मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

जिम्मेवारीको बोझले थिचिएको पुरुष

मङ्गलबार, २२ माघ २०८१, ११ : ०५
मङ्गलबार, २२ माघ २०८१

जग्गा किन्ने वा बेच्ने, घर बनाउने वा नबनाउने, ऋण लिने वा दिने, छोराछोरी विदेश पठाउने वा नपठाउनेजस्ता ठुला र महत्त्वपूर्ण निर्णय गर्ने जिम्मेवारी पुरुषको हुन्छ । त्यसको जोखिम उसैले उठाउनुपर्छ । राम्रो–नराम्रोको भागिदार आफैँ हुन्छ । परिवार र समाजले उसलाई त्यो जिम्मेवारी सुम्पेको छ । त्यसबाट ऊ भाग्न सक्दैन । त्यति मात्र होइन जागिर खाने, कमाउने र परिवार पाल्ने प्रमुख दायित्व उसैको हो । मानौँ त्यसको ठेक्का उसैलाई मात्र परेको छ । 

पुरुष हरेक समास्यासँग मुकाबिला गर्छ । समस्या पर्दा रुनु हुँदैन भनेको छ समाजले । रुँदैन ऊ रोए पनि लुकेर रुन्छ । सकेसम्म दुःख अरुलाई देखाउँदैन । परिवारको खुसीका लागि हरप्रयास गर्छ । तनावले अनुहार चाउरिन्छ । कपाल झरेर तालुखुइले हुन्छ । तनाव भुल्न रक्सी र चुरोटको सहारा लिन्छ । 

लोग्ने मान्छे खुसी हुने भनेको केटाकेटी हुँदा मात्रै हो । विवाहपछि उसका खुसी खोसिन्छन्, लुटिन्छन् । श्रीमती, छोराछोरी र परिवारका आवश्यकता पूरा गर्दैमा उसलाई ठिक हुन्छ । लाग्छ, उसको जिन्दगी अरुका लागि मात्रै हो । तनावका कारण उसको अनुहारको चमक खोसिन्छ । हर समस्याको समाधान उसैले निकाल्नुपर्छ । लोग्ने मान्छे लाछी हुन सक्दैन । त्यति मात्र होइन कुरा पक्का गर्नुपर्छ । बोली फेर्न पाउँदैन । अन्यथा ‘बोली फेरिस् भने यस्तो–उस्तो हुनेछ !’ जस्ता कुरा उसले सुन्नुपर्छ ।

कुनै समय थियो— खेतबारी, परालको माच हेरेर छोरी दिने वा नदिने निर्णय हुन्थ्यो । विशेषतः उब्जनीले खान पुग्छ कि पुग्दैन भन्ने हेरिन्थ्यो । प्रशस्त खेतीपाती नभए छोरी नदिने चलन थियो । अहिले समय फेरिएको छ— केटाको इलम र जागिर के हो ? विवाहको कुरो चलाउँदा केटी पक्षबाट सोधिने प्रश्न हो यो । केटो जागिरे हो वा व्यापार–व्यवसाय गर्छ वा विदेश छ भने मात्र सकारात्मक जवाफ आउँछ । केटी वा उसका पक्षले माथिल्लो हैसियतको केटा खोज्छन् । केटाले आफूसरह वा सोभन्दा तल्लो हैसियतको केटी पनि स्वीकार गर्छ । रोजगारयुक्त केटाले बेरोजगार केटी पनि बिहे गर्छ तर केटीले कम हैसियतको वा बेरोजगार केटासँग विवाह गरेका उदाहरण कमै छन् । श्रीमतीले श्रीमान् र परिवारको जिम्मेवारी बोकेको सायदै भेटिन्छ । केटीले केटा र परिवारलाई पाल्छे भन्ने कल्पना अहिले पनि समाजले गर्दैन, पत्याएको छैन । 

मेरो लेखाइलाई पितृ सत्तात्मक सोच भन्नुहुन्छ भने पनि स्वीकार छ मलाई । समाजको वास्तविकता पनि यही हो । श्रीमती रोजगारयुक्त वा माथिल्लो हैसियतको तर लोग्ने बेरोजगार वा तल्लो हैसियतको भए हालत के होला ? 

मेरो लेखाइलाई पितृ सत्तात्मक सोच भन्नुहुन्छ भने पनि स्वीकार छ मलाई । समाजको वास्तविकता पनि यही हो । श्रीमती रोजगारयुक्त वा माथिल्लो हैसियतको तर लोग्ने बेरोजगार वा तल्लो हैसियतको भए हालत के होला ? कल्पना गर्नुस् त ? पक्कै पनि घरको वातावरण समधुर हुँदैन । समान हैसियत जेनतेन स्वीकार हुन्छ । अन्यथा असमान हैसियत भए विकल्प खोज्छन् केटी मान्छेले । लोग्ने मान्छेलाई त्यो छुट छैन । कमजोर  र बेरोजगार श्रीमती भए पनि उसले आफ्नो भाग्यलाई दोष लगाउँदै बाँच्नका लागि संघर्ष गर्छ । कानुनले पनि केटालाई त्यो छुट दिँदैन । केटीलाई अदालत र कानुनले समेत त्यो छुट दिन्छ । 

हुन त विगत परम्परागत थियो । पितृ सत्तात्मक समाज थियो । इतिहासको कालखण्डमा पनि अरनिको कालिगड काम गर्न बेइजिङ पुगे ! मुनालाई छाडेर मदन कमाउन लासा पुगे ! बेलायती सेना र भारती सेनामा भर्ती भए, लाहुर गए । यी केवल ऐतिहासिक उदाहरण हुन् । वर्तमान पनि त्योभन्दा भिन्न छैन । पुरुषलाई समग्र घर–परिवारको बोझले थिचेको हुन्छ । केही गर्नैपर्छ, नगर्ने छुट पाउँदैन उसले । 

महिलाले घरायसी काम गर्ने र पुरुषले कमाउने तथा घर बाहिरका काम गर्ने संस्कार थियो । संस्कार अघोषित रुपमा सामाजिक नियममा परिणत भयो । पुरुषले त्यो बन्धनबाट मुक्ति पाएन । पाल्ने, कमाउने र जिम्मेवारीको बोझ बोक्ने पुरुषलाई नै ठानियो । त्यो धर्म उसले निभाउनैपर्छ । महिलाहरू बिस्तारै घरबाहिर निस्कन थाले । संविधानले पनि अधिकार दियो । समाज परिवर्तन भई महिलाहरू पनि सक्षम भए । बुझ्नेले श्रीमान्–श्रीमती रथका दुई पाङ्ग्रा भन्छन् तर महिलाको पाङ्गो बलियो भयो भने घर बिग्रन्छ रे ! पुरुषको पाङ्ग्र्रो बलियो भयो भने जेनतेन घर–व्यवहार चल्छ रे ! दुवै समान भए सुनमा सुगन्ध हुन्छ । भाग्यमानी पुरुषहरूले मात्र त्यस्तो अवसर पाउँछन् । 

पुरुष आफ्ना इच्छा–चाहनालाई मारेर भए पनि परिवारका लागि काम गर्छ । च्यात्तिएका जुत्ता र मोजा लगाएर छोराछोरी र श्रीमतीका आवश्यकता पूरा गर्छ । उनीहरूको खुसी नै आफ्नो खुसी ठान्छ । पुरुषको जति दबाब महिलालाई परेको हुँदैन । सकेसम्म लोग्नेमान्छेले श्रीमतीको कमाइ खाँदैन । खायो भने पनि समाजले उसको कुरा काट्छ । केटी मान्छेको कमाई ‘मेरो’ हुन्छ । पुरुषको कमाई परिवारको हुन्छ । पुरुष परिवारका लागि बाँचेको हुन्छ । कानुनी वा गैरकानुनी उपाय खोज्छ कमाउन, अनेक गर्छ । 

आफ्नो घर–परिवार र छोराछोरीका लागि केही न केही गर्नैपर्छ । त्यो दायित्व र बोझ उसले बोक्नुपर्छ, नबोकी सुख छैन । जिम्मेवारी र दायित्वको बोझले थिचिएको पुरुषलाई बोझ धान्न र सहन गर्ने क्षमता बढाउन परिवार र समाजले प्रत्यक्ष र अप्रत्यक्ष तालिम दिइरहन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विदुरप्रसाद दाहाल
विदुरप्रसाद दाहाल
लेखकबाट थप