बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म

मङ्गलबार, २२ माघ २०८१, २३ : ५५
मङ्गलबार, २२ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. जनप्रतिनिधिले पार्टीलाई प्रगति विवरण बुझाउनु पर्ने 
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा आफ्नो पदीय जिम्मेवारी अनुसारको प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने भएको छ । कांग्रेसले तयार गरेको जनप्रतिनिधि कार्यसम्पादन निर्देशिकाले जनप्रतिनिधिलाई पार्टी र नागरिकप्रति जिम्मेवार हुने व्यवस्था लागू गर्न लागेको हो । 

२.  झापामा गोली चल्यो 
झापामा लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाएको छ । कनकाई नगरपालिका –४ स्थित भित्री सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले दुई जना कारोबारीलाई पक्राउ गरेको हो । 

३. साहारा सहकारी ठगी
चितवनको साहारा बहुउद्देश्यीय सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्षसहित चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ । 

४. सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक
सरकारले अघि बढाएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका कतिपय सर्त र प्रावधानमाथि प्रश्न उठाउँदै केही दिनयता चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ का व्यवस्थाप्रति सरोकारवालाहरूले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।

५. कांग्रेसभित्रको मत
गठबन्धन नगरी तीनै तहको निर्वाचन लड्ने निष्कर्षमा पुगेको सत्तारूढ दल नेपाली कांग्रेसभित्र तहगत निर्वाचन पद्धतिबारे बहस सुरु भएको छ । कांग्रेसभित्र स्थानीय तहको निर्वाचन सङ्घ तथा प्रदेशको भन्दा पछि गर्नुपर्ने माग उठ्न थालेको छ । केन्द्रीय समितिमा मात्र होइन, यो बहसले पार्टी संसदीय दलको बैठकमा पनि प्रवेश पाएको छ ।

६. न्यायाधीश नियुक्ति
 राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई सोमबार नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई परिषद्को सदस्यमा नियुक्त गरेका हुन् ।

७ ओलीको चरित्रबारे टिप्पणी
संयोग नै मान्नुपर्छ ! एकै दिन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चरित्रबारे दुई ठूला पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले फरक-फरक अर्थ लाग्ने टिप्पणी गरेका छन् ।

८. डलरको मूल्य
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा पुगेको छ । विश्व अर्थतन्त्रमा देखिएको उथलपुथल, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीति र भारतीय अर्थ बजारमा देखिएको उतारचढावले नेपाली मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ । 

९. विश्व क्यान्सर दिवस
आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ । विश्वको कुल मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ । 

१०. आन्दोलनमा पीजी डाक्टर
यतिबेला देशभरका आवासीय चिकित्सक ९पीजी डाक्टर० आन्दोलनमा छन् । आफूले पाउने निर्वाह भत्ताको सीमा दुई मन्त्रीले तोकिदिएपछि माघ १६ गतेदेखि उनीहरू सडकमा उत्रिएका हुन् ।

११. खोपले दिएको खुसी
 विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका छन्। 

१२. बेलायती राजकुमार दम्पती
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप