बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत

मङ्गलबार, २२ माघ २०८१, २२ : ००
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । आज २०८१ माघ २२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–

  • साहारा सहकारी ठगी

चितवनकाे साहारा बहुउद्देश्यीय सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्षसहित चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ । 

  • सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक

सरकारले अघि बढाएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका कतिपय सर्त र प्रावधानमाथि प्रश्न उठाउँदै केही दिनयता चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ का व्यवस्थाप्रति सरोकारवालाहरूले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।

  • कांग्रेसभित्रको मत

गठबन्धन नगरी तीनै तहको निर्वाचन लड्ने निष्कर्षमा पुगेको सत्तारूढ दल नेपाली कांग्रेसभित्र तहगत निर्वाचन पद्धतिबारे बहस सुरु भएको छ । कांग्रेसभित्र स्थानीय तहको निर्वाचन सङ्घ तथा प्रदेशको भन्दा पछि गर्नुपर्ने माग उठ्न थालेको छ । केन्द्रीय समितिमा मात्र होइन, यो बहसले पार्टी संसदीय दलको बैठकमा पनि प्रवेश पाएको छ ।

  • न्यायाधीश नियुक्ति

 राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई सोमबार नियुक्त गरेसँगै न्याय परिषद्ले पूर्णता पाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एशोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई परिषद्को सदस्यमा नियुक्त गरेका हुन् ।

  • ओलीको चरित्रबारे टिप्पणी

संयोग नै मान्नुपर्छ ! एकै दिन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चरित्रबारे दुई ठुला पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले फरक–फरक अर्थ लाग्ने टिप्पणी गरेका छन् ।

  • डलरको मूल्य

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा पुगेको छ । विश्व अर्थतन्त्रमा देखिएको उथलपुथल, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीति र भारतीय अर्थ बजारमा देखिएको उतारचढावले नेपाली मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ । 

  • विश्व क्यान्सर दिवस

आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ । विश्वको कुल मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ । 

  • आन्दोलनमा पीजी डाक्टर

यतिबेला देशभरका आवासीय चिकित्सक (पीजी डाक्टर) आन्दोलनमा छन् । आफूले पाउने निर्वाह भत्ताको सीमा दुई मन्त्रीले तोकिदिएपछि माघ १६ गतेदेखि उनीहरू सडकमा उत्रिएका हुन् ।

  • खोपले दिएको खुसी

 विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका छन्। 

  • बेलायती राजकुमार दम्पती

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप