सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

मेरी आमाको दुर्घटना र मेरो जन्म

सोमबार, २१ माघ २०८१, १३ : ३४
सोमबार, २१ माघ २०८१

हामी जति नै धनी भए तापनि हाम्रा आमाहरूलाई भारी बोकाउने हाम्रा बाजेबजैको सोच हुन्थ्यो । त्यही सामन्ती सोचका कारण मेरी आमा भागीरथा प्रसाईलाई पनि घरायसी काममा बेस्सरी लगाइन्थ्यो, तर पनि मेरी आमा बेग्लै सोचकी थिइन् । मानौँ, काम उनका लागि ईश्वरीय वरदान थियो । त्यसैले आफूखुसी पनि उनी घर लिप्ने रातो माटो पनि खन्न जान्थिन् ।

धेरै वर्ष अघिदेखि चिप्ली डाँडाको रातो माटो खन्ने ठाउँमा माटो खन्नेहरूका कारण सुरुङ भइसकेको थियो । २०१० माघ महिनाको कुरा हो, त्यस बेला मेरी आमाले मेरी दिदी नीरालाई पनि साथै लिएर माटो खन्न गएकी थिइन् । अनि मेरी आमा माटो खन्न सुरुङभित्र पसेकी थिइन् । नीरा दिदी सुरुङभित्र पस्दा नपस्दै पहिरो आएकाले मेरी आमालाई त्यही सुरुङले नै पुरेको थियो । अनि तेह्र वर्षीय मेरी दिदीले बरबोटेतिर फर्केर जोडतोडका साथ कराएर ‘गुहार, गुहार, गुहार’ भनेकी थिइन् । त्यतिखेर बरबोटे देवी स्कुलको चौरमा मेरा जेठा दाजु विष्णुभक्त खेलिरहेका थिए । मेरी दिदी चिच्च्याएको सुनेपछि आफूनजिकै भएका वीरमान भुजेलहरूलाई समेत गुहार मागी मेरा दाजु तुरुन्तै चिप्ली डाँडा पुगेका थिए । अनि त्यस ठाउँमा मान्छेहरू क्रमशः धुरिन थालेका थिए । वीरमान भुजेलहरूले बिस्तारै खन्दै जाँदा मेरी आमाको कपाल बाटेको धागोको रातो फुर्को भेटेका थिए । अनि त्यसैका आधारमा काँटाले खनेर मेरी आमालाई सुरुङबाट बल्लतल्ल निकालिएको थियो । त्यति बेलासम्म मेरी आमा बेहोस भइसकेकी थिइन् ।

त्यस घडी मेरी आमाको पेटमा सात महिनाको बच्चा थियो । मेरी आमालाई डोलीमा बोकेर घरमा ल्याइएको थियो । आमाको अवस्था बाँच्ने खालकै थिएन । तर पनि सास भइन्जेल आस हुँदो रहेछ नै ! त्यसैले त्यसै बेलादेखि आमालाई जडीबुटीको सेवन गराइएको थियो । साथै त्यसै दिन दिलबहादुर विष्टहरू मौवाको रूख खोज्न जङ्गल पसेका थिए । मौवाको रूखको बोक्राले भाँच्चिएका हाड पनि जोडिन्थ्यो भनिन्थ्यो ।Meri Aama

विष्ट दाइहरूले जङ्गलबाट मौवाको बोक्रा खुर्केर घरमा ल्याउन थाले । त्यसपछि मेरी आमाको उपचार सुरु भएको थियो । मौवाको बोक्रा लगाउने विधि पनि थियो । कुरा के हो भने— मौवाको बोक्रा कुटेर खड्कुलोमा दुई घण्टा उमालिन्थ्यो । अनि त्यो बोक्राको छोक्रा सेलाएपछि मेरी आमाका शरीरभरि टाँसेर कपडाले बाँधिन्थ्यो । दुई–तीन घण्टा, दुई–तीन घण्टामा आमाका शरीरभरिको बोक्रा अख्रक्क परेर सुक्थ्यो । अनि हरेक दुई–तीन घण्टामा मेरी आमाको शरीरमा पानी राखेर त्यस बोक्रालाई चिस्याउनु पथ्र्यो । जाडोको मौसम भएकाले अरूहरूले देख्दा मेरी आमालाई थप कष्ट थियो । तर उनी त्यस बखत अर्ध चेतनामा थिइन् । मेरी दिदी नीराबाट त्यस बेला मेरी आमाको अहोरात्र सेवा, सुसार र सुरक्षा हुने गथ्र्यो ।

पहिरोले पुरेको दुई महिनासम्म मेरी आमा जिउँदो लासझैँ घरैमा लडिरहिन् । त्यतिखेर जडीबुटी खुवाएर र लगाएर मेरी आमालाई निको पारिएको थियो । मेरी आमाले खाएको त्यही जडीबुटीका कारणले आमाको गर्भमा रहेको बच्चाको पनि राम्रो स्वास्थ्य भयो । महिना पुगेपछि मेरी आमाले स्वाभाविक प्रसवपीडामा अर्ध बेहोसीमै पनि एउटा बालक जन्माइन् । अनि ज्योतिषीले ती बालकको नाउँ नरेन्द्रराज प्रसाई राखे ।

नीरा दिदी सुरुङभित्र पस्दा नपस्दै पहिरो आएकाले मेरी आमालाई त्यही सुरुङले नै पुरेको थियो । अनि तेह्र वर्षीय मेरी दिदीले बरबोटेतिर फर्केर जोडतोडका साथ कराएर ‘गुहार, गुहार, गुहार’ भनेकी थिइन् ।

म जन्मेपछि मेरी आमाको केही समयसम्म होस खुलेकै थिएन । म जन्मनु केही दिनअघि मेरा काका रूपनारायण प्रसाईकी छोरी मञ्जु (मोहन मञ्जरी) जन्मेकी थिइन् । भनौँ, त्यस बेला मेरी कान्छी काकी महेश्वरा सुत्केरी थिइन् । त्यसैले मलाई त्यस समय मेरी काकीको दुध खुवाइएको थियो । त्यतिखेर काकी हाम्रै घरमा बसेकी थिइन् । एउटै आँगनमा हाम्रा दुइटा घर थिए । काकाले तेस्रो नम्बरमा कान्छी पत्नी पनि भित्र्याएपछि काकीलाई हाम्रै एउटा घरमा राखिएको थियो । त्यसैले सानामा मञ्जु दिदी र म सँगसँगै हुर्के–बढेका थियौँ । मलाई त्यतिखेर प्रमुख रूपले हेर्ने नङ्ग्री दिदी (नर्वदा चुडाल) पनि थिइन् । साथै पम्फा दिदी (मेरी साहिँली फुपूकी छोरी) बाट पनि त्यस बेला मेरो हेरविचार हुने गथ्र्यो । 
मेरी आमा भागीरथा प्रसाईले प्रायः हरेक दिन मलाई भन्ने गर्थिन्— ‘मेरो माहिला छोराको मसँग फोटोसमेत भएन ।’ मेरा माहिला दाजुको अनुहारको बनोटबारे मैले बाल्यकालदेखि मेरी आमाका मुखबाट घरीघरी सुनिरहन्थेँ । म जन्मनुअघि नै ईश्वरका प्रिय भएका मेरा माल्दाइको रूप, रङ, अनुहारको ढाँचा र लवाइ, खुवाइ धेरैजसो आनीबानी मसँग नै मिल्थ्यो रे !

मेरो ‘नारीचुली’ का चित्रकार इन्द्र खत्री चित्रकारितामा प्रसिद्ध भइसकेका थिए । साथै उनले मेरो निर्देशनमा मैले सोचेकै जस्तो हुबहु चित्र कोर्न सक्थे । उदाहरणका लागि भन्ने हो भने ललितत्रिपुरसुन्दरी र योगमायाका चित्र पनि मेरै परिकल्पना र निर्देशनमा उनैले बनाएका थिए र ती चित्र नै गुगलमा समेत आधिकारिक रूपमा चलनचल्तीमा पनि आए । मेरी आमाको खुसीका लागि इन्द्रलाई मेरा माल्दाइको मुहार चित्र बनाउन पनि मैले अनुरोध गरेँ । खत्रीले बनाउने माल्दाइको अनुहारअङ्कित चित्रको आधारका लागि म दुई, पाँच र सात वर्षको हुँदा खिचिएका मेरै फोटोहरू पनि मैले उनलाई दिएको थिएँ ।

इन्द्र खत्रीले पेन्सिलद्वारा स्केच गरेर मेरा माल्दाइ अर्थात् पद्मराज प्रसाईको फोटो मलाई दिएका थिए । अनि इन्द्रलाई पनि सँगसँगै लगेर मैले सो फोटो मेरी आमालाई देखाएको थिएँ । त्यतिखेर फोटो हेर्नेबित्तिकै मेरी आमा ‘मेरो माहिलो’ भन्दै रुन थालेकी थिइन् । त्यस बेला मेरी आमाले मलाई रुँदै सोधेकी थिइन्— ‘यतिका वर्षसम्म तैँले यो फोटो मलाई किन देखाइनस्, छोरा !’ त्यस क्षण मेरै साथमा भएका इन्द्र भाइले आफ्नो चित्रकारिताको सफलताको रौनक र मुस्कानमिश्रित भावले मसँग आँखा जुधाएका थिए । वास्तवमा माल्दाइको चित्र चमत्कारी रूपमा आएको थियो ।

आमाको पीडा मिसिएको खुसीले बग्न थालेको आँसुमा मिसिन मेरा आँखाले पनि सघाउन थालेका थिए । साथै त्यसपछि म पनि आमासँगसँगै लागेर भक्कानिएको थिएँ । यसरी त्यस घडी वातावरण नै रोदनले भरिएको थियो ।

मेरा माल्दाइको उक्त फोटोको एकएकप्रति मैले झापामा मेरा ठुल्दाइ विष्णुभक्त प्रसाई र मेरी दिदी नीरा सिटौलासमक्ष पनि पठाएँ । ठुल्दाजु र दिदीबाट पनि मैले संवाद प्राप्त गरेँ— ‘यो त हाम्रै माहिलो हो । कहाँबाट पो यो फोटो फेला पर्‍यो !’

मेरी आमाले एक दिन मलाई भनेकी थिइन्— ‘पैसा हुनेले आफ्ना हराएका सन्तानका नाउँमा पुरस्कार राख्छन् । तर कमजोर आर्थिक अवस्थाका कारण मेरो माहिलो छोराका लागि मैले केही पनि गर्न सकिनँ । ऊ हराएरै गयो, उसको नाउँ नै मेटियो । अब त उसको अनुहार पनि मैले बिर्सिसकेँ । हो, आमाका तिनै संवाद सुनेर मेरो घैँटामा घाम लागेको थियो । त्यसपछि नै मेरा माहिला दाजुको तस्बिर बनाउन इन्द्रलाई मैले अनुरोध गरेको थिएँ ।

मेरी आमाले खाएको त्यही जडीबुटीका कारणले आमाको गर्भमा रहेको बच्चाको पनि राम्रो स्वास्थ्य भयो । महिना पुगेपछि मेरी आमाले स्वाभाविक प्रसवपीडामा अर्ध बेहोसीमै पनि एउटा बालक जन्माइन् । अनि ज्योतिषीले ती बालकको नाउँ नरेन्द्रराज प्रसाई राखे ।

मेरी आमाको समेत इच्छामा माल्दाइको पनि नाउँ जोडेर २०६५ सालमा मैले ‘नइ भाजप पुरस्कार’को स्थापना गरेको थिएँ । अथवा भनौँ, भागीरथा प्रसाई, जयप्रसाद प्रसाई र पद्मराज प्रसाईका नाउँमा ‘नइ भाजप पुरस्कार’ को स्थापना भएको थियो । यस पुरस्कारको निर्माणमा मेरो छोरा डा. कञ्चनजङ्घाको पनि बलियो आर्थिक साथ रहेको छ । नेपाली परिवेशको सेवामा समर्पित एक जना प्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष नइ प्रकाशनले एक लाख रुपियाँ राशिको यो पुरस्कार समर्पण गर्दै आएको छ । यो पुरस्कारको स्थापना गरेको बेला पनि मेरी आमाले खुसीले रुँदै भनेकी थिइन्— ‘घरबाट पैत्रिक अंश लगायत केही पनि नलिई फिट्टा हिँडेको छोराले मेरो माहिलो छोरो पनि बचायो । अब मेरो माहिलो छोरो हराउँदैन । बाबै ! तैँले माहिलाको फोटो पनि खोजिस् र तेरो बाबुको, मेरो र माहिलाको नाउँ पनि चलाइस् ।’

मेरा माल्दाइ र मेरो कथा पनि विचित्रकै थियो । त्यसैले होला हामी पाँच जना दाजुभाइ र एउटी दिदीमध्ये मेरी आमाले सबैभन्दा धेरै मलाई नै माया गर्थिन् । मेरी आमाका अनुसार माल्दाइ र मेरो कथा यस्तो थियो— ‘मेरो माहिलो छोरो असमयमा नै बित्यो । त्यो बितेपछि म दिनरात रोइरहन्थेँ । त्यसै बखत एक रात मैले एउटा सपना देखेँ । मेरो माहिलो एउटा भीरको टुप्पाको अभर परेको ढुङ्गामा अप्ठेरो गरी बसेको रहेछ । माहिला किन यस्तो अप्ठेरोमा बसिस् भनेर मैले उसलाई सोधेछु । आमा, म कहाँ जाऊँ ? मैले कहीँ जाने बाटो पाइनँ । उसले रुन्चे अनुहार पारेर मलाई भन्यो । ल, मेरा बुइँमा आइज’ भनेर मैले उसलाई आफ्नो डँडेल्नुमा बोकेँ । मैले त्यस्तो सपना देखेको दस महिनामा मेरो अन्तरे छोरोका रूपमा नरेन्द्र जन्म्यो । मेरा सपनाका हिसाबमा मेरा लागि नरेन्द्र नै मेरो माहिलो छोरोको पुनर्जन्म हो । मेरा लागि त यो नरेन्द्र नै आँसु पुछाउने छोरो हो । त्यसैले मलाई यो नरेन्द्रको दोहोरो माया लाग्छ । हुन पनि यसका धेरजसो बानीबेहोरा पनि त्यही मेरो माहिलोसँगै मिल्छ’ (मेरी सासू— २०६५ ः इन्दिरा प्रसाई) ।

बाल्यकालदेखि नै म मेरी आमाको परम भक्त थिएँ । आमा बाँचुन्जेल मेरी आमा नै मेरो विश्व थिइन् । अनि आमा स्वर्गीय भएपछि पनि मेरी आमाकै नाउँमा नै मेरो प्रायः ध्यान केन्द्रित भइरह्यो । मेरी आमा र मेराबारे मेरी पुरोधिका इन्दिराले ‘मेरी सासू’ नामक कृति २०६५ सालमा लेखेकी पनि छिन्— ‘नरेन्द्र र मेरी सासूका बिच अचम्मको घनिष्ठ सम्बन्ध थियो । दुवैले एकअर्कालाई निकै नै माया गर्थे । मैले आमाछोराबिचको यति बिघ्न माया कहीँ, कतै देखेकै थिइनँ । नरेन्द्रको आफ्नी आमाप्रतिको स्नेहातिरेक देख्दा मलाई ज्यादै अनौठो लाग्ने गथ्र्यो । त्यसैले नरेन्द्रको आमाप्रतिको व्यवहार नै उदाहरणीय र उल्लेखनीय छ जस्तो मलाई लाग्ने गथ्र्यो ।’

‘आमाका पाउमा आफ्नो शिर पुर्याएपछि नरेन्द्रको हरेक दिनको कार्यक्रम आरम्भ हुन्थ्यो । उहाँ आफ्नी आमालाई नढोगी पानी पनि खानुहुन्न थियो । त्यति मात्र होइन उहाँ जति नै व्यस्त भए तापनि आमालाई पनि आवश्यक समय दिनुहुन्थ्यो । आमासँगै बसेर खाने, दिउँसो एकपल्ट केही समयका लागि भए पनि आमाका छेउमा बस्नुपर्ने र सुत्नुअघि राति पनि आमासँगै केहीबेर दुक्खसुक्खका बात मार्ने नरेन्द्रको आमाप्रतिको दैनिक तालिका हुने गथ्र्यो । साथै आमाको खानपिनप्रति निगरानी राख्ने, लगाउने लुगाको हिसाब राख्ने र साँझमा आमाको ओछ्यानको व्यवस्थापनमा समेत ध्यान दिने कामबाट पनि नरेन्द्र चुक्नुभएको मलाई थाहा भएन । प्रायजसो मेरी सासूले नरेन्द्रको स्पर्श पाउनासाथ उहाँको पचास प्रतिशत बिमारी ठीक हुने गथ्र्यो । मैले बुझेअनुसार यो पहिलेदेखिकै रीत थियो । पहिलेपहिले पनि मेरी सासू बिमारी भएको खबर आएपछि नरेन्द्र दौडेर झापा पुग्नुहुन्थ्यो । त्यति बेला मेरी सासूले नरेन्द्रको नारी समाएर भन्नुहुन्थ्यो— ‘छोरा ! तँ जता जान्छस् मलाई पनि त्यतै लैजा है १’ मेरी सासू नरेन्द्रसँग बेल्दाबोल्दै आधा निको भइसक्नुहुन्थ्यो ।’
मेरी आमाको स्वभाव अत्यन्तै पारदर्शी थियो । खास गरेर उनलाई आफ्ना सबै छोराछोरीका विषयमा पूर्ण ज्ञान थियो । त्यसैले उनी सबैसँग प्रस्ट कुरा गर्थिन । उनी आफ्ना छोराछोरीसँग कहिले पनि हच्केर, लत्रेर र होचिएर बोलिनन । यति हो उनी चित्त दुखेको कुरा प्रायः कसैलाई भन्दिन थिइन । तर जुनसुकै अवस्थामा पनि मसित उनी सधैँ मन खोलेरै कुरा गर्थिन् ।

मेरी आमालाई म देवी मानेर पूजा गर्थें । आमा मेरी भगवान थिइन भने म उनको भक्त पुजारी थिएँ । यसैले पनि आमा प्रायः मेराबारे मात्रै घोत्लिने गर्थिन् । उनलाई मेरो ठुलो विश्वास थियो र उनको विश्वासउपर मैले कहिले धोका पनि दिइनँ । भनौँ, मेरी आमाको मप्रतिको विश्वासको मैले सधैँ, सधैँ र सधैँ रक्षा गरिरहेँ । यसै प्रसङ्गमा मेरी पुरोधिका इन्दिराले लेखिन्— ‘मेरी सासूले आफ्नो छोरो नरेन्द्रप्रति गर्व गर्न कहिल्यै छाड्नुभएन । उहाँ घरीघरी भन्नुहुन्थ्यो, मेरो छोरो नरेन्द्र नभएको भए मेरो वृद्धाश्रमकै बास हुनेचाहिँ पक्का रहेछ । हो ! मेरा सबै छोराहरूले उन्नति नै गरेका छन् । सबैको आआफ्ना घरबार छन । तर मेरा लागि त यही नरेन्द्रे नै सर्व थोक भयो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप