मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

आजदेखि एचपीभी खोप अभियान : कहाँ गएर लगाउने ?

मङ्गलबार, २२ माघ २०८१, ०६ : ३८
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । 

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ । 

यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । 

यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने सरकारी अधिकारीले बताएका छन् ।  

३० वर्ष उमेरका महिलालाई पाँच–पाँच वर्षमा पाठेघर मुख क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ । ती महिलामा क्यान्सर छ भने कम्तीमा ९० प्रतिशतको सफल उपचार हुन्छ । 

खोप कहाँ लगाउने ?

विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने डा. गौतम बताउँछन् । 

एचपीभी खोप भनेको के हो ?

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेको डा. अभियान बताउँछन् । 

एचपीभी भनेको के हो ? 

एचपीभी भनेको भाइरस हो । यसमा दुई सयभन्दा बढी प्रजातिका भाइरस छन् । तीमध्ये पनि १६ देखि १८ प्रजातिका भाइरसले क्यान्सर गराउँछन् । त्यसमध्ये पाठेघर मुखको क्यान्सर गराउने भाइरस चार थरी रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्ण सागर शर्मा बताउँछन् । नेपालमा पनि सोही विरुद्ध खोप अभियान सुरु गरिएको उनको भनाई छ । 

‘ह्युमन प्यापिलोमा भाइरसका कारणको कारणले हुने पाठेघरको मुखको क्यान्सर हुन्छ,’ उनले भने, ‘भाइरस संक्रमण हुनु अगावै खोप लगाउने आवश्यक छ । यी भाइरसहरू प्रमुख गरी शारीरिक सम्बन्धबाट सर्ने भएकाले शारीरिक सम्बन्ध राख्नु पहिला नै खोप लगाएमा प्रभावकारी हुन्छ ।’ 

पाठेघर मुखको क्यान्सर गराउने भाइरस पुरुषले पनि ‘क्यारी’ गर्ने तर महिलामा संक्रमित हुने भएकाले महिलालाई खोप लगाउने गरिन्छ । तर विकसित मुलुकमा यो खोप पुरुषलाई पनि लगाइन्छ । पाठेघरको मुखको क्यान्सर ३० वर्षपछि देखिने गर्छ । त्यसकारण अहिले लगाइएको एचपीभी खोपको असर ३० वा ३५ वर्ष  पछि देखिने डा. शर्माको भनाई छ । उनले भने, ‘३५ देखि ५५ वर्ष उमेर समूहमा पाठेघरको मुखको क्यान्सर देखिन्छ तर त्यही भएर आज लगाउँदा ३० वर्ष पछि यसको प्रभावकारिता देखिन्छ ।’ 

खोप लगाएमा देखिने ‘साइड इफेक्ट’

खोप लगाउँदा सामान्य असर देखिन सक्छ । तर यसको गम्भीर ‘साइड इफेक्ट’ नरहेको चिकित्सक बताउँछन् । डा. शर्माका अनुसार कहिलेकाहीँ बच्चा सियो देखेर डराउने, केही प्यानिक हुने हुन्छन् । 

यसका साथै खोप लगाएको ठाउँमा दुख्ने हुन्छ । दुखाइका कारणले कहिलेकाहीँ ज्वरो पनि आउन सक्ने डा. शर्माको भनाई छ । यस्ता लक्षण सामान्य रहेकोले नडराउन र खोप अनिवार्य लगाउन उनी सुझाउँछन् । ‘चितवनमा १२ देखि १३ हजार बालिकालाई खोप लगाउँदा दुई–चार जनालाई दुख्ने र ज्वरो आउने देखिएको थियो,’ उनले भने, ‘यो सामान्य हो ।’

खोप कति उपलब्ध छ ? 

देशभरका १६ लाख ८८ हजार किशोरीलाई खोप लगाउन १७ लाख ७० हजार २० डोज खोप छ । यो सबैलाई पुग्ने सरकारी दाबी छ । यो खोप एक मात्रमा लगाउने भएकाले संख्या अनुसार नै खोप स्थानीय तहमा पुर्‍याइएको डा. गौतमको भनाई छ । 

‘एचपीभी खोप एक मात्रा डोज लगाउनुपर्छ । एक मात्रा लगाए जीवनभर पुग्छ ।’ उनले भने, ‘त्यही भएर हामीले एक मात्रा लगाउने भनेर अभियान चलाउँदै छौँ । देशभर यो खोप पुग्छ ।’ 

पाठेघर मुखको क्यान्सरको अवस्था 

देशभर पाठेघर मुखको क्यान्सर भएका संख्या करिब २२ सय छ । २ हजार १४९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित रहेको सरकारी तथ्यांक छ । यो संख्या वार्षिक हो । तीमध्ये करिब १३ सय जनाको बर्सेनि मृत्यु हुन्छ । सुरुमा परीक्षण गरेर पहिचान हुन सके बचाउन सकिन्छ । ढिलो पहिचान भए बचाउन सकिने अवस्था रहँदैन वा मुस्किल हुने अध्ययनले देखाएको छ । 

पाठेघर मुखको क्यान्सरमा एचपीभी खोपले कसरी काम गर्छ ? 

यो खोप भाइरस संक्रमणविरुद्ध हो । पाठेघर मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसलाई मानिन्छ । यो भाइरसको संक्रमणबाट जोगाउँछ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमण एक न एकपटक हुन्छ नै । लामो समयसम्म संक्रमण भइरहँदा संक्रमणबाट हुने घाउबाट क्यान्सरमा परिणत हुन्छ । 

यो खोपको काम नै ह्युमन प्यापिलोमा भाइरस संक्रमण रोक्ने हो । यसले गर्दा भोलि हुने क्यान्सर रोक्ने हुन्छ । १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने भनिएको हो । यो उमेरका किशोरी ६ कक्षादेखि १० कक्षासम्म पढ्नेछन् ।  हामी यो वर्ष देशभर अभियानका रूपमा लगाउनेछौँ । अर्को वर्षदेखि नियमित खोप तालिकाअनुसार खोप लगाउनेछौँ । हरेक वर्ष फागुनमा खोप लगाउनेछौँ । नेपालको राष्ट्रिय खोप तालिकामा अपडेट गरेका छौँ । 

खोप निःशुल्क हो ?

डा. गौतमका अनुसार सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ । यो अन्य देशले लगाइरहेका छन् । विश्व स्वास्थ्य संस्थाले मान्यता दिएको छ । औषधि व्यवस्था विभागले मान्यता दिएको छ । 

खोप लगाउने आगामी माघ महिना तोकिएको छ । यो समयबाहेक लगाउन खोज्नुभयो भने खोप नपाइन सक्छ । पाठेघर मुखको क्यान्सर मात्रै होइन, अन्य क्यान्सरबाट पनि जोगाउँछ । सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ ।

प्रदेश अनुसार खोप लगाउने किशोरीको विवरण:

p1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप