बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

गाजालाई ‘टेक ओभर’ गर्न चाहन्छन् ट्रम्प

बुधबार, २३ माघ २०८१, १० : ५१
बुधबार, २३ माघ २०८१

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबारे ठूलो बयान दिएका छन् । अमेरिकाले गाजाको स्वामित्व लिओस् र गाजाको पुनर्निर्माण गरोस् भन्ने आफूले चाहेको ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो भनेका हुन् ।

‘हामी गाजाको स्वामित्व लिन चाहन्छौं, त्यसपछि गाजामा रहेका खतरनाक बम र अन्य हतियारहरू नष्ट गर्ने जिम्मेवारी हाम्रो हुनेछ । अमेरिकाले ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गर्नेछ र गाजामा आर्थिक विकासलाई प्रवद्र्धन गर्नेछ । यसले गाजाका मानिसहरूलाई रोजगारी र घरहरू प्रदान गर्नेछ’ उनले भनेका छन् ।
 
गाजामा सेना पठाउने कुरालाई गरेनन् अस्वीकार

गाजाको पुनर्निर्माणमा अमेरिकी सेनाको आवश्यकता परेमा आफूले गाजामा सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने पनि ट्रम्पले बताए । ‘यदि आवश्यक पर्याे भने हामी यो गर्नेछौं’ उनले भने । यसैबिच, नेतान्याहूले पनि ट्रम्पको योजनालाई समर्थन गर्दै खुशी व्यक्त गरेका थिए ।

‘हामी चाहन्छौँ कि गाजा भविष्यमा इजरायलको लागि कहिल्यै खतरा नबनोस्, तर राष्ट्रपति ट्रम्पले यसलाई नयाँ उचाइमा पु‍र्याइरहेका छन् । ट्रम्पको विचार फरक छ र यसले गाजाको भविष्य परिवर्तन गर्नेछ । यो विचारमा ध्यान दिनु आवश्यक छ । यदि यो भयो भने, यसले इतिहास बदल्न सक्छ’ नेतान्याहूले भनेका छन् ।
 
विस्थापित प्यालेस्टिनीलाई गाजा बाहिर स्थायी रूपमा पुनर्वास गराइयोस्
 
पत्रकार सम्मेलनमा ट्रम्पले अर्को अहम् कुरा पनि गरेका छन् । गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई युद्धग्रस्त गाजा बाहिर स्थायी रूपमा बसोबास गर्ने सुझाव उनले दिएका छन् । ‘मलाई लाग्दैन कि मानिसहरू गाजा फर्कनु पर्छ, तिमीहरू अब गाजामा बस्न सक्दैनौ । हामीले अर्काे ठाउँ खोज्नु पर्छ र त्यो त्यस्तो ठाउँ हुनुपर्छ जहाँ मानिसहरू खुसीसाथ बस्न सकून्,’ ट्रम्पले भने ।

पछिल्लो दशकलाई हेर्दा गाजामा केवल ज्यान मात्रै गुमाएको र यो वर्षौंदेखि भइरहेको पनि उनले बताए । त्यहाँका मानिसहरूलाई राम्रो ठाउँमा पुनर्वास गराउन सक्यौं र उनीहरूलाई राम्रो घरहरू उपलब्ध गराउन सक्यौं भने मानिसहरू खुसी हुनेछन र कसैले पनि आफ्नो ज्यान नगुमाउने टम्पको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप