५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत
काठमाडौँ । सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुवाँ उत्सर्जन मापदण्ड विपरीत पाइएको छ । काठमाडौँ महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदूषण चेकजाँचका क्रममा ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत भेटिएको महानगरपालिकाले सोमबार जानकारी दिएको हो ।
चेकजाँच गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१ वटा चेकजाँच गर्दा ३२२ वटा फेल भेटिएका हुन् । यसरी हेर्दा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारी साधनहरू मापदण्ड विपरीत छन् ।
सवारी साधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरपालिकाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा फेल भएका सवारी साधनहरूलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ । प्रदूषण नियन्त्रणका लागि पुस २९ गतेदेखि चेतनात्मक कार्यक्रम थालिएको र यो नियमित चलिरहेको महानगरको भनाइ छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनहरूलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ ।
अहिलेसम्ममा कुलेश्वर, कमलपोखरी, बनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारी साधनहरूमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् ।
परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको छ ।
सवारी साधन चेकजाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
-
जुम्लामा आगलागी हुँदा दुई घर नष्ट