मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

सांसदहरूले भने– वकालत गरेको १५ वर्षपछि वरिष्ठ अधिवक्ता बन्न पाउने समयावधि बढाउनु हुँदैन

मङ्गलबार, २२ माघ २०८१, १६ : ०५
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । १५ वर्ष कानुनी वकालत गरेको व्यक्ति वरिष्ठ अधिवक्ता बन्न पाउने प्रावधानलाई बढाउनु नहुनेमा सांसदहरूले जोड दिएका छन् । वरिष्ठ अधिवक्ता बन्नका लागि १५ वर्ष कानुनी वकालत गरेको अनुभव हुनुपर्ने कुरा नै सही रहेकाले समयावधि बढाउन आवश्यक नरहेको सांसदहरूको भनाइ छ । 

मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरूले १५ वर्ष सानो समय नभएको भन्दै यसलाई बढाउन जरुरी नरहेको बताए । समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले १५ वर्ष न्याय क्षेत्रमा काम गरेर वरिष्ठ अधिवक्ता बन्नु मामुली कुरा नभएको भन्दै १५ वर्ष काम गरेपछि वरिष्ठ अधिवक्ता बन्न पाउने कुरा नै ठिक रहेको बताए । उनले १५ वर्षभन्दा बढी राख्नु भनेको न्याय क्षेत्रमा युवाहरुको पहुँचलाई रोक्ने काम भएको बताए । 

उनले भने, ‘१५ वर्ष भनेको मामुली कुरा होइन । एउटा लयर बन्नका लागि उसले एएम पास गर्नुपर्छ, कानुनी रुपमा १५ वर्ष काम गर्नुपर्छ । अनि त्यो वरिष्ठ अधिवक्ता बन्छ । उसले लामो समय आफ्नो जीवन लगाएको हुन्छ ।’

समितिको बैठकमा बोल्दै कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नैतिक पतन देखिने फौजदारी कसुर केके हुन् ? भन्नेकुरा अदालतलाई मात्रै जिम्मा दिने भन्दा पनि सरकारले नै परिभाषित गर्न सक्नुपर्ने बताए । उनले नैतिक पतन भएका कानुन व्यवसायीहरूको प्रमाणपत्र रद्ध गर्नेकुरामा पनि ३ वर्ष सजाय व्यहोरोको व्यक्तिको प्रमाण पत्र रुद्ध हुनुपर्ने आफ्नो प्रस्ताव रहेको बताए । 

उनले भने, ‘सरकारले यो परिभाषित गर्न आवश्यक हुन्छ । नैतिक पतन देखिने फौजदारी कसुर केके हुन् ? अदालतलाई मात्र किन छोड्ने हामीले यसको परिभाषा गर्न हामीले परिभाषा गर्न सक्नुपर्छ । यसको प्रमाणपत्र रुद्ध गर्नेकुरामा ठिक छ, सरकारले अपराध नियन्त्रण गर्नेकुरामा ल्याएको होला, ठिक छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले जानकारी नदिई कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गर्नेलाई न्यायोचित सजाय दिनुपर्ने बताइन् । उनले उसको प्रमाणपत्र रुद्ध गर्ने नभई केही जरिबाना तिराउन सकिने बाटो खोज्नुपर्ने बताइन् । त्यसो गरेको खण्डमा सुसंस्कार कायम हुने उनले बताइन् । 

उनले भनिन्, ‘जानकारी नदिई प्रमाणपत्र प्राप्त गरे उ कति दोषपूर्ण छ, उसलाई हामीले न्यायोचित ढंगले सजाय दिनुपर्छ ।’

समितिको बैठकमा बोल्दै अन्य सांसदहरूले वरिष्ठ अधिवक्ता बन्नका लागि समयावधि बढाउँदै लैजाने कुरा राम्रो नभएको धारणा राखे । सीमित मापदण्ड पूरा गरिसकेपछि वरिष्ठ अधिवक्ता बन्न पाउने कुरा नै राम्रो रहेको र १५ वर्षभन्दा माथि लैजानु नहुनेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप