मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? : प्रचण्ड

मङ्गलबार, २२ माघ २०८१, १५ : ०४
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकारलाई आफूले संविधान विरोधी भनेर त्यसै नभनेको बताएका छन् । 

मंगलबार म्याग्दीको बेनीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान र स्थापित नियम र मान्यता विरोधी भएको बताएका हुन् । 

‘संविधानमा प्रस्टसँग भनिएको छ– संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत लिन खोज्यो र भोटिङमा हार्‍यो भने ७६ को ३ मा गएर सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बनाउनुपर्नेछ प्रस्ट लेखिएको छ’, प्रचण्डले भने, ‘तर मैले ७६ को २ अनुसार भोटिङमा गएँ, म विजयी नभएपछि ठुलो पार्टीको नेताको नेतृत्वमा सरकार बन्नुपर्नेमा फेरि ७६ (२) अनुसार दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यसकारण यो असंवैधानिक सरकार हो ।’

उनले यसरी बनेको सरकारबारे गहिरोसँग बुझ्ने हो भने संविधान मिच्ने हिजोदेखिको केही पार्टी र नेताहरूको कोशिसको निरन्तरता भएको पनि बताए । 

‘संविधानलाई मिचेर नेपाली जनतामाथि निरंकुशता लाद्ने’, उनले यो सरकारलाई आफूले लोकतन्त्र विरोधी पनि भन्ने गरेको बताए । 

‘किनभने सामान्यतः लोकतन्त्र भन्ने सिस्टममा संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै बनाउँदैनन्’, प्रचण्डले हिन्दुस्तानमा कांग्रेस आइ र विजेपी मिलेर अहिलेसम्म सरकार नबनेको बताए । उनले मिल्नै नमिल्ने तत्त्वहरू भ्रष्टाचारको रक्षा र जनतामाथि निरंकुशता लाद्न मिलेको प्रस्ट्याए । उनले अप्राकृतिक सरकार भएको पनि बताए । 

अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमालेका अध्यक्ष ढाँट, छल, जालीझेली र फटाहा भएको पनि बताए । 

‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । स्वर्ग र नर्कका कुरा’, प्रचण्डले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन । पत्रिका छापिइसक्यो फोटो । यो कहिलेको छाप्यो भन्न सक्ने भनेपछि यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’ उनले देशका लागि यो भन्दा ठुलो दुर्भाग्य केही हुन नसक्ने भन्दै वर्तमान गठबन्धन लोकतन्त्रवादी भएको भए कांग्रेस एमालेले पार्टी कमिटीबाट निर्णय समेत नगरी बनेको बताए । ‘एमालेको केपीले जे भन्यो त्यही मान्ने । एमालेका एक जना र कांगेसका दुई तिनजनालाई मात्र थाहा छ’, उनले कांग्रेस र एमाले मिलेर सरकार बनेजस्तो लाग्ने भएपनि दलाल बिचौलिया र कमिशनखोरहरुले बनाइदिएको दाबी गरे । उनले विनोद चौधरी र रामेश्वर थापाको घरमा राति बैठक बसेर सहमति भएको भन्दै यस्तो अप्राकृतिक सरकारले दलाल र बिचौलियाको इशारामा काम गर्ने भएकाले जनताको पक्षमा नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप