सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

सलाम दक्षिण अफ्रिका !

बुधबार, २३ माघ २०८१, १३ : ००
बुधबार, २३ माघ २०८१

‘गाजामा कहीँ पनि सुरक्षित ठाउँ छैन, यस्तो हेरेर बस्न संसारलाई लाज लाग्नुपर्छ ।’

यी पंक्ति अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा काम गर्ने विख्यात आइरिस अधिवक्ता– ब्लिन्ने नि घरलाइगले अन्तर्राष्ट्रिय न्यायालयमा आफ्नो भनाई टुंग्याउने क्रममा बोलेकी हुन् । उनका यी पेचिला पंक्ति मेरो मनमा सधैँ गढेर बस्ने छन् ।  घरलाइगले विश्वभरका लाखौँ मानिसले मुटुमाथि ढुङ्गा राखेर हेरिरहेका बीभत्स घटनाबारेको आक्रोशलाई सशक्त रूपमा व्यक्त गरिन् । 

उनले यसबारे थप टिप्पणी गर्दै भनिन्, ‘यो पहिलो नरसंहार हो, जहाँ पीडितहरूले संसारले उनीहरूलाई जोगाउन केही त गरुन् भन्ने व्यर्थ आशामा आफूमाथि भइरहेको बर्बर घटनाको प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।’

‘ब्लडी सन्डे’ भनेर चिनिने आइरिस नागरिकको हत्याकाण्डबारे चलेको चर्चित मुद्दाको अनुसन्धानमा काम गरेकी यी आइरिस अधिवक्ताले प्यालेस्टिनी जनताको समर्थनमा दक्षिण अफ्रिकाको पक्षमा वकालत गरिन् । आइरिस र दक्षिण अफ्रिकी जनताको भावनामा केही समानता छ । दुवैले पराईको पञ्जामा बस्न बाध्य जनताको पीडा बुझ्न सक्छन् । 

यसैकारण हुनुपर्छ दक्षिण अफ्रिकाले गाजाको पक्षमा हिम्मतसाथ बोल्यो । उसले अन्तर्राष्ट्रिय न्यायालयमा हालेको मुद्दामार्फत इजरायलले गाजामा २५ वर्षदेखिको नश्लभेदी शासन, ५६ वर्ष देखिको जबरजस्ती कब्जा र १६ वर्ष देखिको निर्मम नाकाबन्दी र घेराबन्दीलाई प्रष्टरुपमा उठाउनुमा कुनै आश्चर्य भएन । 

राजनीतिज्ञहरूले यत्र–तत्र बेवास्ता गरेको प्यालेस्टाइन मामिलालाई असाध्यै कुशलतासाथ उठाइदियो दक्षिण अफ्रिकाले । यो कामको असाध्यै ठुलो महत्त्व छ । हाम्रो राजनीतिक प्रणालीको कमजोरीलाई उजागर गर्दै आफैले भोगेको रंगभेदको तितो अनुभवको आलोकमा अफ्रिकी जनताले गाजाबासीप्रति गरेको ऐक्यबद्धता र बहस इतिहासमा ठुलो श्रद्धा साथ सम्झना गरिनेछ ।

यो ऐक्यबद्धता दक्षिण अफ्रिकामा मात्रै सीमित रहेन । विश्वभर फैलिँदै गयो । दक्षिण अफ्रिकाले सुरु गरेको मुद्दालाई बोलिभिया, ब्राजिल र कोलम्बियालगायत धेरै देशहरूले समर्थन गर्न थाले । अरब लिग जस्ता राज्य बाहेकका समूहबाट समर्थन आउन थाल्यो । विश्वभरका लाखौँ–करोडौँ मानिसले नरसंहार अन्त्यको माग गरिरहे । कसैले स्वीकार गर्न नमाने पनि आउँदा दिनमा पनि यस्ता मानिस दिगो र न्यायपूर्ण शान्तिका लागि उभिई रहने छन् ।

मुद्दामा बहसको समयको अनुभव पनि रोचक छ । हामी अन्तर्राष्ट्रिय न्यायालय भित्र प्रवेश पाउनका लागि प्रत्येक दिन बिहान ६ बजे अघि नै न्यायालयको ढोकामा पुगिसक्नु पर्थ्यो । यो न्यायालयको भवन एकदमै आकर्षक छ । यसको निर्माण दोस्रो विश्वयुद्ध लगत्तै भएको हो । 

हाम्रो राजनीतिक प्रणालीको कमजोरीलाई उजागर गर्दै आफैले भोगेको रंगभेदको तितो अनुभवको आलोकमा अफ्रिकी जनताले गाजाबासीप्रति गरेको ऐक्यबद्धता र बहस इतिहासमा ठुलो श्रद्धा साथ सम्झना गरिनेछ ।

त्यस बेला मानिसलाई संयुक्त राष्ट्रसंघ प्रति ठुलो आश थियो । यसको न्याय प्रणालीले शान्ति कायम गराउनेछ भन्ने विश्वास थियो । त्यही अदालतको ढोकामा गाजा र पश्चिम किनारामा आफ्ना आफन्त गुमाएका प्यालेस्टिनीहरु न्यायको खोजीमा बहसको साक्षी बनेर बसेका थिए । 

दक्षिण अफ्रिकाले इजरायल विरुद्धको आफ्नो मुद्दा नरसंहारबारेको महासन्धि अन्तर्गत प्रस्तुत गर्‍यो । सुनुवाइको परिदृश्य भयावह थियो । एक पछि अर्को बीभत्स घटनाका बयान सबैका सामुन्नेमा राखियो । नरसंहारकारको विपक्षमा दमदार तर्कहरू प्रस्तुत भए । यस्तो बहसलाई हाम्रा सञ्चार माध्यमहरूले कतै ठाउँ दिएनन् । 

उनीहरूले ती दमदार तर्कहरू प्रसारण लायक ठानेनन् । बीबीसीले त दक्षिण अफ्रिकाको बयानलाई प्रत्यक्ष प्रसारण नगरेर भोलिपल्ट इजरायलले आफ्नो बचाउमा राखेका तर्क मात्र प्रसारण गर्‍यो । अल–जजिरा च्यानलले चाहिँ यसको पुरा प्रसारण गर्‍यो ।

दक्षिण अफ्रिकाले नरसंहार सम्बन्धी महासन्धि सबै मान्छेको रक्षाका लागि भएको दलिल पेस गर्‍यो । साथै इजरायलले यस महासन्धि अनुसार जानाजान र योजनाबद्ध रूपमा गाजाको नागरिक जीवन ध्वंस गरेको तर्क गर्‍यो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायत अन्य नेताहरूले गाजाको जनसंख्या कम्तीमा ९० प्रतिशत घटाउने कुरा खुलेआम भन्ने गरेको कुरा पनि सप्रमाण पेस गर्‍यो । 

प्यालेस्टिनीहरूले हामीलाई पहिलेदेखि नै भन्न खोजेको कुरा दक्षिण अफ्रिकाले निर्भीकतापूर्वक संसारले सुन्ने गरी भनिदियो । अर्थात् गाजामा भइरहेको आक्रमण बराबरिको युद्ध थिएन । यो त प्यालेस्टिनी जनताको व्यवस्थित हत्या थियो ।

दक्षिण अफ्रिका इतिहासको सही पक्षमा मात्रै उभिएन । उसले त यसको दिशा पनि फेरिदियो । अन्तर्राष्ट्रिय न्यायालय भनिएको संस्थाले आफ्नो नाम मात्रको इज्जत बाँकी राख्न चाहन्छ भने पनि अब उसले दक्षिण अफ्रिकाको मुद्दालाई गम्भीरतासाथ लिनुपर्ने छ । उसले इजरायली बमबारी गलत भन्नु पर्नेछ । बमबारीलाई गैह्रकानुनी भन्नु पर्नेछ । साथै इजरायली सरकारले नरसंहार गरेको फैसला सुनाउनु पर्ने थियो, जुन उसले सुनायो पनि । 

संसारभर करोडौँ मानिस स्तब्ध भएर गाजामा भएको मानव जीवनको विनाश प्रत्यक्ष नियालिरहेका थिए । मलाई लाग्छ इजरायली र प्यालेस्टिनी नागरिकलाई बराबर मान्न अस्वीकार गर्ने मानिसलाई इतिहासले कहिल्यै माफ गर्ने छैन र  युद्धको विपक्षमा दृढतापूर्वक उभिएका अभियन्तालाई कहिल्यै बिर्सिने छैन ।

यसैक्रममा दक्षिण अफ्रिकाले गाजामा भइरहेको आक्रमण तत्काल रोक्न आदेशको माग गर्‍यो । खासमा यस्तो माग संसारभरका राजनीतिज्ञले गर्नु पर्थ्यो । विडम्बना नै भन्नुपर्छ अमेरिका र बेलायतका धेरै जसो निर्वाचित जनप्रतिनिधिहरू यस्तो आदेशको समर्थनमा आएनन् । उल्टै लाज पचाएर सुनेको नसुन्यै गरेर बसे । उनीहरू निहत्था मानिसको जीउधनको रक्षाको पक्षमा बोलेनन् ।

सबै पक्षको निगरानीमा हुने युद्धविराम बाहेक अब अगाडि बढ्ने कुनै उपाय छैन । त्यसले मात्र न्यायपूर्ण र शान्तिपूर्ण भविष्य बनाउने अवसर प्रदान गर्छ । यो आफ्नो भविष्यबारे प्यालेस्टिनी जनताले आफै लिने निर्णय हो । उनीहरूलाई समर्थन गर्ने हामीले उनीहरूको निर्णय गर्ने होइन । हाम्रो ऐक्यबद्धता छ, भन्दैमा हामीलाई उसले के गर्ने के नगर्ने भनेर सिकाउने अधिकार हुँदैन ।

अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दाको सुनुवाइ सकिए लगत्तै अधिवक्ताहरूको टोलीले न्यायालयको ढोकामै पत्रकारहरूको विशाल समूहबाट प्रश्न सुने । बाहिर जीउ नै कठ्याङ्ग्रिने चिसो थियो । म पनि त्यहाँ ‘प्रोग्रेसिभ इन्टरनेशनल’ को तर्फबाट उपस्थित थिएँ । 

हामीले अगाडिको सडकमा पत्रकारहरूसँग अन्तर्क्रिया गरेका थियौँ । त्यहाँ हामीले संसारभरका आम मानिसको आवाज शान्तिको पक्षमा छ भन्ने मत जोडदार ढंगले राख्ने प्रयास गर्‍यौँ । साथै प्यालेस्टिनी जनतालाई न्याय दिलाउन लामो संघर्षका लागि तयार रहेको कुरा भन्यौँ ।

कार्यक्रममा घरलाइगले आफ्नो सारगर्भित भनाई राखिन् । आफ्नो भनाई टुंग्याउनु अघि उनले गाजाको अस्पतालका दुईवटा ‘व्हाइट बोर्ड’ का तस्बिर देखाइन् । एउटामा गाजाको अस्पतालका डाक्टरले आफैले लेखेका अक्षरहरू थिए । त्यसमा लेखिएको थियो– ‘हामीले जे गर्न सक्थ्यौँ, त्यही गरिरहेका छौँ । हामीलाई नबिर्सिनु होला’ । अर्को तस्बिरमा अस्पतालमा इजरायली हमलापछिको त्यही ‘व्हाइटबोर्ड’ थियो । व्हाइटबोर्ड क्षतविक्षत थियो । त्यसमा लेख्ने डाक्टर संसारबाट बिदा भई सकेका थिए । 

संसारभर करोडौँ मानिस स्तब्ध भएर गाजामा भएको मानव जीवनको विनाश प्रत्यक्ष नियालिरहेका थिए । मलाई लाग्छ इजरायली र प्यालेस्टिनी नागरिकलाई बराबर मान्न अस्वीकार गर्ने मानिसलाई इतिहासले कहिल्यै माफ गर्ने छैन र युद्धको विपक्षमा दृढतापूर्वक उभिएका अभियन्तालाई कहिल्यै बिर्सिने छैन ।

(ट्रिब्युनबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जेरेमी कोर्बिन
जेरेमी कोर्बिन
लेखकबाट थप