मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

प्रचण्डले यसरी स्वीकारे गल्ती

मङ्गलबार, २२ माघ २०८१, १५ : ३५
मङ्गलबार, २२ माघ २०८१

म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । 

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन् । 

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्मसमीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए । 

‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ’, अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’

पार्टीले के के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बिचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । 

‘हिजो क्रान्तिको बेलामा जङ्गलमा होइन, जनताको काखमा थियौँ बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जङ्गलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौँ ।’

अहिले प्राप्त चेतना र जिम्मेवारीबोधसाथ २०६४ को जनमतबिच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने प्रचण्डको भनाइ छ । 

‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ’, प्रचण्डको भनाइ छ ।  

उनले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए । 

आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको भन्दै उनले आफ्नो कार्यकालमा भएका कामहरूको चर्चा गरे ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार संविधान र लोकतान्त्रिक भावना विपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको भन्दै संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरङ्कुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको घामजस्तै स्पष्ट भइसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप