काठमाडौँ । आगामी चैत्र १५ गते रिलिज हुने फिल्म ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा राजनराज सिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।
गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ । गीतको संगीत संयोजन राजन ईशानले गरेका हुन् । सौरभ लामाको छायांकन रहेको गीतमा नृत्य निर्देशन कविराज गहतराजको छ ।
गीतमा उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, मुरी अन्न, डोको जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग भएको छ । जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ ।
यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले फिल्म थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने सङ्केत गरेको थियो । गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा आर्यन र अञ्जनाको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।
प्रतिक्रिया