सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

करिब दुई महिनाको अवधिमा सङ्घीय संसद्‌मा ९ विधेयक दर्ता

सोमबार, २१ माघ २०८१, १४ : ०७
सोमबार, २१ माघ २०८१

काठमाडौँ । सरकारले करिब दुई महिनाको अवधिमा विभिन्न ९ वटा नयाँ विधेयक सङ्घीय संसद्‌मा दर्ता गराएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार पुस १ देखि माघ २१ गते सम्म आइपुग्दा सरकारले उक्त सङ्ख्यामा विधेयक दर्ता गराएको हो । सचिवालयका अनुसार यस अवधिमा प्रतिनिधिसभा अन्तर्गत ६ र राष्ट्रियसभामा तीन नयाँ विधेयक दर्ता भएका छन् ।

 संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ बाट सुरु भएको छ । यस हिउँदे अधिवेशनलाई बढी उपयोगी र प्रभावकारी बनाउन धेरैभन्दा धेरै बिजनेस दिने तयारी सरकारको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशनका लागि सरकारले पुस १ गते राष्ट्रिय सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दर्ता गरेको थियो । यसबाहेक राष्ट्रिय सभामै सरकारले पुस २३ मा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ र माघ १५ मा सामाजिक सञ्जाल विधेयक, २०८१ दर्ता गराएको छ ।

 यस्तै सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा माघ १५ गते एकसाथ तीन वटा विधेयक सरकारले दर्ता गराएको छ । जसमा नेपाल प्रहरी विधेयक,२०८१‚ सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१ र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ रहेको छ ।

सचिवालयका अनुसार यसबाहेक माघ १९ गते एकसाथ दुई विधेयक दर्ता भएका छन् । जसमा नागरिक उड्डयन प्राधिकरण टुक्राउने एकसाथ विधेयक दर्ता भएका हुन् । नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको भूमिका खेल्दै आएको छ ।

त्यो अधिकार कटौती गर्दै प्राधिकरण टुक्राउने गरी सरकारले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रतिनिधि सभामा दर्ता गराएको हो । यस्तै सरकारले माघ २० गते प्रतिनिधिसभामा निकासी पैठारी (नियमन) विधेयक, २०८१ पनि दर्ता गराएको छ ।

नयाँ विधेयक बाहेक सरकारले ६ वटा अध्यादेशलाई समेत प्रतिस्थापन विधेयक बनाएर संसदमा प्रस्तुत गरेको छ । माघ २४ मा बस्ने प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप