विधानमा भएको त्रुटि नसच्याइए सबै कार्यक्रम बहिस्कार गर्ने अखिल क्रान्तिकारी प्रदेश अध्यक्षहरूको चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)को प्रदेश समितिले संगठनमा ३२ वर्ष उमेर हद लागु भएपछि उत्पन्न त्रुटि हटाउन माग गरेका छन् । मंगलबार ६ प्रदेशका समितिका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै विधानमा उमेर हद व्यवस्था लागू भएपछि आफूहरू अन्यायमा परेको गुनासो पोखेका छन् ।
‘उमेर हदबारे निर्णय स्पष्ट नभएको अवस्थामा हामी सिनियर साथीहरू प्रदेश कमिटीमै रहनुपर्ने बाध्यकारी अवस्था थियो र सोही अनुसार हामी सबै अघि बढेका थियौँ । त्यसकारण अहिलेको परिस्थितिमा विशेष निर्णय गर्दै संगठनले प्रदेश अध्यक्षहरूलाई केन्द्रको उपाध्यक्ष सोसरह, प्रदेशको उपाध्यक्षदेखि प्रमुख सचिव सम्मलाई उपमहासचिव सोसरह र अन्य पदाधिकारीलाई सचिव सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन हामी सबै जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
साथै आफूहरूमाथि हुन गएको अन्यायलाई छिटोभन्दा छिटो सम्बोधन गरी परिपत्र जारी गर्न उनीहरूले अनुरोध गरेका छन् । अन्यथा प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ’, ‘अन्यथा हामी प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौँ । पदाधिकारी बैठक, शपथ ग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौँ । केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी गराउने छैनौँ भन्ने कुराको जानकारी गराउँदछौँ । हाम्रो विभिन्न विमति हुँदाहुँदै पनि स्ववियु निर्वाचनमा हाम्रो गौरवशाली संगठनलाई विजय गराउन लाग्नेछौं त्यसको निम्ति प्रदेश कमिटीले आफ्नो कार्ययोजना आफै बनाएर अगाडि बढ्नेछ ।’
असोज १० देखि १४ गतेसम्म काठमाडौँमा हुने २३ औँ राष्ट्रिय सम्मेलनअघि नै प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको थियो । त्यतिबेला उमेर हदको व्यवस्था नहुँदा प्रदेशमा अधिकांश ३२ वर्ष माथिका नेतृत्व चयन भएका थिए । तर पुस १३ गते भएको निर्वाचनमा खुला पक्षधर पराजित भएका थिए । केन्द्रीय नेतृत्वका लागि माघ १२ गते भएको निर्वाचनबाट ३२ वर्ष मुनिका निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशका अध्यक्ष वीर बहादुर थापा, बागमतीका अध्यक्ष अर्जुन पौडेल, कोशीका अध्यक्ष चन्द्र माङमुङ, लुम्बिनीका अध्यक्ष पुष्कर शर्मा, कर्णालीका अध्यक्ष मनसिंह शाही र त्रिदिप गुरुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईसम्बन्धी छुट्टै नीति ल्याउँदै सरकार, तीन वटा संरचना निर्माण प्रस्ताव
-
स्वीडेनको विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार
-
एआईसम्बन्धी नीति मस्यौदा सार्वजनिक (पूर्णपाठ)
-
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि
-
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने टोलीको बिदाइ
-
दोस्रो विश्वविद्यालय खेलकुद भोलिदेखि