मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगर : बाल विकास कक्षामा  ९७१ जना भर्ना, ८ करोड ६५ लाख निकासा

मङ्गलबार, २२ माघ २०८१, ११ : २४
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन् । 

यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन् । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन् । 

सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको विद्यालय कन्या माध्यमिक विद्यालय न्होखामा ६५ जना छात्रा छन् । ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय, कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भए । यस्तै नीलवाराही माध्यमिक विद्यालय, टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय, व्रह्मटोल, सितला माध्यमिक विद्यालय, बालाजु हरेकमा ४० / ४० बालबालिका भर्ना भएका छन् । 

प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँगको स्कुल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकहरूको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो । 

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल विकासका कक्षाहरूको स्तर वृद्धिमा काम भइरहेको छ । यसअन्तर्गत विद्यार्थीहरूको सङ्ख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ । 

यस्तै शिक्षकहरूलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको महानगरले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप