उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण प्रकरण : जिल्लाको फैसला उच्च अदालतद्वारा सदर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूमाथि जिल्ला अदालतले गरेको कैद सजाएको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको छ। जिल्ला अदालत काठमाडौँले चलाउनेमाथि आक्रमण गर्नेलाई २ वर्ष कैद सजाय तोकेको थियो । त्यसका विरुद्ध गरिएको पुनरावेदनमा उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको हो । तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको छ ।
मंगलबार उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले जिल्ला अदालतको फैसला नै सदर गर्दै क्षतिपूर्ति भने घटाएको हो ।
आजको बहसमा प्रतिवादीको तर्फबाट बारका अध्यक्ष गाेपालकृष्ण घिमिरे, पूर्व बार अध्यक्ष डाेर बहादुर केसी, पूर्व डिएलए अध्यक्ष यज्ञ बहादुर अधिकारी लगायतले बहस गरेका थिए भने चलाउनेको तर्फबाट वसन्त जोशी, धुर्बलाल श्रेष्ठ लगायतले बहस गरेका थिए ।
काठमाडौँ जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।
अदालतले उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । तर, उच्चले क्षतिपूर्ति रकम भने घटाएर २४ लाख बनाएको छ । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।
उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार हुँदै अमेरिका पुगेका छन् । अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।
उनीहरूलाई फिर्ता ल्याउन माग गर्दै उपप्राध्यापक चलाउनेले नेपालस्थित अमेरिकी र अष्ट्रेलियन दूतावासमा निवेदन समेत दिएका थिए । तर दुई तहको अदालतले फैसला गर्दा पनि सरकारले फिर्ता ल्याउन नसकेको चलाउनेको भनाइ छ।