बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

माओवादीका उपाध्यक्षहरूलाई वैचारिक/राजनीतिक संयन्त्रको जिम्मेवारी दिइने, पासाङको अझै टुङ्गो लागेन

बुधबार, २३ माघ २०८१, १० : ५८
बुधबार, २३ माघ २०८१

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षहरूलाई वैचारिक संयन्त्रको आधारमा जिम्मेवारी दिने भएको छ । माघ २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले महासचिवसम्मको पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिगत निर्णय गरेको थियो । सोही निर्णय अनुसार बागमती प्रदेश अग्निप्रसाद सापकोटा र एसिया प्रदेशकी इन्चार्ज पम्फा भुसालको जिम्मेवारी खोसिएको थियो । 

पछिल्लो निर्णय अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टी नेतृत्व सम्हाल्ने छन् । महासचिव देव गुरुङले सङ्गठनको जिम्मेवारी लिने छन् । प्रचण्ड र गुरुङ बाहेक वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, पम्फा भुसाल र अग्नि सापकोटालाई वैचारिक /राजनीतिक संयन्त्रको जिम्मेवारी दिने तयारी भएको कार्यदलका संयोजक भुसालले रातोपाटीलाई जानकारी दिइन् ।

माओवादीमा अहिले २४ जनवर्गीय सङ्गठन, ३५ विभाग र ४१ वटा जातीय मोर्चा रहेका छन् । यी मध्येबाट मिल्दाजुल्दा संगठनहरुको क्लस्टर बनाएर त्यसको जिम्मेबारी उपाध्यक्षहरुलाई दिने तयारी छ । 

‘महासचिव माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने बैठकले निर्णयबमोजिम उपाध्यक्षहरूलाई वैचारिक/राजनीतिक संयन्त्रको जिम्मेवारी दिने तयारी भइरहेको छ । हाम्रो पार्टीमा वैचारिक, भौतिक पूर्वाधार, पेशागत सङ्गठन लगायत संयन्त्र छन् । यी संयन्त्रभित्र जबस/मोर्चा र विभागहरू पर्छन् । त्यसकै आधारमा कार्यविभाजन हुन्छ’, उनले भनिन् । 

यसैगरी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको जिम्मेवारीको विषयमा कुनै निर्णय नभएको भुसालले बताइन् । पहिला उहाँ(पासाङ)को पार्टीमा पोर्टफोलियोबारे निर्णय भएपछि मात्र विभाग वा वैचारिक/राजनीतिक संयन्त्रको जिम्मेवारी दिनेबारे छलफल भइरहेको उनले स्पष्ट पारिन । 

‘पासाङजीलाई पार्टीभित्र दिइने पोर्टफोलियो सम्बन्धमा निर्णय भएपछि मात्र वैचारिक/राजनैतिक संयन्त्रको जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ । यसबारे सायद अर्को बैठकले निर्णय गर्ला’, उनले भनिन् । 

सोमबार बसेको बैठकले सात भूगोल र पाँच गैर भूगोलको इन्चार्ज तोकेको थियो । नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनका लागि भुसालको नेतृत्वमा उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । 

केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने विषयमा सबै प्रदेशले पुस मशान्तभित्र सिफारिस गरेर पठाएको थियो । प्रदेशबाट आएको सिफारिसको आधारमा भुसालले माघ २ गते बसेको पदाधिकारी बैठकमा प्रस्ताव पेस गरेकी थिइन् । अहिलेसम्म प्रदेश इन्चार्ज, जिल्ला इन्चार्जहरू टुङ्गो लगाइसकेको छ । 

अहिले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुङ्ग्याउन कार्यदलले गृहकार्य गरिराखेको छ । कार्यदलले प्रस्ताव गरेको विषयमा अध्यक्ष प्रचण्डले रुजु गरेपछि मात्र सर्कुलर जारी हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप