विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन विस्तारमा निजी क्षेत्रको चासो
काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसनको आवश्यकता पनि बढ्दै गइरहेको छ । हाल नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । माग बढेसँगै निजी क्षेत्र पनि चार्जिङ स्टेसनको विस्तारमा लागेका छन् ।
प्राधिकरणका अनुसार देशभर करिब ६०० वटा स्टेसन बनाउन निजी क्षेत्रले अनुमति माग गरेको छ । हाल देशका विभिन्न स्थानमा करिब ५०० वटा चार्जिङ पोर्ट निजी क्षेत्रले चलाइरहेको छ । यीमध्ये अधिकांश विद्युतीय गाडी विक्रेताले आफ्नो शोरुम, सर्भिस सेन्टर र डिलरमा राखेका छन् । केही स्टेसन भने राजमार्गलाई केन्द्रित गरेर व्यावसायिक रूपमा सञ्चालन भइरहेका छन् । यसमा दिगो र इलेक्ट्रिभा जस्ता निजी क्षेत्रका कम्पनीले चार्जिङ स्टेसन निर्माणमा सघाइरहेका छन् । प्राधिकरण अनुसार पछिल्लो समय अटो क्षेत्रभन्दा बाहिरका व्यवसायीहरू पनि स्टेसनमा लगानी बढाउन आकर्षित भएका छन् ।
प्राधिकरणका पूर्वाधार विकास प्रमुख सागरमणि ज्ञवालीले पछिल्लो दुई वर्षदेखि निजी क्षेत्रले चार्जिङ स्टेसन निर्माणमा निकै जोड दिएको बताए । यतिबेला अनुमति माग गर्नेहरू लगभग सबै राजमार्ग आसपासका लागि छन् । उनले भने, ‘केही अघिसम्म गाडी कम्पनीबाट अनुमतिको लागि निवेदन आउँथ्यो । अहिले अन्य क्षेत्रका व्यवसायी बढी आकर्षित भएको पाइएको छ ।’
प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि ट्रान्सफर्मर लगायतका सुविधा दिन्छ । चार्जिङ स्टेसनका लागि २०० केभीए क्षमतासम्मका ट्रान्सफर्मर निःशुल्क वितरण गर्छ । त्योभन्दा माथिको आवश्यकता परे व्यवसायीले शुल्क तिर्नुपर्ने हुन्छ । तर बढ्दो चार्जिङ स्टेशनको मागका कारण प्राधिकरणले अनुमति मागेकालाई तत्काल दिन सकेको छैन । ज्ञवालीले भने, ‘एकै पटक धेरै निवेदन आउँदा तत्काल दिन सम्भव हुँदैन । केही ट्रान्सफर्मर स्टकमा पनि राख्नुपर्ने हुन्छ । त्यसैले अनुमति माग्नेहरूलाई बिस्तारै दिने गरेका छौँ ।’
चार्जिङ पोर्टहरूको किलोवाटका आधारमा मूल्य पर्छ । यतिबेला ६० किलोवाट क्षमताको चार्जरको मूल्य करिब १५ लाख रुपैयाँ पर्छ । चार्जिङ स्टेसन नै निर्माण गर्नका लागि भने अन्य पूर्वाधारमा थप लगानी गर्नुपर्छ । यसले गर्दा दुई वटा पोर्टसहितको चार्जिङ स्टेसन बनाउन कम्तीमा पनि ५० लाख हाराहारी लगानी पर्ने गरेको छ । पछिल्लो समय चार्जिङ स्टेशनसँगै रिफ्रेस सेन्टरसहित रेस्टुरेन्टको व्यवसायमा बढी लगानी देखिएको छ । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले विद्युतीय गाडीको बढ्दो मागसँगै यससँग जोडिएका अन्य व्यवसायमा लगानी बढ्न थालेको बताए । उनले भने, ‘राजमार्ग आसपास चार्जिङ स्टेशनसँगै रेस्टुरेन्टमा अहिले लगानी बढी देखिएको छ । चितवन आसपास मात्रै करिब १५ वटा सञ्चालनमा छन् । अहिले भइरहेको लगानी हेर्दा केही समयमा यस्ता व्यवसाय थुप्रै हुन्छन् जस्तो लाग्छ ।’
- कहाँ छन् चार्जिङ स्टेसन ?
अहिले विद्युतीय गाडी विक्रेताहरूले देशभर चार्जिङ स्टेसन र पोर्ट चलाइरहेका छन् । आफ्नो गाडी बिक्रीका लागि पनि उनीहरू चार्जिङ पोर्टमा लगानी गरेको पाइएको छ । अहिले सीजी मोटर्सले सबैभन्दा धेरै चार्जिङ पोर्ट चलाइरहेको छ । उसले देशभर २३२ वटा चार्जिङ पोर्ट चलाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
त्यस्तै टाटा मोटर्सले १२७ वटा पोर्ट सञ्चालन गरिरहेको छ । बीवाईडीले ४७, हुन्डाईले ४५, डिपललले ५०, एमजीले २३ र अमोडाले १३ वटा पोर्ट चलाइरहेको छ ।
त्यसका साथै नेपाल विद्युत् प्राधिकरणले कुरिनटार, चरौंदी, धुलिखेल, धार्के, मुग्लिङ, पारस र भरतपुर बसपार्क चितवन, खुर्कोट, बर्दिवास महोत्तरी, हरिवन सर्लाही, इनरुवा बसपार्क सुनसरी, लहान सिराहा, वीरगन्ज बसपार्क पर्सा लगायत स्थानमा चार्जिङ स्टेसन चलाइरहेको छ ।
बुटवल बसपार्क, लमही बसपार्क दाङ, कालिका फ्युल सेन्टर पोखरा, सुर्खेत बसपार्क, कोहलपुर नयाँ बसपार्क, अत्तरिया बसपार्क कैलालीमा चार्जिङ स्टेसन छन् । त्यसैगरी लम्की कैलाली, बेगनास ताल पोखरा, कुश्मा पर्वत, दमक बसपार्क, रातामाटे मकवानपुर, इटहरी, विराटनगर मोरङ र बट्टार नुवाकोटमा पनि चार्जिङ स्टेसन चलिरहेका छन् ।
त्यसैगरी, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर, बनेपा, थानकोट, साझा सेवा बल्खु र पुल्चोक, नेपाल विद्युत् प्राधिकरण रत्नपार्क, नेपाल पुलिस क्लब भृकुटीमण्डप, प्रहरी पेट्रोल पम्प सामाखुसीमा चार्जिङ स्टेसन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिकम क्षेत्रमा पूर्वाधारको औसत आयु ५ देखि ७ वर्ष मात्रै, निरन्तर घट्दै आम्दानी
-
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक