मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश कृषि मन्त्रालय

४५ लाख खर्चेर बनाइयो ‘खोरेँत नियन्त्रण रणनीति’

इलामलाई खोरेँत मुक्त बनाउन तीन वर्षमा झन्डै ८५ करोड खर्च गर्नुपर्ने
मङ्गलबार, २२ माघ २०८१, ०९ : १०
मङ्गलबार, २२ माघ २०८१

विराटनगर । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले स्विस सरकारद्वारा सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)सँगको सहकार्यमा झन्डै ४५ लाख रुपैयाँ खर्च गरेर ‘खोरेँत रोग नियन्त्रण रणनीति’ तयार पारेको छ । 

यद्यपि उक्त रणनीति प्रतिवेदन अझैसम्म सार्वजनिक गरिएको छैन । प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा इलाम जिल्लालाई खोरेँत मुक्त पार्ने अभियान चलाएको छ । तत्कालीन उद्योग, कृषि तथा सहकारीमन्त्री रहेका रामकुमार खत्रीको पालामा यो अभियान अगाडि बढेको हो । चालू आर्थिक वर्षदेखि नै खोरेँत मुक्त गर्न भन्दै १२ करोड रुपैयाँ बजेट प्रदेश सरकारले छुट्याएको छ । 

तर, प्रदेशलाई नै खोरेँत मुक्त बनाउन अगाडि बढ्ने तथा तत्कालका लागि इलाम जिल्लालाई खोरेँत मुक्त बनाउन लिनुपर्ने आवश्यक रणनीति बनाउनु पर्ने भन्दै उक्त प्रतिवेदन बनाउन सहज परियोजनालाई जिम्मा दिइएको थियो । प्रतिवेदन बनेर भुक्तानी पनि सोही परियोजनाबाट भएको स्रोत दाबी गर्छ । 

मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डाक्टर गंगाराम यादवले रणनीति निर्माण सम्पन्न भएको तर, मन्त्रालयले अझै प्रतिवेदन नबुझेको बताए । खर्चको पूर्ण विवरण आफूले थाहा नपाएको यादवले बताए । 

स्रोतले दिएको जानकारी अनुसार उक्त रिपोर्ट बनाउन ४५ लाख भुक्तानी भएको छ । ‘उनीहरुले १४ वटासम्म वर्कसप पनि गरेका थिए । विज्ञहरुबाटै अनुसन्धान गराएको हुँदा खर्च बढेको हुनसक्छ । मलाई थाहा भएसम्म ४० लाख आसपासमा खर्च भएको छ,’ यादवले भने । खोरेँत नियन्त्रण रणनीतिक योजना बनाउँदा नै बढी खर्च भयो कि भन्ने प्रश्नमा उनले भने, ‘उनीहरु (सहज)ले कन्सल्टेन्ट हायर गरेर गरेका हुन् । त्यसो हुँदा अलिक बढी रकम देखिन गएको हो । उनीहरुले अध्ययन गरेर अंग्रेजीमा प्रतिवेदन बुझाएका छन् । 

नेपालीमा अनुवाद गरेर दिन भनेका छौँ । त्यसपछि मन्त्रालयले बुझ्छ,’ यादवले भने, ‘उहाँहरूले १४ स्थानमा वर्कसप नै गर्नुभएको छ । त्यसकारण पनि खर्च बढेको होला ।’

तीन वर्षको अवधिको कार्यक्रम र गतिविधिका लागि ५८ करोड ४० लाख ५० हजार, परियोजना व्यवस्थापन इकाईको लागि ४ करोड ६१ लाख ५६ हजार र आकस्मिक वा विविध लागत भनेर २ करोड ६५ लाख ८ हजार गरी कूल ६५ करोड ९४ लाख ९ हजार रुपैयाँ अनुमानित बजेट लाग्नसक्ने उल्लेख छ ।

खोरेँत रोग नियन्त्रण रणनीति भने स्टार भेटेरिनरी सेवा तथा परामर्श केन्द्र, बुढानिलकण्ड काठमाडौंले निर्माण गरेको हो । सो परामर्शदाताले विज्ञहरू डाक्टर धनराज रतला, डाक्टर रेबतीमान श्रेष्ठ र बोधनाथ अधिकारी तथा डाक्टर अच्युतदेव भट्टको विज्ञ समूहको सहयोग लिएको रणनीतिक प्रतिवेदनमा उल्लेख छ । रणनीति निर्माणको क्रममा विभिन्न जिल्लामा पुगेर १७१ जनासँग परामर्श गरिएको उल्लेख छ । 

प्रतिवेदनमा खोरेँत नियन्त्रण गर्न सके साना तथा व्यावसायिक कृषकहरूले लाभ पाउने, डेरी र मासुजन्य उत्पादन बढ्ने उल्लेख छ । 

तीन वर्षको अवधिको कार्यक्रम र गतिविधिका लागि ५८ करोड ४० लाख ५० हजार, परियोजना व्यवस्थापन इकाईको लागि ४ करोड ६१ लाख ५६ हजार र आकस्मिक वा विविध लागत भनेर २ करोड ६५ लाख ८ हजार गरी कूल ६५ करोड ९४ लाख ९ हजार रुपैयाँ अनुमानित बजेट लाग्नसक्ने उल्लेख छ । यस्तै संघ सरकारले ३५ प्रतिशत, प्रदेशले ५५ प्रतिशत र स्थानीय सरकारको कोषको हिस्सा १० प्रतिशत हुने उल्लेख छ । अन्य विभिन्न खर्च गरेर झन्डै ८५ करोड खर्च हुनसक्ने पशु विकास अधिकृत डा. यादव बताउँछन् । 

कोशी प्रदेशमा गाईवस्तु १२ लाख ८९ हजार ३०६, भैँसी ३ लाख ६५ हजार ३३, भेडा ३९ हजार ७१, बाख्रा ३२ लाख १८ हजार ९८६ वटा, सुँगुर ७ लाख ८० हजार ७११ वटा, याक र चौँरी १२ हजार ७०९ वटा गरी कूल ५७ लाख ५ हजार ८१६ वटा रहेको कृषि जनगणना तथ्याङ्क २०७८ मा उल्लेख छ । 

अमेरिकामा एक किलोको छुर्पीको १२–१३ हजारसम्म पर्छ । तर, नेपाली किसानले १ हजार रुपैयाँ प्रतिकिलो विक्री गर्नुपर्ने बाध्यता छ । खोरेँत मुक्त बनाउन सक्यौं र सिधै पठाउन सक्ने अवस्था भयो भने नेपाली किसानले प्रतिकिलो न्यूनतम ५ हजार रुपैयाँसम्म पाउन सक्ने अवस्था छ,’ यादवले भने । 

प्रतिवेदनले भारतीय सिमानाबाट हुने जनावरको अवैध व्यापार बन्द गर्नुपर्ने, उदयपुरमा खोरेँतको उच्च जोखिम रहेको, पशुसँगसम्बन्धीत यातायातका साधनहरू निर्बाध आवतजावत गर्ने गरेकोले नियन्त्रण गर्नुपर्ने, पशुधन र पशुजन्य उत्पादनको उचित परीक्षण गर्नुपर्नेलगायतका सुझाव दिएको छ । रणनीतिक लक्ष्य, रणनीतिक फ्रेमवर्क र कार्यान्वयनका रणनीतिहरू प्रतिवेदनमा सुझाइएको छ । उक्त रणनीतिमा २०३० सम्ममा कोशी प्रदेशका सबै चौपायालाई खोप लगाइसक्ने पनि उल्लेख छ । 

डाक्टर यादवका अनुसार मन्त्रालयले पशुसेवा कार्यालयमार्फत नयाँ कार्यक्रम बनाएर खोरेँत मुक्त गर्ने कार्यक्रम संचालन गर्न लागेको हो । इलामलाई खोरेँत मुक्त क्षेत्र बनाउने कार्यक्रम सुरु भइसकेको छ । जसका लागि प्रदेश सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । इलामका तीन लाखबढी गाई र भैँसीमा गत भदौ–असोजमा १ पटक खोप लगाइसकिएको छ भने अब फागुन चैतमा पुनः लगाउने तयारी छ । खोरेँत मुक्त बनाउन प्रत्येक वर्षमा दुई पटक खोप लगाउनु पर्छ । 

खोरेँत मुक्त गर्न सके र नेपालको डेरी उत्पादनहरू सिधै विदेश निर्यात गर्न सके अहिलेको भन्दा ५ गुणा बढी आम्दानी किसानले पाउने यादव दाबी गर्छन् । ‘अमेरिकामा एक किलोको छुर्पीको १२–१३ हजारसम्म पर्छ । तर, नेपाली किसानले १ हजार रुपैयाँ प्रतिकिलो विक्री गर्नुपर्ने बाध्यता छ । खोरेँत मुक्त बनाउन सक्यौं र सिधै पठाउन सक्ने अवस्था भयो भने नेपाली किसानले प्रतिकिलो न्यूनतम ५ हजार रुपैयाँसम्म पाउन सक्ने अवस्था छ,’ यादवले भने । 

रणनीतिमा पशुस्वास्थ्य सङ्गठनले दिएका सुझाव र प्रावधानहरू उल्लेख छ । यस्तै खोरेँत नियन्त्रण गर्नका लागि के के गर्नुपर्छ भन्ने कुरा त्यहाँ उल्लेख छ । जस्तै चेकपोष्ट बनाउने, इलामभन्दा बाहिरबाट लगिने चौपायाको चेकजाँच गर्ने, जनचेतनामूलक कार्यक्रमहरू गर्नेलगायतका विषय रिपोर्टमा उल्लेख छ । प्रदेशका सबै जिल्लामा खोप संचालन गर्ने भएपनि मुक्त बनाउनका लागि चाहिँ इलाममै केन्द्रित हुने यादवले बताए । 

खोरेँत मुक्त नगरेको खण्डमा कुनै पनि बेला नेपालको छुर्पी विदेश निर्यात बन्द हुनसक्ने र त्यसले डेरी क्षेत्रमा ठूलो समस्या पैदा हुनसक्ने यादव बताउँछन् । यस्तै केही महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको भैँसीको मासु निर्यातको सम्झौता पनि कार्यान्वयनमा आउन खोरेँत मुक्त गर्नुपर्ने उनले बताए । इलाममा तीन वर्षयता खोरेँत रोग देखा परेको छैन । अहिले नेपालमा उत्पादित छुर्पी भारत जाने र त्यहाँबाट छाप लागेर अमेरिका जाने गरेको यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप