किन बढ्यो डलरको मूल्य, नेपालमा कस्तो असर ?
काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा पुगेको छ । विश्व अर्थतन्त्रमा देखिएको उथलपुथल, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीति र भारतीय अर्थ बजारमा देखिएको उतारचढावले नेपाली मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ ।
पछिल्लो १० वर्षमा मात्रै अमेरिकी डलरको मूल्य नेपाली बजारमा ४१ रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १३९.२० र बिक्रीदर १३९.८० रुपैयाँ तोकेको छ । हप्ता दिन अगाडि १ अमेरिकी डलरको मूल्य खरिददर १३८.४६ रुपैयाँ थियो ।
गत वर्ष सन् २०२४ को जनवरी १ मा १ अमेरिकी डलरको खरिद मूल्य १३२.८४ रुपैयाँ थियो । २०२४ को डिसेम्बर ३१ मा १ डलरको मूल्य १३७.१६ रुपैयाँ थियो । यसरी सन् २०२४ भर डलरको मूल्यमा ठुलो बदलाव आएन । युरोप, मध्यपूर्व लगायत मुलुकको राजनीतिक घटनाक्रम केही शान्त देखिएपछि डलरको मूल्य सन् २०२४ भर स्थिरजस्तो देखिएको विज्ञहरूको बुझाइ छ । तर जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा डोनल्ड ट्रम्पले शपथ लिएपछि विश्वको अर्थव्यवस्थामा उथलपुथल आएको छ । ट्रम्पका कार्यकारी निर्णयले अर्थतन्त्रसँगै डलरको मूल्य बढ्न थालेको छ । ट्रम्पले क्यानडा, चीन र मेक्सिकोबाट हुने आयातमा थप कर लगाउने निर्णय गरेका छन् । क्यानडा र मेक्सिकोले अमेरिका निर्यात गर्ने सामानहरूमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने अवस्था छ । विद्यमान शुल्कहरूका साथै चीनमा उत्पादित सामानहरूमा थप १० प्रतिशत शुल्क लाग्ने भएको छ ।
यो निर्णयसँगै क्यानडा, चीन र अमेरिकाबिच ‘ट्यारिफ वार’ सुरु हुँदा महँगी र डलरको भाउ बढ्न थालेको छ । ठुला कम्पनीको आम्दानी प्रभावित हुन सक्ने र विश्वव्यापी आर्थिक वृद्धि घट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।
रोयटर्सका अनुसार यसको मुख्य प्रभाव अमेरिकी डलरको मूल्य आकासिएको छ । ट्रम्पले युरोपेली संघ (ईयू)को हकमा समेत निश्चित शुल्क बढाइने बताएका छन् । यसले गर्दा विश्व सेयर बजार ओरालो लागेको छ । तेल र अमेरिकी डलरमा लगानीकर्ता झुम्मिन थालेका छन् ।
भारतीय अर्थव्यवस्थाले नेपालमा डलरको मूल्य तय हुने भएकाले नेपालको आन्तरिक कारणले कुनै फरक पार्दैन । सीएनएनका अनुसार पछिल्लो ५ वर्षलाई मात्रै हेर्दा पनि विश्व अर्थव्यवस्थामा ठुलो परिवर्तन देखियो । कोभिडदेखि रुस–युक्रेन युद्ध यही बेला भयो । कच्चा तेलको मूल्य उच्च भयो । मध्यपूर्वी एसिया पनि शान्त देखिएन । यसले गर्दा अन्य मुलुकको लगानीभन्दा अमेरिका सुरक्षित ठानेर धनाढ्यहरू अमेरिकातिर आकर्षित भए । युद्ध, कोभिडपछिको आर्थिक अवस्थालगायत कारणले विश्वभरका लगानीकर्ता अमेरिकातर्फ आकर्षित हुँदा अन्य मुलुकको मुद्रा कमजोर बन्न पुगेको सीएनएनले उल्लेख गरेको छ ।
कहाँ-कहाँ प्रभाव
विनिमयदर स्थिर भएका कारण स्वाभाविक रूपले भारतीय मुद्रा कमजोर हुनसाथ त्यसको प्रभाव नेपालमा पर्छ । जसले नेपालको समग्र अर्थतन्त्रलाई प्रभावित पार्ने, महँगी बढाउने, व्यापार घाटा थप चुलिने र विदेशी मुद्रा सञ्चितिमा चाप पर्न जान्छ । डलर महँगो हुनसाथ आयातमा निर्भर नेपालजस्तो मुलुकले सानो सामानको लागि पनि धेरै मूल्य तिर्नुपर्ने हुन्छ ।
यसको प्रभाव व्यापार घाटा उच्च हुने र महँगी थप बढ्ने देखिन्छ । निर्यात गर्न सक्ने अवस्थामा डलरको मूल्य बढ्दा त्यसले फाइदा नै गर्छ । तर आयात उच्च रहेको नेपालको अर्थतन्त्रमा महँगीको चाप थप पर्न जान्छ । नेपालमा ठुलो मात्रामा रेमिट्यान्स भित्रिने भएकाले डलरको मूल्य बढ्दा यसको फाइदा विदेशमा कमाइ गरेर नेपाल पैसा पठाउनेलाई हुन्छ । बाह्य पर्यटक धेरै आउँदा त्यसको फाइदा मुलुकलाई हुन्छ । तर सँगै आयातमा बढी मूल्य तिर्नुपर्ने हुँदा महँगीले असर गर्छ । तर व्यापार घाटा चुलिने, महँगी बढ्ने र बाह्य ऋणको दायित्व भुक्तानीमा थप भार पर्छ । शोधनान्तर घाटा थप बढ्छ । नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा डलरको उच्च मूल्यले फाइदाभन्दा घाटा बढी हुने विज्ञहरूको भनाइ छ ।