‘कन्टेम्पोरी प्यालेट’ : कलाको अर्कै दुनियाँमा पुग्ने चेष्टा
काठमाडौँको ठमेलस्थित ‘होटल आर्ट’मा रहेको ‘सोन्जा आर्ट ग्यालरी’मा भर्खरै (२३ डिसेम्बर २०२४ – २ जनवरी २०२५) ‘कन्टेम्पोररी प्यालेट’ नामक सामूहिक कला प्रदर्शनी सम्पन्न भयो । ‘लायन्स क्लब काठमाडौँ फाइन आर्टस्’को आयोजनामा भएको यस प्रदर्शनीमा १६ जना समसामयिक कलाकारका मूर्ति र चित्र प्रदर्शन गरिएका थिए ।
सहभागी १६ कलाकार हुन्- चिरञ्जीवी भट्ट (आर्ट होटलका मालिक), शुष्मा राजभण्डारी, सञ्जय बान्तवा, जनक अधिकारी, ज्योति खड्का, श्यामकृष्ण उदास, चाँदनी बज्राचार्य, किरणकुमार सिगु, शुष्मा श्रेष्ठ, उमेश श्रेष्ठ, सुदनकुमार सिंह, आर्य राजभण्डारी, सुमन श्रेष्ठ, शुभद्री सुभा, हेमा दास र राखी कर्ण । चाँदनीको मूर्तिबाहेक अरु जम्मैका चित्रकला प्रदर्शन गरिएको थियो ।
सन् २०१९ मा स्थापना भएको यस क्लबले पछिल्ला पाँच वर्षदेखि कन्टेम्पोररी आर्टको संवर्धन र विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । सामाजिक काम गर्ने लायन्स क्लबकै एउटा निकायका रूपमा यहाँ कलाकारहरूको पनि एउटा समूह छ ।
सम्भवतः कला र सामाजिक विकास एउटै थलोमा जमघट गराउने उद्देश्य बोकेको यस्तो संस्था नेपालमा यही नै पहिलो होला । प्रायः लायन्स क्लब काठमाडौँकै सदस्य कलाकारका कला प्रदर्शन गरिए पनि यसपल्ट बाहिरका केही कलाकार समावेश थिए ।
नेपाली समसामयिक कलालाई विश्वभरि फैलाउने र नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले यस क्लबले कला गतिविधि गर्ने गर्छ । विश्वभर सञ्जाल रहेको लायन्स क्लबसँग कला जोडिनु आफैँमा सकारात्मक पक्ष हो । यसो हुनुमा डिस्ट्रिक गर्भनर लायन विनोद ढुंगाना, फस्र्ट डिस्ट्रिक भाइस–गभर्नर लायन पार्वती खरेल पाण्डेको भूमिका देखिन्छ ।
कलाकार किरणकुमार सिगुका दुईवटा चित्र यो कला प्रदर्शनीमा समावेश थिए- ‘याक्थुम इन् जुम क्लास’ र ‘मिरर अफ मुक्कुमलुङ’ । मूलतः दुवै चित्रमा आफ्नै लिम्बु भाषा, लिपि, संस्कृति अनि पहिचानलाई सम्बोधन गरिएको देखिन्छ । आफ्नो संस्कृतिलाई संवर्धन गर्ने, त्यसको अहित गर्नेको विरोधमा पैरवी गर्ने र त्यसलाई विश्वभर फैलाउने वा चिनाउने नै कलाकार अभिप्रायः देखिन्छ ।
कलाकार (चिरञ्जीवी भट्ट)ले खोलेको होटल भएर होला, यस होटलको नाममा ‘आर्ट’ जोडिएको । कलाकार भट्ट लायन्स क्लबका ‘जोनल चियरपर्सन’ समेत हुन् । उनैको सत् प्रयासले गर्दा कलाकार र लायन्स क्लबबिचको सम्बन्ध गाढा भएको छ । स्वदेशी तथा विदेशी पर्यटकको जमघट हुने ठाउँ ठमेलमा रहेको यस होटलभरि कला राखिएको थियो । झट्ट हेर्दा सम्पूर्ण यस होटल नै आर्ट ग्यालरीजस्तो देखिन्थ्यो ।
यो ग्यालरीको स्थापना भने सन् २००४ मै भएको थियो । बिचमा केही वर्ष यो कलादीर्घा केही सुस्त भयो । पछिल्लो समय क्रियाशील भएर यसले कलाका विभिन्न गतिविधि गर्दै आइरहेको छ । कलालाई अर्थ (आय)सँग जोड्न भट्टले कला दीर्घाको पनि स्थापना गरेका हुन् ।
यसपालिका कला
यस प्रदर्शनीमा प्रदर्शन गरिएका सबै कला मूलतः समसामयिक नै छन् । तथापि अलिकता लोककला र परम्परागत कलाले पनि सानो ठाउँ ओगटेको देखिन्छ । यही पनि समसामयिक कलाको एक अंग बन्न अग्रसर देखिन्छ । आज बन्ने कलामा यसै पनि समसामयिक कलाको बाछिटा परिहाल्छ । यसैले होला, कला प्रदर्शनीको नाम पनि ‘कन्टेम्पोररी प्यालेट’ रहन गएको छ ।
कलाकार किरणकुमार सिगु लायन्स क्लब काठमाडौँ फाइन आर्टका अध्यक्ष तथा किरात ललित कला समाजका फाउन्डर सेक्रेटरी हुन् । उनका दुईवटा चित्र यो कला प्रदर्शनीमा समावेश थिए- ‘याक्थुम इन् जुम क्लास’ र ‘मिरर अफ मुक्कुमलुङ’ । मूलतः दुवै चित्रमा आफ्नै लिम्बु भाषा, लिपि, संस्कृति अनि पहिचानलाई सम्बोधन गरिएको देखिन्छ । आफ्नो संस्कृतिलाई संवर्धन गर्ने, त्यसको अहित गर्नेको विरोधमा पैरवी गर्ने र त्यसलाई विश्वभर फैलाउने वा चिनाउने नै कलाकार अभिप्रायः देखिन्छ । अर्थात् कलाले त्यस प्रकारको विषयवस्तु बोकेको छ । आफ्नो कला, भाषा र संस्कृतिका लागि लडिरहेको यो समुदाय (लिम्बु) ‘जुम’मार्फत जोडिएर पनि गतिविधि गरिरहेका छन् ।
किरणको चित्रमा लिम्बु लिपिलाई ‘मोटिफ’को रूपमा प्रयोग गरेको देखिन्छ । धमिलो र मधुरो तुँवालोले ढाक्दै गरेको पृष्ठभूमिमा थुप्रै आकृतिलाई अलग–अलग भावमा चित्रण गरेको पनि देखिन्छ । किसिम–किसिमका मानव आकृतिले क्यानभासमा ठाउँ पाएका छन् । कोही घोप्टो परेर हतासमा, कोही घोरिएको अर्थात् सोचमा डुबिरहेको अवस्थामा त कोही गन्तव्यविहीन यात्रामा देखिन्छन् । अनेक–अनेक पात्र कुनै न कुनै भूमिकामा आबद्ध देखिन्छन् । किसिम–किसिमका भाव र रूप बोकेका मानिसहरु एक्लाएक्लै देखिनु आफैँमा सन्देशको प्रवाह पनि हो । पढ्दै गरेको, पढाउँदै गरेको परिदृश्य पनि उनको क्यानभासमा स्पष्ट दृष्टिगोचर हुन्छ । अर्थात् उनीहरुले आफ्नो भाषा, लिपि र संस्कृतिको वकालत गरिरहेका छन् ।
‘मिरर अफ् मुक्कुमलुङ’ शीर्षकको चित्र चाहिँ अलि फरक उद्देश्यका साथ देखापरेको छ । उनको भनाइ अनुसार ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ शक्तिशाली देवस्थल हो । जसलाई पाथीभराका नामले पनि पुकारिन्छ । यहाँका स्थानीय याक्थुुङहरुको यस धार्मिक स्थलमा अन्य देवी–देवता थपिँदै गएर यसको मूल स्वरूप वा मौलिकता हराएको अवस्था छ । यसको मूल स्वरूपलाई अर्कै बनाउने प्रयास पनि भइरहेको छ । यसलाई विकास गर्ने नाममा केबलकार राख्ने चर्चा चलिरहेको छ । यसको मौलिकतालाई छोपेर अर्कै बनाउँदै जाने कुराको विरोधमा स्थानीय उत्रिएका छन् । यसको विरोध स्थानीय बासिन्दाले अनेक प्रकारले गर्दै छन् । सदियौँदेखि स्थानीय जनताले संरक्षण गर्दै आएको यस सम्पदाको इतिहासलाई मेटाइँदै छ । यसको हामी विरोध गर्छौं भन्ने भाव वा आवाजमा उनको यस चित्र देखापरेको छ । यसर्थ पनि उनका चित्रमा आवाज उठाइरहेका हातहरू र घण्टहरू देखिन्छन् । प्रश्नवाचक ठुलो चिह्नलाई पनि उनका क्यानभासमा स्थान दिइएको छ । थुप्रै कुराहरू चित्रले बोलोस् भन्ने चाहनामा यो चित्र को निर्माण भएको देखिन्छ ।
उमेश श्रेष्ठका तीनवटा चित्र यस प्रदर्शनीमा राखिएका थिए । तीनैवटा चित्रले अलग–अलग भाव बोकेका छन् । एउटा छ, हँसिया र डोको बोकेको ग्रामीण महिलाको व्यक्तिचित्र । ‘डेली लाइफ’ नाम दिइएको यो चित्रलाई भौतिक शरीरको प्रतीकात्मक विम्बका रूपमा उभ्याइएको छ । ‘प्राक्टिस’ शीर्षकको अर्को चित्रमा एक पाका पुरुषले माने घुमाइरहेको देखिन्छ । यसलाई मानसिक शरीरको रूपमा व्याख्या गरिएको छ । त्यस्तै, मन्दिरको एउटा खम्बामा झुन्याइएका चारवटा घण्टीलाई संयोजन गरिएको अर्को चित्र छ । ‘नादका झङ्कार’ नाम दिइएको यस चित्रले आध्यात्मिक शरीरलाई झल्काउँछ । जीवनको यात्राका क्रममा भौतिक शरीर, मानसिक शरीर र आध्यात्मिक शरीरको विशेष भूमिका हुन्छ, अन्ततः आध्यात्मिकताको खोजी जीवनको सार हो भन्ने विचारलाई कलाकारले यस चित्रमार्फत प्रस्तुत गर्न खोजेका छन् । कल्पना अनि शिल्प दक्षताले माझिएको यो चित्र अब्बल छ ।
चिरञ्जीवी भट्टको चित्रपट ठुल्ठुला घण्टले भरिएका छन् । घण्टबाट महात्मा बुद्धको प्रादुर्भाव भएको देखिन्छ । सर्वाङ्ग नीलो रङले वशीभूत यो उनको चित्रपट अनि यसैमाथि आध्यात्मिक प्रकाशपुञ्ज जाज्वल्यमान भएर दृश्यावलोकन हुनुले पनि उनको चित्र अलौकिक लाग्छ ।
शुष्मा राजभण्डारीका तीनवटा चित्र छन् । जसमध्ये चार विनायक नामक चित्र प्रभावपूर्ण रूपमा देखापरेको छ । जसमा देव गणेश अलग–अलग रूप र रङमा देखिन्छन् । कतै मुला समाइराखेकोे, कतै सुँडमाथि वाहन मुसा चढ्दै गरेको, कतै आयुधलाई च्याप्दै अनि कतै रुद्राक्षको माला समाउँदै गरेका गणेशका अनेक स्वरूप रमणीय देखिन्छन् । चारवटा गणेशहरू चार रङ (रातो, सेतो, पहेँलो र हरियो) मा सिँगारिएको छ ।
सञ्जय बान्तवाले घोडा, घण्टी, अनि मन्दिरको संयोजनमा आकर्षक चित्र बनाएका छन् । जसलाई उनले ‘स्ट्रगल विथ सोसाइटी’ नाम दिएका छन् ।
जनक अधिकारीको चित्रमा मूला लिएका देव–गणेश माथि रौद्ररूपका ६ हातकी देवी आवेशपूर्ण एक्सनमा देखिन्छिन् । हुन त यो परम्परागत कलाको नमुना हो, तापनि आधुनिक संयोजनका कारण यो कला समसामयिक कलातर्फ ढल्किएको देखिन्छ ।
ज्योति खड्गाको ‘मेमोरी फर न्यु जेनेरसन’ नामको चित्रमा स्तुपा देखापरेको छ । नयाँ पुस्ताका लागि हाम्रो सौन्दर्यता अनि सम्पदालाई बचाइराखौँ भन्ने नाराका साथ देखा परेको यो स्तुपा थोरै अलौकिक किसिमको लाग्छ ।
श्यामकृष्ण उदास भने द्वन्द्वलाई शान्तिका रूपमा रूपान्तरण गरौँ भन्ने विचारका साथ उदाएका देखिन्छन् । उनको चित्रपटमा चारैतिर परेवा उडेको र बिचमा महात्मा बुद्ध देखिन्छन् । मान्छेले बुद्धलाई संरक्षण गरे जस्तो पारामा शान्तिलाई बचाउने भाव यस चित्रले व्यक्त गरेको छ ।
चाँदनी बज्राचार्यको अमूर्त रूपमा देखापरेको मूर्तिले अनौठो जीवको प्रत्याभूति दिन्छ । यस्तै शुष्मा श्रेष्ठले भने निख्खर अँध्यारो–कालो पृष्ठभूमिमा दुईवटा सेता फूललाई पस्केकी छन् । ‘इलिगेन्स इन ब्लुम’ नामक उनको चित्र सरल र साधा छ तर त्यसमा धेरै अर्थ लुकेको देखिन्छ । उनले साउथ अफ्रिकन सेतो प्लान्ट (एक प्रकारको फूल)लाई आफ्नो मुख्य विषय बनाउँदै स्वच्छ, शुद्धता, सफा लालित्य आदिलाई प्रस्फुटन गर्न खोजेकी छन् । शुष्मा यसै संस्थाकी सचिव र यस कला प्रदर्शनीकी समन्वयकर्ता हुन् ।
सुदनकुमार सिंहले ठुल्ठुला तुलिकाघातले अमूर्त दृश्यचित्र उतारेका छन् । मूर्त हुन खोज्दाखोज्दै अमूर्तता बन्न थालेका उनका चित्र मनोरम देखिन्छन् । यस्तै, आर्य राजभण्डारीले मन्दिर अडाउने टुँडाललाई आफ्नो चित्रको विषय बनाएका छन् । जीवनको सौन्दर्यतालाई देवी–देवताका इमेजद्वारा प्रकटीकरण गर्ने उनको रहर देखिन्छ । चित्रमा आएको कामुक शरीरले हाम्रो परम्परागत कलाको सुगन्ध बोकेको देखिन्छ । समाजका अँध्यारा–उज्याला पक्षहरू, आध्यात्मिकता, जीवनको सुगन्ध, जीवनको सङ्घर्ष, जीवनबारे संचेतना आदि–इत्यादिलाई उनले यही टुँडालका माध्यमबाट सम्पे्रषित गर्न चाहेको देखिन्छ ।
सुमन श्रेष्ठले आफ्नो चित्रमा पोखराको दृश्यलाई स्वाभाविक प्रकारले प्रभाववादी रूपमा पस्केका छन् । तापनि आफ्ना भावनालाई उनी यसरी राख्छन् जस्तो कि चिसोमा मुटु कठ्ङ्ग्रिएपछि निलो आकाशमाथि सेतो हिउँ बन्छ । तत्पश्चात् गहिरो झरनाबाट पानी वर्षंदा कञ्चन हावा बहन्छ । यही नै सिर्जनशील अभिव्यञ्जनाका लागि स्रोत बन्छ । सामान्य दृश्यचित्रबाट पनि विचार बगेको र बगाइएको देख्दा भावकमा अनौठो अनुभव हुन्छ नै ।
यस प्रदर्शनीमा समसामयिक कलातर्फ लम्किरहेका केही लोककला समेत राखिएका थिए । यस्ता चित्रमा शुभद्री शुभा, हेमा दास र राखी कर्ण छन् । राखी कर्णले अर्ध नारीश्वरको चित्रलाई लोक अनि समसामयिक चित्रको मिश्रणका रूपमा अनौठो प्रकारले प्रस्तुत गरेकी छन् ।
देव कृष्णलाई गाईको बाच्छो र आमाको अनौठो संयोजनले सिँगारेको देखिन्छ । लोककलामा हुने अनेक प्रकारका बुट्टा भरिएको यो सुभद्रीको चित्र रमणीय रूपमा देखापर्छ । हेमाको ‘रास लीला’ चित्रमा कृष्ण र गोपिनीहरूको गजबको संयोजन गरिएको छ, जसले मैथिली लोककलालाई जीवन्तता प्रदान गरेको छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित
-
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
-
सुस्तावासी दशकौँदेखि नागरिकता र भूमि सम्बन्धी समस्या झेल्दै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ