जिमेलका साढे २ अर्ब खाता ह्याकिङको खतरामा, तपाईंको पनि पर्यो कि ?
काठमाडौँ । जिमेल प्रयोगकर्ताहरूका लागि गुगलले गम्भीर चेतावनी जारी गरेको छ । जिमेलमा रहेका साढे २ अर्ब खाताहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत ह्याक हुने जोखिममा रहेको कम्पनीले पुष्टि गरेको छ । गुगल सपोर्ट एजेन्टको रूपमा पेस भएर साइबर अपराधीहरूले प्रयोगकर्ताहरूबाट संवेदनशील जानकारी प्राप्त गर्ने प्रयास गरिरहेको कम्पनीको भनाइ छ ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्समा छापिएको एउटा खबरका अनुसार ह्याकरहरूले फोन गरेर गुगल अकाउन्ट ह्याक भएको भन्दै प्रयोगकर्ताहरूलाई रिकभरी कोड पठाइरहेका छन् । ह्याकरहरूले पठाएका इमेल र रिकभरी कोडहरू पूर्ण रूपमा वास्तविक देखिन्छन् । त्यसैले प्रयोगकर्ताहरू सजिलै उनीहरूको पासोमा पर्न सक्ने बताइएको छ ।
आफ्नो खाता सुरक्षित राख्न के गर्ने ?
शङ्कास्पद फोन वा इमेल प्राप्त गर्नुभएको छ भने यसलाई बेवास्ता गर्नुहोला । गल्तीले रिकभरी कोड प्रयोग गर्नुभयो भने पनि तुरुन्तै आफ्नो जिमेल पासवर्ड परिवर्तन गर्नुहोस् । पासवर्ड परिवर्तन गर्न, आफ्नो एन्ड्रोइड उपकरणको सेटिङमा जानुहोस् ।
–अब गुगल अप्सनमा ट्याप गर्नुहोस् अनि आफ्नो नाम छान्नुहोस् ।
–म्यानेज योर गुगल एकाउन्टमा क्लिक गर्नुहोस् ।
–माथि रहेको सुरक्षा ट्याबमा जानुहोस् ।
–हाउ टू साइन इन टू योर गुगल एकाउन्टमा गएर पासवर्ड विकल्पमा क्लिक गर्नुहोस् ।
–नयाँ पासवर्ड हाल्नुहोस् अनि चेञ्ज पासवर्डमा थिच्नुहोस् ।
–तपाईंले आफ्नो पासवर्ड बिर्सनुभएको छ भने फर्गट माई पासवर्ड अर्थात् मैले मेरो पासवर्ड बिर्सिएमा ट्याप गर्नुहोस् अनि स्क्रिनमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस् ।
जिमेललाई अझ सुरक्षित बनाउने तरिका
आफ्नो जिमेल खाताको सुरक्षा बढाउन, टू–फ्याक्टर अथेन्टिकेसन (२एफए) अपनाउनु होस् । यसलाई अपनाउँदा ह्याकरहरूले तपाईंको पासवर्ड पाए नै भने पनि तपाईंको खातामा पहुँच गर्न सक्ने छैनन् ।