सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
माओवादी पदाधिकारी बैठक

पूर्वउपराष्ट्रपति पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी

अग्नि र पम्फाको किन खोसियो जिम्मेवारी ?
सोमबार, २१ माघ २०८१, १८ : ४५
सोमबार, २१ माघ २०८१

काठमाडौँ । लामो समयदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीमा जिम्मेवारी दिने चर्चा चले पनि नेकपा माओवादी केन्द्रले अझै यस विषयमा निर्णय गर्न सकेको छैन । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पनि यसबारे कुनै निर्णय गरेन ।

पासाङ गत कात्तिक २६ गतेदेखि माओवादीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षको जिम्मेवारी दिने आश्वासन दिएको चर्चा छ । यसअघि, पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा उनको जिम्मेवारी सर्कुलरमार्फत तोकिने अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए । 

आजको बैठकले केही पदाधिकारीको जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्दा पासाङको विषयमा भने कुनै निर्णय नभएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । उनलाई जिम्मेवारी दिने विषयमा छलफल बाँकी नै रहेको उपमहासचिव हरिबोल गजुरेलले बताए । ‘पासाङजीलाई दिइने जिम्मेवारीबारे बैठकले कुनै निर्णय गरेको छैन । छलफल बाँकी नै छ । उहाँ अहिले आमन्त्रित सदस्यका रूपमा बैठकमा आइरहनुभएको छ । सायद अर्को बैठकले निर्णय गर्ला । आन्तरिक र बाहिरी अवस्था मूल्यांकन गरेर पार्टीले निर्णय गर्छ,’ रातोपाटीसँग गजुरेलले भने ।

बैठकमा पासाङले आफूलाई पार्टीमा ‘कृषि तथा उत्पादन विभाग’को जिम्मेवारी दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावबारे नेताहरू सकारात्मक रहेको बताइएको छ ।

उपमहासचिव शक्ति बस्नेतले पासाङलाई उपाध्यक्ष वा अन्य जिम्मेवारी दिने विषयमा छलफल भएको तर निर्णय नभएको रातोपाटीलाई बताए । यद्यपि पासाङलाई यस विषयमा सबै पदाधिकारी सकारात्मक नै रहेको बस्नेतले दाबी गरे ।

‘पासाङजीलाई उपाध्यक्ष बनाउन वा कुनै जिम्मेवारी दिने विषयमा सबै पदाधिकारी सकारात्मक छन् । यसबारे बैठकमा छलफल पनि भयो तर निर्णय भएको छैन । अर्को बैठकले निर्णय गर्ला,’ उनले भने ।

राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरी पार्टीको सक्रिय राजनीतिमा आउने चर्चाले बाहिर राम्रो सन्देश नभएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले तीव्र आलोचना गरेका थिए । तीव्र आलोचना भएपछि अध्यक्ष प्रचण्डले पासाङलाई आफूले बोलाएको नभई उनी आफै आएको जिकिर गरेका थिए । 

पदाधिकारीमा जिम्मेवारी हेरफेर

पदाधिकारी बैठकले संघीय राजधानीसमेत रहेका बागमती प्रदेशका इन्चार्ज रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको जिम्मेवारी खोसिएको छ । सापकोटाको स्थानमा सचिव हितमान शाक्यलाई ल्याइएको छ । त्यस्तै प्रवासतर्फ एसियाका प्रदेशकी इन्चार्ज पम्फा भुसालको जिम्मेवारी खोसेर सहइन्चार्ज ओम शर्मालाई इन्चार्ज बनाइएको छ । 

कोशी प्रदेशका इन्चार्ज उपमहासचिव हरिबोल गजुरेलको जिम्मेवारी यथावत छ । यसअघि मधेस प्रदेशका इन्चार्ज रहेका सचिव लीलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेशको जिम्मेवारी दिइएको छ । पोखरेलको ठाउँमा उपमहासचिव मात्रिकालाई जिम्मेवारी दिइएको छ । 

गण्डकी प्रदेशको इन्चार्ज सचिव दीनानाथ शर्मालाई यथावत् राखिएको छ । यसै गरी लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई यथावत् राखिएको छ । 

गैर प्रदेशतर्फ उपत्यका विशेष प्रदेशमा स्थायी समिति सदस्य जयपुरी घर्ती, दक्षिण एसिया प्रदेशमा लक्ष्मण पन्तले इन्चार्जको जिम्मेवारी पाएका छन् । अमेरिका युरोप प्रदेशमा राम कार्कीलाई यथावत् राखिएको छ । 

यसै गरी जवस/मोर्चा, विभागका इन्चार्ज, केन्द्रीय सदस्यहरूको जिम्मेवारीको विषयमा लगभग टुंगिएको बताइएको छ ।

‘जवस/मोर्चा, विभागको जिम्मेवारी तोकिएको छ । समग्र कार्यविभाजनको नीतिगत निर्णय भएको छ । अन्य विषय प्राविधिक कुरा हेरेर पछि सर्कुलरमा आउँछ,’ बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने ।

महासचिव माथिकालाई वैचारिक जिम्मेवारी

महासचिवदेखि माथिकालाई भूगोलको जिम्मेवारी नदिने पार्टीको नीतिगत निर्णय भएकाले बागमती प्रदेश र एसिया प्रदेशको इन्चार्जबाट सापकोटा र भुसाललाई जिम्मेवारी नदिएको उपमहासचिव गजुरेलले स्पष्ट पारे ।

‘अध्यक्ष, उपाध्यक्ष, महासचिवले जवस/मोर्चा, विभाग लगायत वैचारिक नेतृत्व लिनुपर्ने सुझावका आधारमा नीतिगत निर्णय भएको छ । उपमहासचिव, सचिव, स्थायी समिति लगायत तलका नेताहरूलाई भूगोलको जिम्मेवारी दिने निर्णय भएको छ । बाँकीलाई जिम्मेवारी दिने विषयमा भोलिसम्म कार्यदलले सुझाव दिएपछि अध्यक्षले जिम्मेवारी दिने भन्नुभएको छ,’ गजुरेलले भने ।

अवकाशप्राप्त विद्यार्थीहरूको जिम्मेवारी दिने विषयमा कुनै निर्णय नभएको उपमहासचिव बस्नेतले बताए । उनकै नेतृत्वको कार्यदलले बैठक बस्नुअघि अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमा विद्यार्थीका निवर्तमान महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस गरेको थियो । अन्यलाई विद्यार्थीलाई सोपान अनुसार प्रदेश, विभाग लगायतमा व्यवस्थापन गर्न सुझाव दिएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप