छविलालको बयान : सबै कुरा जीबी र रविलाई थाहा होला
काठमाडौँ । साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता भएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १७ जना तथा पछि राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित थप १५ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको हो ।
अभियोग पत्रमा प्रतिवादी रहेका छबिलाल जोशीको बयान पनि समावेश गरिएको छ । बयानमा जोशीले साहारा चितवन सहकारीको कर्मचारी, शेयर सदस्य, पदाधिकारी लगायतको कोही नभएको र आफूसँग उक्त सहकारीको कुनै संलग्न नरहेको दाबी गरेका छन् ।
आफू गोरखा मिडिया नेटवर्क प्रा.लि. को संस्थापक शेयर रहेको तर १ वर्षपछि त्यो छाडेको उनले बयानमा बताएका छन् । उनले भनेका छन्, ‘संस्थापक शेयर होल्डर एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईलाई नै सुम्पिई उक्त कम्पनीबाट बाहिरिएको हुँ म कम्पनीमा संलग्न भए देखि छाड्दासम्म गोरखा मिडिया नेटवर्कमा आर्थिक कारोबारमा मेरो दैनिक व्यवस्थापनको कार्यमा संलग्नता नभई सोको जिम्मा गितेन्द्र बाबु राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन, पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माईन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा निजै गितेन्द्र बाबु राई र रवि लामिछानेलाई नै थाहा होला ।’
आफू कानुनीरुपमा २०७८ साल असोज २२ गतेदेखि गोरखा मिडिया नेटवर्कबाट अलग गराइए पनि आफू यस प्रालिबाट सुरुदेखि अलग रहेको उनले जिकिर गरेका छन् । यही कारण गोरखा मिडिया नेटवर्क प्रालिको बैंकको खातामा रकम के, कसरी, को, कसले ल्याउँथे र खातामा जम्मा भएको रकम को, कसले के, कस्तो प्रक्रिया पुरा गरेर भुक्तानी गर्थे भन्ने विषयमा आफूलाई केही थाहा जानकारी नभएको उनले बताएका छन् । ‘रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने भएकोले उहाँहरूलाई नै थाहा हुनु पर्छ भन्ने समेत ब्यहोराको प्रतिवादी छविलाल जोशीको बयान,’ पत्रमा उल्लेख छ ।
- यस्तो छ जोशीको बयान :
म २०७५/०३/३० गते नेपाल प्रहरीको ३० वर्षिय सेवा अवधी पुरा गरी सेवानिवृत भएको थिएँ । २०७७ सालमा नेचर हर्बस इन्टरनेशनल प्रा.लि.मा १०% शेयर लिई डाइरेक्टर भएँ । सोही कम्पनीको प्रतिनिधित्व गरी म नेपाल डाइरेक्ट सेलिङ एसोसियनमा अध्यक्ष भएँ ।
नेपाल डाइरेक्ट सेलिङ एसोसियनमा अध्यक्ष भएको १ महिना नबित्दै मैले नेचर हर्वस को शेयर गितेन्द्र बाबु राई मार्फत निजले ल्याएका राम बहादुर खानाललाई हस्तान्तरण गरेँ । तत् पश्चात म र गितेन्द्र बाबु राईको ५०/५०% शेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रा. लि. कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराई सञ्चालन गर्ने क्रममा म उक्त कम्पनीको शेयर होल्डर र सञ्चालक सदस्यको रूपमा करिब १ वर्ष बसे पछि सो प्रा. लि. बाट समेत अलग भई हाल पहिला देखि आबद्ध रहेको के. एण्ड के. कलेज बानेश्वरमा डाइरेक्टरको रूपमा काम गरी अध्यापन समेत गराउँदै आएको छु ।
गोरखा मिडिया नेटवर्क प्रा.लि. अन्तर्गत Galaxy 4k TV सञ्चालनमा आएको थियो । उक्त मिडिया नेटवर्क प्रा.लि. दर्ता सँगको अवस्थाको शेयर धनी एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई हुन् ।
संस्थापक शेयर सदस्य म छविलाल जोशी थिएँ । हामी दुई जनाको ५०/५०% ले हुने ५१,५०,०००/२,५०,००० कित्ता शेयर लगानीको बोलकवुल मात्र गरी र जगेडा रहेको ७,००,००० कित्ता मध्येबाट १५% शेयर रवि लामिछानेले लिएका रहेछन् सो कुरा कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त भएको म समेतको सहिछाप रहेको सञ्चालक समितिको मिति २०७७।१२।१८ गतेको बैठकमा भएको निर्णय समेतबाट हाल एकिन भयो ।
म करिब १ वर्ष पछि उक्त कम्पनीबाट कानुन सम्मत तवरबाट प्रक्रिया पुरा गरेर मेरो भागको कम्पनी स्थापना गर्दा कायम भएको ५०% शेयर, कम्पनीको शेयर पुजी बढाएर रु. ५ करोडबाट रु. १२ करोड पुर्याएपछि तत्काल कायम हुन आएको गितेन्द्र बाबु राईको शेयर ५०% ले रु.६,०००००००/- ( छ करोड रुपैयाँ ) मेरो ३५% ले रु. ४,२०,००,०००/- (चार करोड बिस लाख रुपैयाँ) र रवि लामिछानेको १५% रु.१,८०,००,०००/- (एक करोड असि लाख रुपैयाँ ) शेयर लगानी रहेकोमा मेरो कायम हुन आएको शेयर लगानी सम्बन्धमा कम्पनी रजिस्ट्रारको कार्यालयमा उपस्थित भएर कम्पनीको लेखा परीक्षक सहित लेखा परीक्षण प्रतिवेदन पेस गराई कानुन सम्मत रूपमा सम्पूर्ण दायित्व र जिम्मेवारीबाट अलग हुने गरी अन्य व्यक्ति नभई कम्पनीको संस्थापक शेयर होल्डर एवं कार्यकारी अध्यक्ष Face Of the company गितेन्द्र बाबु राईलाई नै सुम्पिई उक्त कम्पनीबाट बाहिरिएको हुँ म कम्पनीमा संलग्न भए देखि छाड्दा सम्म Gorkha Media Network Pvt. Ltd मा आर्थिक कारोबारमा मेरो दैनिक व्यवस्थापनको कार्यमा संलग्नता नभई सोको जिम्मा गितेन्द्र बाबु राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन, पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माईन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा निजै गितेन्द्र बाबु राई र रवि लामिछानेलाई नै थाहा होला ।
Nature Herbs International Pvt.Ltd. मा म करिब १ महिना पनि नबसी छाडेको र ऋण लिँदाको समयमा मैले कम्पनी छाडी सकेको थिएँ । सो समयमा गितेन्द्र बाबु राईको नै सम्पूर्ण जिम्मेवारी थियो, निजलाई नै थाहा होला, G.B Group Of Company, Spring Wood Real State And Housing Pvt.Ltd र Neture Nest Pvt.Ltd मा म आबद्ध नरहेकोले सो सम्बन्धमा मलाई कुनै जनाकारी छैन ।
उक्त गोर्खा मिडिया नेटवर्क प्रा. लि. मा मैले २,५०,००० कित्ता शेयर लिने बोलकवुल मात्र भएको हो, उक्त कम्पनीमा मेरो कुनै लगानी नभएको, सम्पूर्ण रकम गितेन्द्र बाबु राईले लगानी गरेको, कम्पनीको आर्थिक कारोबारमा मेरो संलग्नता नभई दैनिक व्यवस्थापनको जिम्मा गितेन्द्र बाबु राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन, पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माईन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा मलाई कुनै थाहा जानकारी छैन ।
उक्त साहारा चितवन बहुउदेश्यीय सहकारी संस्था लि. स्थापना भए देखि हालसम्म म शेयर सदस्य, बचतकर्ता, सञ्चालक, पदाधिकारी, कर्मचारी लगायत कुनै पदमा आबद्ध नरहेकोले सहकारीको वित्तीय कारोबारको अभिलेख राख्ने गरेको (सफ्टवेयर) विद्युतीय डाटाबाट देखिएको Chabbilal Banjaday JoshiO नाममा देखाइएको खाता मेरो होइन, सो खातामा उल्लेखित व्यक्ती समेत म होइन ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति २०८१ ले पृष्ठ १००५ अनुसूची - १२ भित्र गोरखा मिडिया नेटवर्कको वित्तीय विश्लेषण ११.१ ऋण पेस्की भनी उल्लेख गरेको, वित्तीय विश्लेषणको कैफियत महलमा स्पष्ट रूपमा छविलाल जोशीले अनुसन्धानको सिलसिलामा हेर्दा कहीँ कतै माग फारम भरेको, दस्तखत, ल्याप्चे, ऋण सापटी माग गरेको नपाइएको र उक्त ऋण पेस्की भनी लेखिएको कागज पछाडि उक्त कार्य गर्ने, गर्न लगाउने, आदेश दिने, आदेश बमोजिम गर्ने गरेको भनी उल्लेख भएकोले सो सम्बन्धमा ऋण सापटी, पेस्की लिएको छैन, हैन ।
बिना कुनै दस्तखत, धितो, ऋण, पेस्की कसरी प्रवाह हुन सक्छ । यसमा जी.बि. राई भन्ने गितेन्द्र बाबु राईकै सफ्टवेयर उनकै कर्मचारी, आईटी कम्पनी, अभिलेख, योजना भएकोले म जाँदै नगएको, नदेखेको ठाँउबाट समेत मेरो नाम किर्ते गरी मेरो नाम उल्लेख गर्छ भने निजकै आदेश र योजनामा यी सबै कार्य गरेको, भएको हुनुपर्छ । निजकै नियन्त्रण र आदेशमा गरिने भए पछि जसको नाममा पनि उल्लेख गर्न मिल्दो रहेछ ।
मैले नेचर हर्वसको शेयर राम बहादुर खनाललाई हस्तान्तरण गरे वापत मलाई निजको इन्भेष्टमेण्ट बैंकको खाता मार्फत मेरो नविल बैंकमा जम्मा गराइएको रु. १० लाख मेरो आफ्नो नभई गितेन्द्र बाबु राईको रहेको र हामीले शेयर हस्तान्तरणको कागजी प्रक्रिया पुरा गर्नको लागि मात्र रकम खातामा जम्मा भएको देखाएको कारण उक्त रकम मैले निज गितेन्द्र बाबु राईले भने बमोजिम नै मेरो नबिल बैंकको खाताबाट साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाउँमा काटेर निजै गितेन्द्र बाबु राईलाई दिएको हुँ । उक्त चेक निजले सहकारीको मेगा बैंकमा जम्मा गराएका रहेछन् सो कुरा पछि थाहा पाएको हुँ ।
म साहारा चितवन सहकारीको कर्मचारी, शेयर सदस्य, पदाधिकारी लगायतको कोही होइन । मसँग उक्त सहकारीको कुनै संलग्न छैन, थिएन । चेक भरपाई देखाउँदा हेरी पाएँ । उक्त चेक मैले गितेन्द्र बाबु राईलाई उपलब्ध गराएको हुँ ।
यस विषयमा गोरखा मिडिया नेटवर्क प्रा. लि. का अध्यक्ष गितेन्द्र बाबु राई, प्रबन्ध निर्देशक रवि लामिछाने र लेखा परिक्षक सि. ए. विशेष बिभु आचार्यले दस्तखत गरी लेखा परीक्षण सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी तयार गरी आधिकारिक रूपमा पेस गरेको उल्लेखित दुवै वर्षको लेखा परीक्षण प्रतिवेदन विवरण कम्पनी रजिस्टारको कार्यालयको वेबसाइटमा राखिएको छ । उक्त लेखा परीक्षण प्रतिवेदन तयार गर्दाका बखत मेरो कुनै संलग्नता, भूमिका, हस्ताक्षर छैन र सो सम्बन्धमा मलाई जानकारी समेत छैन ।
मलाई कानुनी रूपमा मिति २०७८ । ०६ । २२ गते देखि गोरखा मिडिया नेटवर्क प्रा. लि. अलग गराइए पनि म यस प्रा. लि. बाट सुरु देखि अलग थिए, सोही कारण गोरखा मिडिया नेटवर्क प्रा.लि. को बैकको खातामा रकम के, कसरी, को, कसले ल्याउँथे र खातामा जम्मा भएको रकम को, कसले के, कस्तो प्रक्रिया पुरा गरेर भुक्तानी गर्थे, सो विषयमा मलाई केही थाहा जानकारी छैन । रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने भएकोले उहाँहरूलाई नै थाहा हुनु पर्छ भन्ने समेत ब्यहोराको प्रतिवादी छविलाल जोशीको बयान ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधानमा भएको त्रुटि नसच्याइए सबै कार्यक्रम बहिस्कार गर्ने अखिल क्रान्तिकारी प्रदेश अध्यक्षहरूको चेतावनी
-
बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
-
दैलेखमा भूकम्पको धक्का
-
सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प
-
कांग्रेसभित्र संघ–प्रदेश पश्चात् स्थानीय तहको निर्वाचन गर्नुपर्ने मत
-
अधिकार प्राप्तिका लागि प्रदेशले संघ सरकारसँग संघर्ष गरिरहेको छ : मुख्यमन्त्री पाण्डे