काठमाडौँ । महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुन लागेकाे फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक गरिएकाे छ । केही दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो ।
सुशान्त गौतमको शब्दतथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ । गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन् । उनले स्वर भरेका ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छन् ।
क्लरिष्ट जुनिम गहतराजको निर्देशनमा डेब्यु रहेकाे फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । फिल्मले एक नवविवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
प्रतिक्रिया