ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
काठमाडौँ । संयोग नै मान्नुपर्छ ! एकै दिन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चरित्रबारे दुई ठुला पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले फरक–फरक अर्थ लाग्ने टिप्पणी गरेका छन् ।
मंगलबार छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका जिल्लामा पुगेका कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीसमेत रहेका अर्का नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘ओली चरित्र’बारे फरक–फरक अर्थ दिने टिप्पणी गरेका हुन् ।
देउवा मंगलबार कास्कीको पोखरामा कांग्रेस सभापतिहरूको भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै थिए भने प्रचण्ड पार्टीले म्याग्दीको बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै थिए ।
कांग्रेस संसद्को पहिलो दल हो भने माओवादी केन्द्र तेस्रो । त्यसैगरी, कांग्रेस एमालेसँगको सत्ता सहकार्यमा छ भने माओवादी प्रमुख प्रतिपक्ष । त्यसैले हुन सक्छ, कांग्रेस सभापति देउवाले ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नभएकाले सत्ता सहकार्य सहमतिअनुसार नै अघि जाने बताए । तर, ओलीबारे देउवाको अभिव्यक्ति आएको केही घण्टामै पूर्वप्रधानमन्त्री प्रचण्डले भने ओली फटाहा र जालीझेली भएको टिप्पणी गरे ।
देउवाले ओलीबारे के भने पोखरामा ?
‘वास्तवमा भन्ने हो भने केपी ओली र म सँगै जेलमा बसेका साथी हौँ । धेरै दुःख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ सभापति देउवाले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’
पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरू लक्षित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे ।
कांग्रेसीजनमा एमाले अध्यक्ष ओलीले सहजै सत्ता हस्तान्तरण गर्दैनन् कि भनेर आशंका भइरहेका बेला देउवाले कार्यकर्ताहरूलाई विश्वास दिलाउन खोजेका थिए भन्ने प्रस्ट छ । त्यसमाथि एमाले र कांग्रेसबीच भएको गत असार १७ गतेको सहमतिमा २०८४ सालसम्म गठबन्धन टिकाउने र ओली देउवा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । यो सहमति कार्यान्वयन हुनेमा कतिपय कांग्रेस नेता कार्यकर्ताहरू विश्वस्त बन्न सकेका छैनन् । यही संशयलाई साम्य पार्न वा चिर्न देउवाले ओलीको यसरी प्रशंसा गरेर राजनीतिक धर्म निर्वाह गरेका हुन् ।
सहमति अनुसार २०८२ साल साउनबाट देउवाले सरकारको नेतृत्व पाउनुपर्ने हुन्छ । यसमा ओलीले पनि पटक पटक सहमतिअनुसार समयमै आफूले देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् ।
पोखरामा ७७ वटै जिल्लाका सभापति र केन्द्रीय नेताहरू सहभागी कार्यक्रममा देउवाले ओलीसँग अविश्वास गर्नुपर्ने कारण नरहेको मात्र बताएनन्, उनले पहिलेदेखि नै दुईवटा पार्टीहरू प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका हुनाले विश्वासका साथ चल्नुपर्ने सुनाए । साथै कांग्रेस एमालेको गठबन्धन स्थायित्वका लागि भएको दाबीसमेत गरे ।
‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबिच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ सभापति देउवाले भने, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’
प्रचण्ड भन्छन्–ओली फटाहा !
सभापति देउवाले नेपाली राजनीतिमा ओलीलाई ‘इमानदार’को संज्ञा दिँदै प्रशंसा गरेको डेढ घण्टामै म्याग्दीको बेनीमा भएको कार्यक्रममा प्रचण्डले भने ओलीलाई ‘जालीझेली र फटाहा’ भने ।
‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । उहाँले यति धेरै ढाँट्छल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । स्वर्ग र नर्कका कुरा त तपाईंहरू सबैलाई थाहा नै छ’, प्रचण्डले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर पनि गरेकै छैन भन्नुहुन्छ । पत्रिकामा फोटो छापिइसक्यो तर यो कहिलेको छाप्यो भन्न सक्ने भनेपछि यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’
अध्यक्ष प्रचण्डले गत असारमा भएको कांग्रेस एमाले सहमतिको प्रशंग कोट्याउँदै ओलीको राजनीतिक चरित्रमाथि यस्तो टिप्पणी गरेका हुन् ।
प्रचण्ड त्यतिमा मात्र रोकिएनन् । उनले कांग्रेस एमाले मिलेर सरकार बनेजस्तो लाग्ने भए पनि वर्तमान सरकार दलाल बिचौलिया र कमिसनखोरहरूले बनाइदिएको बताए । प्रचण्डले यो सरकार र गठबन्धन बनाउन विनोद चौधरी र रामेश्वर थापाको घरमा राति बैठक बसेको भन्दै कटाक्ष गरे ।
कुनै बेला (२०७७ सालमा) प्रचण्ड र देउवा ओली कदमविरुद्धको मोर्चामा एकै ठाउँ उभिएका थिए । जतिवेला ओलीले संसद विघटन गरेका थिए, त्यतिबेला नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलले ओलीको उक्त असंवैधानिक कदमको विरोध गरेका थिए र प्रचण्डले देउवालाई प्रधानमन्त्री नै बनाइदिएका थिए । तर २०७९ मा भएको निर्वाचनपछि पुनः एमाले माओवादी मिलेर सरकार गठन गरे ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यतिबेला ओलीले नै भूमिका खेलेका थिए । तर, ओली–प्रचण्डको सहकार्य लामो समय रहेन । प्रचण्डले सत्ता समीकरण फेर्दै कहिले एमाले त कहिले कांग्रेसको साथ लिए । सरकार अस्थिर बनेको भन्दै फेरि २०८१ असारमा कांग्रेस एमाले मिल्न पुगे र ओली प्रधानमन्त्री बने । तर यसरी कांग्रेस–एमाले गठबन्धन गरेर ओलीको नेतृत्वमा बनेको सरकारलाई अध्यक्ष प्रचण्डले बारम्बार असंवैधानिक र अप्राकृतिकको ट्याग भिराउने गरेका छन् ।
त्यसो त ओली र प्रचण्डले २०७५ सालमा एमाले र माओवादी पार्टी मिलाएर एउटै पार्टी नेकपा नै बनाएका थिए । यद्यपि त्यो पार्टी एकता उनीहरूकै ‘टकराब’का कारण लामो समय टिक्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता