मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

एक दशकपछि अभिनयमा फर्किए ‘कमेडी भिलेन’ मुकुन्द

सोमबार, २१ माघ २०८१, १७ : ००
सोमबार, २१ माघ २०८१

काठमाडौँ । कलाकार मुकुन्द श्रेष्ठ अभिनयमा फर्किएका छन् । फिल्म ‘लाज शरणम्’ मार्फत उनी १० वर्षपछि अभिनयमा फर्किएका हुन् । नेपाली फिल्ममा नेगेटिभ चरित्र बढी गरेका उनी फिल्म ‘कोहिनुर’ पछि हराएका थिए । 

‘उस्तै खालका चरित्र गर्दा गर्दा थाकेकाले विश्राम लिएँ’, उनले हराउनुको थप कारण खोले, ‘एउटा उमेर फिल्ममा बितिसकेको थियो । फिल्मले मात्र हुँदैन, परिवारले सराप्छ भनेर व्यवसायतिर लागेँ ।’ 

यो बिचमा फिल्मका धेरै प्रस्ताव आए पनि व्यवसायमा ध्यान दिनुपर्ने भएकाले नखेलेको उनी सुनाउँछन् । ‘फिल्ममा ध्यान र समय दिँदा व्यवसाय बिग्रिन्थ्यो । त्यसैले फिल्मबाट ब्रेक नै लिनुपर्‍यो’, उनले थपे ।

श्रेष्ठले २०७२ सालमा काठमाडौँमा कटेज उद्योग सुरु गरेका थिए । त्यसकै कारण फिल्मबाट उनले ब्रेक लिएका थिए । काठमाडौँमा यो उद्योग भित्र्याउने आफू पहिलो व्यक्ति भएको पनि उनको दाबी छ । 

कलाकारितामा उनको चर्चा र व्यस्तता राम्रो थियो । त्यै पनि उद्योग किन भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘यो देशमा आन्दोलन भइरहन्थ्यो । फिल्म उद्योग अलिअलि फस्टाउन थाल्यो कि, आन्दोलनले बिग्रिन्थ्यो’, उनी भन्छन्, ‘यस्तो अवस्थामा धेरै कलाकर्मीको बिचल्ली हुन्थ्यो । कोही गाउँ फर्किन्थे, कोही अन्य काममा लाग्थे ।’ अरूको हेर्ने मात्र होइन, आफूले पनि केही गर्नुपर्छ भनेर उद्योगतिर लागेको उनले बताए । 

अभिनयबाट ब्रेक लिनुको उनको अर्को कारण हो, बुबाको निधन । बुबाको निधनपछि उनको परिवारको स्थिति गाह्रो भइदियो । घरको जेठो छोरो भएकाले उनले घर सम्हाल्नु नै आफ्नो पहिलो कर्तव्य सम्झिए ।

20250129_153616

उनी २०७६ सालमा ‘सेन्टीभाइरस’ मार्फत अभिनयमा फर्किन सक्थे । त्यो समय कलाकार सीताराम कट्टेलले यस फिल्ममा अभिनय गर्न निकै कर पनि गरेका उनी बताउँछन् । त्यतिबेला कोरोना संक्रमणको अवस्था थियो । यस्तोमा के फिल्म खेल्नु भनी उनी त्यसै बसे । भन्छन्, ‘अहिले उद्योगको माहोल पनि छैन । उमेरले पनि गाह्रो काम गर्न दिँदैन अनि कलाकारितामा फर्किएँ ।’

  • मन्त्रीको भूमिकामा देखिँदै

‘लाज शरणम्’ चर्चित हास्यसिरियल ‘सक्किगो नि’को समूहले निर्माण गरेको पहिलो फिल्म हो । महाशिवरात्रिको अवसर पारेर यही फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई कलाकार कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन् । 

फिल्ममा श्रेष्ठ नेताको भूमिकामा देखिँदै छन् । फिल्मको कथा अलि पृथक् र चरित्र पनि मन परेकाले अभिनय गरेको उनले बताए । ‘मन्त्री पनि सबै फटाहा हुन्छन् भन्ने छैन, कोही ट्रयापमा परेर नराम्रो काम गर्न बाध्य हुन्छ’, आफ्नो भूमिकाबारे उनी थप्छन्, ‘यो फिल्म अलि फरक छ । सेमीसेमी जस्तो लाग्छ । तर, त्यसको आत्मा अर्कै छ ।’ 

यस अगाडि पनि यस्तै भूमिकामा काम गरिसकेका उनी यस फिल्ममा भने नेताको साइकोलोजी र तर्क सबै फिल्मभन्दा फरक भएको बताउँछन् । 

20250129_153602

‘पहिले पहिले फिल्ममा नेताको चरित्रमा आत्मा हुँदैन थियो’, उनी भन्छन्, ‘कि असल देखाइन्थ्यो कि खराब । असलमा धेरै असल र खराबमा धेरै खराब देखाइन्थ्यो ।’ यो फिल्ममा भने आफ्नो चरित्रमा भेराइटी देखाइएको उनले बताए । ‘यो फिल्मले मलाई अब नेताको रूपमा पनि चिनाउँछ’, उनले भने । 

थुप्रै फिल्म अभिनय गरेका उनलाई अहिले पनि धेरैले खलनायकको भूमिकाबाटै चिन्छन् । तर, यो फिल्मपछि भने आफूलाई पोजेटिभ भूमिकामा मान्छेहरूले चिन्ने उनले विश्वास गरे । 

खलपात्रका रूपमा चिनिए पनि उनले राष्ट्रिय पुरस्कार भने पोजेटिभ क्यारेक्टरबाट नै पाएका छन् । ‘फिल्ममा पहिले मलाई भयंकर खलनायक देखाइन्थ्यो । तर त्यसमा पनि म कमेडी गर्थेँ’, उनले सुनाए, ‘सबैले कमेडी भिलेनसमेत भन्थेँ ।’

  • अब निरन्तरता 

श्रेष्ठ अभिनयलाई आगामी दिनमा पनि निरन्तरता दिने सोचमा छन् । उनका हातमा अहिले दुई वटा फिल्मका अफर छन् । तर, उनले ‘वेटिङ लिस्ट’मा राखेका छन् । यो फिल्मको रिलिज र त्यसपछिको चर्चा हेरेर मात्र त्यस विषयमा निर्णय गर्ने उनले बताए । 

‘अघिका फिल्म जहिले पनि हिन्दीका कपी हुन्थे । फिल्म चल्थ्यो, कलाकालाई हिट, फ्लपसँग मतलब थिएन । हामीले देखाउने कला मर्थ्यो’, उनले भने, ‘अहिले बल्ल कला देखाउने चरित्र पाएको छु । यसको रिजल्ट हेरेर मात्र नयाँ काम गर्ने सोच हो ।’ अहिलेसम्म अभिनय धेरै गरे पनि कन्टेट बेसको फिल्म नपाएको उनले गुनासो पनि गरे । 

‘पहिले हिरो, हिरोइनमा फिल्म बन्थ्यो । अहिले कन्टेन्टमा फिल्म बन्न थालेछ’, उनले खुसी हुँदै भने, ‘अब, मेरो फिल्म यो हो है भनेर भन्न मिल्छ ।’ 

अहिलेसम्म मनोरञ्जनका लागि फिल्म अभिनय गरेको बताउने उनी अबको दिनमा कन्टेन्ट र सम्झनायोग्यका लागि फिल्म गर्ने सुनाउँछन् ।

फिल्मबाट आर्थिक फड्को खासै मार्न नसकेका उनी दर्शकको माया धेरै पाएकोमा गर्व गर्छन् । फिल्मकै कारण उनी देश तथा विदेशमा पनि चिनिएका छन् । 

‘पैसा त जति भए पनि पुग्दैन’, उनले भने, ‘दर्शकले मलाई मुटुमा राख्नुहुन्छ, धेरै माया दिनुहुन्छ । त्यो मेरा लागि अमूल्य चिज हो ।’ जन्मिएपछि गुमनामभन्दा सबैले चिनिएर मर्नु राम्रो भएको उनी भन्छन्, ‘त्यसैले पनि मैले कलाकारिता रोजेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप