२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
![२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स](https://npcdn.ratopati.com/media/news/thag_5ULykmT8rm.jpg)
काठमाडौँ । आइटी इन्जिनियरिङ्ग पढेका माईकल डंगौरा कैलालीको बर्दगोरिया–६ का स्थायी बासिन्दा हुन् । बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा बस्ने २२ वर्षीय डंगौरा अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् ।
आफूले अध्ययन गरेको सूचना प्रविधि विषयलाई दुरुपयोग गरेर अनलाइन माध्यममार्फत स्क्याम र अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
२०८१ पुस पहिलो साता पक्राउ परेका डंगौराले अनलाइन मार्फत ठगेर काठमाडौँको भंगालमा साढे ३ करोडको घर र क्रेटा गाडी किनेको अनुसन्धानबाट थाहा भएको छ । उनको बैंक खातामा ४ करोड रकम मौज्दात भेटिएको सीआईबीका प्रवक्ता (एसपी) सुधिरराज शाहीले रातोपाटीलाई बताए ।
शाहीले भने, ‘बैंकमा मौज्दात रहेको रकम हामीले रोक्का राखेर अनुसन्धान गरिरहेका छौँ ।’
माइकलले सूचना प्रविधि विषयमा स्नातक पूरा गरेका छन् । काठमाडौँमा अध्ययन गरेका उनले करिब डेढ वर्षदेखि ‘ठगी धन्दा’ चलाएका हुन् ।
माइकलले गाउँमा पनि भव्य घर बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘ठगीको रकमबाट गाउँमा पनि उनले घर बनाएको भेटिएको छ ।’
अत्याधुनिक घर बनाउन गाउँमा आउजाउ गर्दा उनले अनिल विश्वकर्मालाई सोधे, ‘मसँग काम गर्नुहुन्छ दाइ ?’
वर्दगोरिया गाउँपालिका–६ घर भएका २६ वर्षीय अनिलको कुनै पेसा–व्यवसाय थिएन । गाउँमा घुमिरहने उनले भने, ‘हुन्छ, सँगै काम गर्छु ।’
त्यसपछि अनिलले विभिन्न बैंकहरूमा खाता खोले । माइकलले उनको खातामा रकम पठाइदिन्थे । अनि, माइकलले भनेअनुसारको खातामा अनिललाई रकम ट्रान्सफर गर्न लगाउँथे ।
माइकलको निर्देशन अनुसार अनिलले गाउँमै बसेर रकम ट्रान्सफर गरेर कमिशन लिन्थे । उनलाई पुसको पहिलो साता कैलालीबाट पक्राउ गरिएको एसपी शाहीले जानकारी दिए । अनिलको बयानको आधारमा माइकल पक्राउ परेका हुन् ।
३ अर्ब ठग्ने सात आरोपित
माइकल र अनिलसँगै क्रिप्टो करेन्सी, अनलाइन स्क्याम र हुण्डी कारोबार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने २९ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भएका १९ वर्षीय आश्विन चौलागाईं, रौतहट घर भएका २२ वर्षीय सत्यम कुमार सहनी, काठमाडौँ बस्ने भारतीय नागरिकद्वय २७ वर्षका रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार छन् ।
आरोपितहरूले हालसम्म ३ अर्ब रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट ३ अर्ब ठगेको देखिन्छ, आरोपितहरूको मोबाइलको फरेन्सिक ल्याब रिपोर्ट आएको छैन ।’
डिजिटल फरेन्सिक ल्याब रिपोर्ट आउँदा उनीहरूले ठगेको हिसाब बढ्न सक्ने शाहीले जानकारी दिए ।
उनीहरूले सामाजिक सञ्जालमा लिंक पठाउँथे र त्यसलाई क्लिक गर्न भन्थे । लिंक क्लिक गरेपछि आरोपितहरू पीडितको वालेटमा पहुँच बनाउने प्रयास गर्छन् । त्यसपछि पीडितसँग वालेटको ओटीपी (वान टाइम पासवर्ड) माग्छन् र ह्याक गर्छन् ।
पीडितहरूको वालेट ह्याक गरेपछि सो रकम कुन खातामा ट्रान्सफर गर्ने भन्नेबारे माइकलले निर्देश गर्छन् । माइकलको निर्देशन अनुसार अन्य ६ जनाले रकम विभिन्न खातामा ट्रान्सफर गरेका हुन् ।
ह्याक गरेर प्राप्त रकमलाई विभिन्न खातामा पठाउन उनीहरूले ‘घरमै बसेर कमाउन सकिन्छ’ भनेर अफर गर्छन् । सो अफर अनुसार मानिसहरू कमाइ हुने लोभमा आफ्नो खाता नम्बर दिन्छन् । त्यस्ता खातामा रकम पठाउने र १० प्रतिशत कमिशन दिएर अन्य खातामा उनीहरूले ट्रान्सफर गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यसरी उनीहरूले सयौँ खातामा रकम ट्रान्सफर गराएका हुन् ।
हुण्डी ‘कनेक्सन’
मंसिरमा एक जना पीडित आफू ठगिएको भन्दै सीआईबीमा गए । सो उजुरीमाथि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धान गर्दै जाँदा विदेशमा एक जना युवकले हुण्डीको काम गर्नेलाई रकम बुझाएको र सो बापत अनिल विश्वकर्माले विदेश बस्नेको बाबुको खातामा ट्रान्सफर गरेको भेटियो । विदेशमा रकम लिएर त्यसलाई क्रिप्टोमा रुपान्तरण गर्ने गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
बैंकिङ च्यानलबाट रकम पठाउँदा कर लाग्ने हुनाले मानिसहरू उनीहरूसँग सम्पर्क गर्थे । हुण्डीबापत नेपालमा बस्ने परिवार र आफन्तलाई माइकल समूहले ठगेको रकम बैंक खातामा ट्रान्सफर गर्ने गरेको भेटिएको छ ।
माइकल डंगौरा थारुभन्दा माथिल्लो लेयरमा एक जना बंगलादेशी नागरिक संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बंगालीले माइकलको समूहलाई रकम क्रिप्टोमा रुपान्तरण गरिदिन्थे ।
अनलाइन ठगीसँगै हुण्डी र क्रिप्टो पनि जोडिएको भेटिएपछि उनीहरूविरुद्ध संगठित ठगीमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी शाहीले बताए । उनले भने, ‘क्रिप्टो कारोबारमा पनि अनुसन्धान गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी