मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

गौरीटारको फुटबल रंगशाला निर्माण अन्तिम चरणमा

मङ्गलबार, २२ माघ २०८१, १७ : २१
मङ्गलबार, २२ माघ २०८१

मकवानपुर । हेटौंडा-६ स्थित गौरिटारको फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त रंगशालाको काम अन्तिम चरणमा पुगेको हो । 


रंगशाला परिसरमा करिव १८ करोड लागतमा फुटबल रंगशाला निर्माण गरिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सामाजिक विकास कार्यालय मकवानपुरमार्फत् निर्माण भइरहेकोे फुटबल रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गर्ने तयारी भइरहेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।

उनका अनुसार सोही क्षेत्रमा निर्माणाधिन अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला र नेपालकै ठूलो पौडी पोखरी निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । २० असार २०८२ भित्र क्रिकेट रंगशाला र पौडी पोखरी निर्माणको काम सम्पन्न हुने उनले बताए ।

क्रिकेट रंगशालामा पहिलो चरणमा ६५० दर्शक क्षमताको प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुँदैछ । 
त्यस्तै अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता संचालन गर्न मिल्ने गरी नेपालकै ठूलो पौडी पोखरी र खेलाडीहरुका लागि अभ्यास गर्न सानो पौडी पोखरी तथा प्याराफिटलगायतका संरचना निर्माण गरिँदैछ ।

यसैबीच मंगलबार प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उक्त रंगशालामा निर्माणाधिन खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण समेत गरेका छन् । मन्त्री महर्जनले रंगशालाको पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवराज सुवेदी र प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका थिए ।

निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य तोकिएको मितिभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गरे । प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि गुणस्तरीय खेलकुदका संरचना निर्माण गर्नुका साथै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप