मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

दुःखी आत्माको ट्रेलर : ‘मलाई कविता होइन कवि चाहिएको हो’

सोमबार, २१ माघ २०८१

काठमाडौं । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौँदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो बुझ्न सकिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय छ ।

क्लर्क वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया