परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
रुकुम पश्चिम । आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् ।
त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो । परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन् ।
हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ । यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न भयो । साँख गाउँको बीचमा दह छ । यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ । यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बीचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताए । उनका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष आलोपालो हुने गरेको ओलीले बताए ।
‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या–कन्याबीच विवाह सम्पन्न गरेका थिए ।
विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो ।
साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ । यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । “गाउँको चालचलन धान्ने कन्या पापिनी हुनु परेको छ, यो उहिलेकै चलन हो,” स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने । ।
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आएका छन् । हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताए । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने
-
पूर्ण भयो न्याय परिषद्, सुरु होला न्यायाधीश नियुक्ति ?
-
प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
-
पाकुच्चाको सागमा विषादी
-
विधानमा भएको त्रुटि नसच्याइए सबै कार्यक्रम बहिस्कार गर्ने अखिल क्रान्तिकारी प्रदेश अध्यक्षहरूको चेतावनी