बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
समाचार

पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने

सोमबार, २१ माघ २०८१, २१ : २४
सोमबार, २१ माघ २०८१

काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । 

मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए ।  उनले भने, ‘आज टंगोमा पुग्न सकिएन । भोलि ११ बजे पुनः वार्ता गरौँ भनेका छौँ ।’

संयोजक तुम्याहाङले आफूहरूले तत्कालका लागि तीन कुरा राखिए पनि सरकारी पक्ष सहमत नभएको बताए । उनले भने, ‘हामीले एक नम्बरमा केबलकार निर्माण कार्य अहिलेका लागि स्थगित गर्ने, अर्को वार्ता समूहलाई स्थगन गर्ने, तेस्रो जति  पक्राउ पर्नुभएको छ, उहाँहरू सबैलाई छाड्ने र बाँकी घाइतेहरूको उद्धार गर्ने भनेका हौँ । तर त्यो कुरामा उहाँहरू सहमत हुनुभएन ।’ 

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

यता, आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ । सोमबार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति गठन गरिएको हो । समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सह) रहेका छन् । 

मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप