हेड र सदरल्याण्डलाई शीर्ष अवार्ड
मेलबर्न । क्रिकेट अस्ट्रेलियाले सन् २०२५ को वार्षिक अवार्डको घोषणा गरेको छ । मेलबर्नको क्राउन क्यासिनोमा सोमबार आयोजित कार्यक्रममा बोर्डले आफ्ना खेलाडीहरूलाई सम्मानित गरेको हो ।
ओपनर ट्राभिस हेडलाई सबैभन्दा ठुलो अवार्ड एलन बोर्डर मेडलबाट सम्मानित गरियो । हेडले २०८ मत प्राप्त गर्दै अवार्ड हात पारे । उनले जोश हेजलवुड (१५८ मत) र कप्तान प्याट कमिन्स (१४७ मत) लाई पछि पारे ।
उनले भने, ‘यो विश्वास गर्न नै गाह्रो भइरहेको छ । गत वर्ष मेराका लागि शानदार रह्यो । क्रिकेटका तीनवटै फर्म्याटमा देशको प्रतिनिधित्व गर्न पाउनु म भाग्यमानी ठान्दछु ।’
त्यस्तै, अलराउन्डर एनाबेल सदरल्याण्डले बेलिन्डा क्लार्क अवार्ड पाइन् । उनले १६८ मत पाउँदा एश्ले गार्डनरले १४३ मत पाइन् । एलन बोर्डर मेडल र बेलिन्डा क्लार्क अवार्ड क्रिकेट अस्ट्रेलियाको सबैभन्दा ठुलो अवार्ड हो । यसलाई अम्पायर, खेलाडी र मिडियाको मतको आधारमा दिइन्छ ।
हेड वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी पनि चुनिए । उनले यसमा विकेटकिपर एलेक्स केरीलाई पछि पारे । महिलातर्फ एस्ले गार्डनरले यो अवार्ड जितिन् ।
तीव्र गतिका बलर जोश हेजलवुड शेन वार्न मेन्स टेस्ट प्लेयर अफ द ईयर चुनिए । एडम जाम्पा वर्षको उत्कृष्ट टी–२० खेलाडी बने भने बेथ मुनीले महिलातर्फ यो अवार्ड जितिन् ।
ब्यू वेबस्टर मेन्स डोमेस्टिक प्लेयर अफ द इयर बन्दा जर्जिली बेलीले महिलातर्फको अवार्ड हात पारिन् । साम कोन्टास र क्लोई एन्सवर्थ पुरुष र महिलातर्फ उत्कृष्ट युवा खेलाडी घोषित भए ।