विश्वास र उचाइ प्राप्त गर्न सक्दैन । १४औँ महाधिवेशनमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिको मतबाट विजयी भएपछि उनले नेपाली काङ्ग्रेसको संगठनलाई जसरी हाँक्नुपर्ने थियोे र पार्टीलाई जुन उचाइमा लैजानुपर्ने थियो, त्यसरी हाँक्न सकेनन् र पार्टीलाई कहिले प्रचण्ड र कहिले ओलीको अधीनस्थ बनाए । गगन नेपाली काङ्ग्रेसको महामन्त्रीभन्दा पनि कहिले शेखर कोइराला गुटको महामन्त्री, कहिले प्रचण्डको महामन्त्री, कहिले दाइभाउजूको महामन्त्री र कहिले ‘बा’वादका महामन्त्री बनिरहेर कार्यकाल बिताइरहेका छन् कि जस्तो आभास देखिन्छ । नेपाली काङ्ग्रेस जस्तो गर्विलो इतिहास बनाएको पुरानो र जिम्मेवार राजनीतिक दलको महामन्त्रीमा त सिङ्गो नेपाली राजनीतिकै जवाफदेही र जिम्मेवारीको बोध हुनुपर्नेमा त्यो हुन सकेन ।

अहिले गगनमा सैद्धान्तिक र वैचारिक स्खलन नै आएको देखिन्छ । उनी त्यही २०४६ सालका गगन थापा हुन् र भन्ने अवस्थामा पुगेका देखिन्छन्, आम नेपाली जनताको विश्वास गुमाउँदै गएका पनि छन् । नेपाली काङ्ग्रेसको वैकल्पिक सभापति र नेपाल सरकारको निर्विकल्प प्रधानमन्त्री हुनुपर्छ भन्ने ठाउँमा पुगेका गगनको राजनीतिक उचाइ साँघुरिँदै गएर अब रास्वपा सभापति रवि लामिछानेको प्रतिस्पर्धी बन्न पुगेको हो कि पो जस्तो देखिन्छ । 

नेपाली काङ्ग्रेसको मूल उद्देश्य र गन्तव्य भनेको प्रजातान्त्रिक समाजवाद हो भनिन्छ तर आज गगन थापा आफ्नो सैद्धान्तिक धरातल बिर्सेर खुम्चिँदै र साँघुरिँदै प्रचण्डपथ हुँदै ‘बा’वादको बाटो अवलम्बन गर्न पुगेका देखिन्छन् ।

नेपाली काङ्ग्रेसको मूल उद्देश्य र गन्तव्य भनेको प्रजातान्त्रिक समाजवाद हो भनिन्छ तर आज गगन आफ्नो सैद्धान्तिक धरातल बिर्सेर खुम्चिँदै र साँघुरिँदै प्रचण्डपथ हुँदै ‘बा’वादको बाटो अवलम्बन गर्न पुगेका देखिन्छन् । उनी बेलाबेला सञ्चार माध्यममा आएर ८४ होइन, ८१ मै गर्ने हो भन्छन् तर सिन्को भाँचेको देखिँदैन । खै त ०८१ मै गरेको ? अर्कालाई दोष देखाएर गगन उम्किन सक्दैनन् । आफ्नो हातमा राज्यसत्ताको साँचो आउँदा केही गर्न नसक्ने अनि अरुलाई दोष देखाएर उम्किन मिल्छ र ? आफूले पार्टी र सत्तामा गएर केही गर्न नसकेको आफैँले बारम्बार स्वीकार गरेका छन् । उनी अरुतिर प्रश्न गरिरहेका हुन्छन् । ती प्रश्नले गगन आफैँलाई गिज्याइरहेका छन् । उनी नेपाली जनतालाई ढाँटेर उम्किन खोज्दै छन् । नेपाली काङ्ग्रेसको महामन्त्री जस्तो गरिमामय पदमा पदासीन भएको व्यक्तिले जिम्मेवारविहीन जस्तो भएर बोल्न पटक्कै सुहाउँदैन । गगन जतिको मान्छेले गर्छु मात्र भन्ने होइन, गरेर देखाइ सक्नुपर्ने हो । आज उनी आफ्नै बोली र शैलीले गर्दा मिडिया देख्दा भाग्ने अवस्थामा पुगेका छन् । 

गगनका विरुद्धमा जनआक्रोश पैदा हुन थालेका छन् । उनले गर्ने र बोल्ने हरेक क्रियाकलाप नियालिरहेका आम नेपालीले प्रश्न गरिरहेका छन्— नेपाली काङ्ग्रेसको महामन्त्रीले गर्न सक्दैन भने गर्ने कसले हो त ? अझै पनि ढाँट र छलको राजनीति चलाइरहने हो र ? महाधिवेशनमा नवीन मुद्दा उठाएर आफ्नो दललाई एउटा निश्चित मोड र उचाइमा लैजान सक्नुपर्ने हैन र ? 

दलीय परिपाटीमा सरकारमा को–को मन्त्री छन् भन्दा पनि कुन दलका मन्त्री छन् भन्ने महत्त्वपूर्ण प्रश्न हुन्छ र सरकारको सम्पूर्ण अपजस सम्बन्धित दलले नै लिनुपर्छ । आज गगन किन यो गरुँगो भारी बोक्न तयार छैनन् र जनताका प्रश्नबाट किन भागिरहेका छन् ? नेपाली काङ्ग्रेसमा दलको महामन्त्री चानचुने पद होइन । गगन नै महामन्त्री हुँदा पनि केही परिवर्तनको अनुभूति हुँदैन भने कसको आशमा जनताले यिनै र यस्तैलाई बोकिरहने र विश्वास गरिरहनुपर्ने हो र ? यही तरिका नै हो भने नेपाली काङ्ग्रेसलाई सच्याउने र पार्टीलाई थप बलियो बनाउन र आम नेपाली जनताका समस्या समाधान गर्न गगन सक्षम छन् भनेर के आधारमा विश्वास गर्ने ? 

नेपाली जनताले गगनलाई २०४६ सालदेखि नेपाली राजनीतिका थुप्रै घटना र परिघटनाहरू झेल्दै र भोग्दै आइरहेका आशावादी नेता हुन् भनेर विश्वास गरिरहेकै अवस्था थियोे । उनी यतिबेला निराशाको अन्धकारमा धिपधिपे बत्ती बन्न सक्नुपथ्र्याे तर उनी बन्न सकेनन् । उनले अब सामाजिक सञ्जाल र सञ्चारमा आएर मोटामोटा अक्षर र ठुलोठुलो स्वर निकाल्दै कार्यकर्तालाई हरिको कसम खान लगाएर ‘हुन्छ त हुन्छ’ भन्दै घाँटी सुकुन्जेल आदर्शका पोका खुलाउनुको कुनै अर्थ र औचित्य छैन जस्तो लाग्छ । गगनले अहिले पनि नेपाली राजनीतिमा पटकपटक असक्षम साबित भएका देउवा, प्रचण्ड र ओलीकै शैली र प्रवृत्तिको विचार बोकेर नेपाली जनतालाई परिवर्तनको अनुभूति दिनै सक्दैनन् । बीपीको प्रजातान्त्रिक समाजवादको मूल मन्त्रलाई आत्मसात गर्दै दास मनोप्रवृत्तिबाट गगन धेरैमाथि उठ्नुपथ्र्याे, त्यो हिम्मत गर्न सकेका छैनन् जस्तो लाग्छ । 

गगन आफ्नो राजनीतिक भविष्यमा आफैँ नै नराम्ररी चिप्लिरहेका देखिन्छन् । माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष ओलीको पुच्छर समातेर नेपाली काङ्ग्रेसको सङ्गठन कदापि बलियो हुन सक्दैन भनेर उनले बुझ्न सकेनन् । बहुदलीय लोकतान्त्रिक परिपाटीमा को सरकारमा छ, को विपक्षी हो भन्ने पत्तै भएन । चुनावी गठबन्धन नाम दिएर कुन दलको आस्था के हो भन्ने नै जनताले थाहा पाउन सकेनन् । अहिले नेपाली काङ्ग्रेस कहाँनेर छ भन्ने पत्तो नै छैन । नेपालका राजनीतिक दलहरू चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्तासम्म मात्र सीमित भए । जनतालाई भोटको मेसिन बनाएर केवल सत्ताका लागि राजनीति गर्ने भन्नेमा दलहरू पुगे र देशलाई झन्पछि झन् गरिबीको खाडलमा धकेलिरहे । यस्तै राजनीतिक दलको सत्ताको जोडघटाउ र सत्ता टिकाउने र भत्काउने खेलमा गगन पनि साक्षी बसी कार्यकाल बिताइरहेका छन् । गगन आफैँ नाच्नुपर्नेमा प्रचण्ड र ओलीले उनलाई नचाइरहेका छन् । 

२०७९ मंसिरमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेसले सबैभन्दा धेरै सिट ल्याउँदा समेत सरकार चलाउने हिम्मत गर्न सकेन । निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत ल्याए पनि सरकारको नेतृत्व गर्न असक्षम भएकाले साङ्गठनिक दृष्टिकोणले काङ्ग्रेस थप कमजोर भयो, त्यही कमजोरीको फाइदा कन्फर्टेबल सरकार बनाउने भन्दै प्रचण्ड र ओलीले लिए । संसदीय पद्धतिमा सबैभन्दा धेरै सिट ल्याउनेले सरकार चलाउने र दोस्रो विपक्षमा बस्नुपर्नेमा तेस्रो र दोस्रो हुनेले सत्ता चलाएका छन् । तिनैहरूको सरकार टिकाउन गगनलाई ठिक्क छ । सरकार बनेको दिनदेखि ढाल्नेको खेल सुरु हुन्छ, अनि देशमा कसरी राजनीतिक स्थायित्व र समृद्धि हुन्छ । अहिले नै पनि रोलक्रममा परेको सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले पाउन सक्ने होइन कि भन्ने डर र त्रासमा गगनले पार्टीको नेतृत्व गर्नुपरेको छ । तीन–तीन महिनामा सरकार बनाउने र भत्काउने खेल सुरु हुन्छन् र गगन तिनका साक्षी बनिदिएका हुन्छन् अनि गगनलाई कसरी पत्याउने ? रातारात सरकार परिवर्तन हुन्छन्, जसमा गगनको सहमति हुन्छ अनि गगन चोखा छन् भनेर कसरी विश्वास गर्ने ? 

संसदमा तत्कालीन गृहमन्त्री रविका विरुद्धमा अनावश्यक रूपमा मसँग प्रमाण छ भन्दै गगन रन्किए । ओली रविका रक्षा कवज बन्दा संसद्मा धन्नै ओली र धनराजका बिचमा हात हालाहालको स्थिति भएको नेपाली जनताले बिर्सेका छैनन् । आजको सरकारले त्यो घटनालाई जनताका अगाडि आँखा जुधाएर कारण दिन सक्छ त ? राजनीतिमा जे गरे पनि हुन्छ भन्ने संस्कार कहिलेसम्म चलाइरहने हो र ? अब त अति भयो । प्रचण्डको सरकार रातारात किन ढल्यो र किन ढलाइयो र काङ्ग्रेस–एमालेको सरकार किन बन्यो र बनाइयो भनेर एमाले भनेजस्तै गरी गगनले पत्याउनैपर्ने कारण के थियोे र ? यसको चित्तबुझ्दो उत्तर जनताले पाउन सकेकै छैनन् । गगन कहीँकतै चुकेका छैनन् ? 

जनताको अत्यधिक मतद्वारा विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्धमा गगन हातै धोएर लगातार लागिपरे । त्यति लामो इतिहास बोकेको नेपाली काङ्ग्रेसको महामन्त्री भर्खरै राजनीतिमा आएको फुच्चे पार्टीको अध्यक्षका विरुद्ध यति साह्रो खनिनुपर्ने थिएन । वास्तवमा कुनै राजनीतिक पृष्ठभूमि नभएको हिजो आएको फुच्चे केटो रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका गगनले पचाउन सकेनन् र रविका विरुद्ध लागे भन्ने आम जनमानसको आरोप पनि छ । बहुदलीय प्रतिस्पर्धामा जनमतलाई गगनले स्विकार्न सकेनन् र आज गगन राज्य संयन्त्रको दुरुपयोग गरी प्रतिशोधको राजनीतिमा उत्रिरहेका छन् भन्ने विपक्षीको ठुलो आरोप मुखरित भएको देखिन्छ । देशमा भ्रष्टाचारका काण्डै काण्डका चाङ हुँदा पनि वर्तमान सरकार र महामन्त्री गगन एकोहोरो रविका पछाडि मानौँ कि रवि नै यो देशको प्रमुख भ्रष्टाचारी नै हो र यो देशलाई खत्तम पार्ने रवि नै हो भनेझैँ गरी उत्रिएका देखिन्छन् । यसरी एउटै व्यक्तिका पछाडि तारन्तार लागिनुका पछाडि अन्य रहस्य त छैन भनेर शंका पैदा भइरहेका छन् । यद्यपि रविका बारेमा अनुसन्धान नै गर्नुहुन्न र रवि निर्दाेष नै हुन भन्ने मेरो आसय भने होइन । 

गगनका बारेमा अलि पुरानो कुरा गरौँ । २०७७ माघ २३ मा नेपाली काङ्ग्रेस महांकाल कार्यपालिका ललितपुरले गोटीखेलमा आयोजना गरेको विरोध सभामा गगनले वर्तमान प्रधानमन्त्री केपी ओलीको नामकरण गरिदिएका थिए, ‘कीर्तेप्रसाद ओली’ । यसो नेको उनी आफैँले बिर्से पनि आम जनताले बिर्सेका छैनन् । अहिले गगन तिनै ‘कीर्तेप्रसाद ओली’को कुर्सीको वरिपरि घुमेर सत्ताको स्वाद चाखिरहेका छन् । महामन्त्री गगन आफ्नो राजनीतिक आस्थालाई एकातिर पन्छ्याएर नेपाली राजनीतिमा ‘बा’वादी संस्कृति जन्माएर आफूलाई अत्यन्तै पूजनीय र देवतातुल्य व्यक्तित्त्वको स्वघोषणा गर्ने वर्तमान प्रधानमन्त्री केपी ओलीको कठपुतली नै बन्नै लागेको देखिन्छ । ओलीले संविधानभन्दा माथि गएर नेपालको संसद् विघटन गरी अध्यादेशमार्फत सरकार चलाउन खोजेको गगनले बिर्से भनेर हामीले बिर्सन सक्दैनौँ । ओली के कसरी सच्चिए भनेर गगन बोल्नुपर्दैन । जनताले जबर्जस्त पत्याउनुपर्ने ? 

गगनले गर्ने र बोल्ने हरेक क्रियाकलाप नियालिरहेका आम नेपालीले प्रश्न गरिरहेका छन्— नेपाली काङ्ग्रेसको महामन्त्रीले गर्न सक्दैन भने गर्ने कसले हो त ? अझै पनि ढाँट र छलको राजनीति चलाइरहने हो र ?

मैले गगन थापालाई आरोपका लागि आरोप लगाउन खोजेको पटक्कै होइन । गगनलाई हिलो छ्यापेर कसैको प्रशंसा गर्न खोजेको पनि होइन । उनी सार्वजनिक ओहोदामा बसेको सार्वजनिक नेतृत्व भएकाले उनका कमजोरीलाई केलाउँदै स्वच्छ आलोचना मात्र गरेको हुँ । कुनै बेला यिनै हातले नेपालका नाम चलेका अनलाइन मिडियाहरूमा ‘गगन नै प्रधानमन्त्रीको सर्वाेपयुक्त विकल्प, युवाको सम्मान गर्न गगन निर्विकल्प’ भन्ने जस्ता शीर्षकमा गगनको राजनीतिक इतिहासलाई उद्धृत र पक्षपोषण गर्दै मोटामोटा भगेरा टाउके अक्षरमा हजारौँ शब्द खर्चेर लेख प्रकाशित गरेको बिर्सिएको छैन । आज ती लेखहरू पुनः फर्केर पढ्दा म आफैँलाई नै कतै गिज्याएका छैनन् र पाठकले पनि गगनको अन्धभक्त हो भनेर आरोप लगाएका त छैनन् जस्तो लाग्छ । म एउटा सर्वसाधारण प्रवासी नेपाली हुँ । हिजो मलाई गगनमा केही सपना, क्षमता र आत्मविश्वास छ जस्तो लागेको थियो तर अहिले त्यो सबै झुट रहेछ कि भन्ने लाग्दै छ । साँच्चै मैले सोचेको कुरा झुट होइन भनी उनले प्रमाणित गर्न सक्नुपर्छ । तर गगनलाई अब धेरै पर्खिएर हेर्ने मौका भने छैन । विगत ३५ वर्षमा बाग्मतीमा धेरै पानी बगिसकेको छ । कुनै दलको सामान्य कार्यकर्ता वा केन्द्रीय सदस्य नै बोलेजस्तै गरी बोलेर महामन्त्री थापालाई पुग्दैन । नेपाली जनताले समृद्धिका लागि पर्खेको ३५ वर्ष भयो । अब जनता यही नेतृत्वको आशमा पर्खनेवाला पनि छैनन् । नेपाली जनताले दल र नेतृत्वलाई सच्चिने मौका दिएकै हुन् तर नेतृत्व सच्चिन सकेन र उही छलकपट र सत्तामोहको जाँतोमा घुमिरह्यो र वैचारिकतालाई पिलेर खायो । 

अन्त्यमा, नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाज्यू, बीपीलाई नबिर्सिनुस्, नेपाली जनतालाई नबिर्सिदिनुस । देशको परिस्थिति कस्तो छ र आज देश कता जाँदै छ, देश छाड्नेको लर्काे गणना गरी साध्यै छैन । कृपया कान बन्द गरी आँखा चिम्लिएर नबसिदिनुस् । मौका आउँछ, पर्खिदैन, समय धेरै अगाडि बढिसक्यो । विकल्प त पक्कै हुन्छ, तर तपाईं नै विकल्प बनिहाल्नुस् । अब त नेपाली जनताहरू त मिनेट होइन, सेकेन्ड पनि पर्खिने अवस्था छैनन् त । 
 (भर्जिनिया, अमेरिका)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र पन्थी
राजेन्द्र पन्थी
लेखकबाट थप