मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

अर्जुन ट्रफी : न्यु होराईजन बुटवलको विजयी सुरुवात

मङ्गलबार, २२ माघ २०८१, २० : ३९
मङ्गलबार, २२ माघ २०८१

धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवलले विजयी सुरुवात गरेको छ ।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिन भएको पहिलो खेलमा न्यु होराईजन बुटवलले विजयी सुरुवात गरेको हो ।

मंगलबार भएको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रन अन्तरले हराउँदै न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ५७ रनको योगफल बनायो । बुटवललाई सम्मानजनक योगफलमा पुराउनका लागि दीपक डुम्रेले सर्वाधिक ४५ रन बनाए । आरिफ खानले ४१ रन बनाए भने कप्तान दिलीप नाथ र प्रतीक श्रेष्ठले २०/२० रन बनाए । बैतडीका लागि भुवन कार्कीले दुई विकेट लिए । खडक बोहोरा, रुपेश सिंह र सल्लाहुदीन खानले समान एक एक विकेट लिए । 

एक सय ५८ रनको लक्ष्य लिएर मैदान उत्रिएको दशरथ चन्द एकेडेमी बैतडीले १४.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो । बैतडीका लागि वसन्त खत्रीले सर्वाधिक २० रन बनाए । वसन्त सहित हिमाल दौल्यालले १९ रन, सुमित वडालले १४ रन र दिवान पुनले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो  अंक छुन सकेनन् । न्यु होराईजन बुटवललाई जिताउन तुलवहादुर थापाले ३ विकेट लिए । विप्रोसन केसी र वीरवहादुर मगरले दुई दुई विकेट लिए ।सिद्धान्त लोहनी, महेश भार र निर्मल गुरुङले एक एक विकेट लिए । खेलमा ३ विकेट लिएका बुटबलका तुलवहादुर थापा नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ । बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । तीन खेलमा दुई जित सहित चार अंक बनाएको डिसिए समूह ए को अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुई खेलमा जित हात पारेको सिवाईसी अत्तरिया चार अंक सहित समूह ए को शिर्षस्थानमा छ । समूह ए बाट सेमिफाईनल पुग्ने टोलीको टुंगो भने यसपछि हुने लिग चरणका खेलहरुको नतिजामा भर पर्नेछ । समूह ए मा रहेको घोडाघोडी–११ ले दुई खेल खेल्न बाँकी छ भने बोष्टन झापा र सिवाईसी अत्तरियाले एक एक खेल खेल्न बाँकी छ । यसपछि घोडाघोडी–११ र बोष्टन झापा तथा घोडाघोडी–११ र सिवाईसी अत्तरिया बिच प्रतिस्पर्धा गर्न बाँकी रहेको छ । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४३ रन बनायो । डिसिएका लागि ओपनर लोकेश बमले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले चार छक्का र ३ चौका प्रहार गरे । टिमका लागि अमित श्रेष्ठले २५ रन बनाए भने मिलन बोहोराले १८ रन बनाए । बोष्टन झापाका लागि पवन कार्की, अभिषेक कार्की र रोशन शाहले दुई दुई विकेट लिए । रुसिल रिमालको नाममा एक विकेट रह्यो । 

एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्रिएको बोष्टन झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ३७ रन मात्रै बनाउन सक्यो । झापाका लागि दिपु भुजेलले २८ रन बनाए । रोहन विक र अरुण ऐरीले समान २६ रन बनाए । झापाका कप्तान अभिनास सिंहले अविजित १३ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । अन्तिम २ बलमा १२ रन आवश्यक रहेकोमा कप्तान सिंह छक्का प्रहार गर्दै खेलमा एक बलमा ६ रनको अवस्था सिर्जना गरे । तर अन्तिम बलमा डिसिएका भोजराज भट्टले कुनै रन नदिएपछि डिसिएले ५ रनको जित दर्ता गरेको हो । डिसिएका लागि नारायण जोशी र राहुल भण्डारीले दुई दुई विकेट लिए । भोजराज भट्टको नाममा एक विकेट रह्यो । खेलमा अर्धशतक बनाएका डिसिएका लोकेश बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमान्यु होराईजन बुटबल र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा घोडाघोडी–११ र बोष्टन क्रिकेट झापा खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । 

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप