सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन गुन्जदैन— ‘केपी बा, आई लभ यु ?’

सोमबार, २१ माघ २०८१, १३ : ०३
सोमबार, २१ माघ २०८१

केपी शर्मा ओली अर्थात् ‘केपी बा’, अहिलेका प्रधानमन्त्री । आफ्नो जीवनकालमा चौथोपटक प्रधानमन्त्री । बहुदलीय व्यवस्थाको पछिल्लो ३५ वर्षमा अलिक लामो समय कुर्सीमा विराजमान हुन पाएका दुईमध्येका एक नेता । राजनीतिका चतुर, अब्बल तर परिपक्व क्याप्टेन । उनीसँगको अनावश्यक टक्करकै कारण माधव नेपाल देश नेपालमा निरिह बने । झलनाथ, घनश्याम तथा भीम रावलहरू विचरा भए । अविछिन्न अस्थिरता र जादुमयी नम्बरको हुँकारले भरिएर हावामा उड्दै गरेको एउटा बेहोसी तथा दिवालिया बेलुन प्याट्टै फुट्यो  । बरा वामदेव अहिले दोबाटोमा सहाराविहीन छन् । 

बेलाबेला ‘सर्जिकल स्ट्राइक’ गरेर राजनीतिक वृत्तलाई नै तरंगित पार्ने अद्भुत व्यक्ति । राजतन्त्र फाल्ने हुटहुटीमा गणतन्त्रको लडाइँ लडे पनि आफूलाई चाहिँ राजनेता भनेर गाइने महिमामण्डनले खासै तृप्त नभएका नेता । सामाजिक सञ्जालमा ६ लाखभन्दा बढी अनुगामी भएका व्यक्ति । उनको संक्षिप्त परिचय सायद यस्तै हुन सक्छ । उनी पछिल्लो ६ महिनादेखि प्रधानमन्त्री छन् । 

बिरलै तादात्म्यता हुने उनको गराइ र बोलाइमा मेल खायो भने अबको १८ महिनामा उनले सत्ता छाड्नेछन् । देश इतिहासकै उच्च असहज परिस्थितिमा रहेका बेला दोस्रो संविधानसभाको दोस्रो प्रधानमन्त्रीका रूपमा संविधान निर्माणपछि उनले सत्तारोहण थाले । छिमेकी मात्र होइन, स्वदेशीकै समेत चर्को आलोचना, प्रायोजित असहयोग अनि कुटिल कटाक्ष खेपेरै पनि नेपालीको स्वाभिमानलाई उच्च राखे । देशको समुचित प्रगति अनि नागरिक अपेक्षित समृद्घिका योजना सुनाए । पूर्व–पश्चिम रेल, पाइपबाट तेलदेखि हावाबाट बिजुली अनि पाइपबाट ग्यास तथा नेपालका पानीजहाजसम्मको कल्पना गरे । यिनै रोमाञ्चक कुराले निर्माण गरिदियो, एउटा उम्दो भाका— ‘केपी बा, आई लभ यु’ । 

उनका पार्टीका कार्यकर्ता लगायत केही शुभचिन्तकले सार्वजनिक माहोलमै गाएर उनलाई उक्साइदिए । उनी एक यस्ता भाग्यमानी प्रधानमन्त्री पनि हुन् कि जतिपटक सत्तारोहण गरे त्यति नै पटक नागरिक भावनालाई एकीकृत गर्न केही न केही संवेदनात्मक विषय उठाउन माहिर भए । पहिलोपटक नाकाबन्दीविरुद्घ स्वाभिमान, दोस्रोपटक चुच्चे नक्सा र अहिले संविधान संशोधन ।   

समृद्घ नेपालको सपना देखाएका पात्र प्रधानमन्त्री भए पनि देशकोे झन्झन् बर्बादीको दिशातिर लम्किरहेको यात्रा रोकिएको छैन । चरम बेरोजगारी, बेइमानी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्घि अलिकति पनि हटेन ।

ओलीका कल्पनाको तत्काल सम्भावना त थिएन होला तर पुरै असम्भव भने थिएनन् । विकास स्वतः हुने पक्ष होइन, कल्पना पनि गर्न सक्नुपर्छ । जाँ बद्रिलार्ड आफ्नो पुस्तक ‘द सिमुलाक्रा एन्ड सिमुलेसन’मा कल्पनालाई सत्यताभन्दा पनि शक्तिशाली सम्झन्छन् । राइट ब्रदर्सले पनि पहिले कल्पना गरे अनि हवाईजहाज बनाए । अमेरिकाले पहिले चन्द्रमामा मानव अवतरण गर्ने कल्पना गर्‍यो र पछि निल आर्मस्ट्रङलाई त्यहाँ पठायो । कम्तीमा सपना नै नदेखे कसरी पूरा हुन्छ ? त्यही भएर हुन सक्छ, नागरिकले निर्वाचनमार्पmत पटक–पटक ओलीका सपनालाई अनुमोदन गरे । सपना खोज र सार्थक गरेर देखाउ भनेर सहजता जुटाइदिए । ‘केपी बा, आई लभ यु’ भन्ने समूह बढ्दै गयो । भन्न नचाहने पनि सुनेरै एलर्जी हुने अवस्थाबाट माथि उठे । सुरुसुरुमा निकै असहज लाग्ने कानलाई पनि बिस्तारै पाच्य हुन थाल्यो । जब आमसमूहका लागि ‘केपी बा, आई लभ यु’ अभ्यस्त भएको थियो, अबचाहिँ यस्तो वाक्यांश सुन्नै छाडियो । केपी बा अन्तै अल्झिन थाले, नागरिकका निराशा बल्झिन थाले । 

समृद्घ नेपालको सपना देखाएका पात्र प्रधानमन्त्री भए पनि देशकोे झन्झन् बर्बादीको दिशातिर लम्किरहेको यात्रा रोकिएको छैन । चरम बेरोजगारी, बेइमानी, गरिबी, अन्याय, अत्याचार, दण्डहीनता, भ्रष्टाचार, मूल्यवृद्घि अलिकति पनि हटेन । नागरिकलाई सुख, मनोरञ्जन, न्याय, संगति, सभ्यता र सुशासनको खासै अनुभव भएन । विश्वसामु नेपाल एउटा सबल, सक्षम र उदाहरणीय मुलुक बन्ने आधार आएन । छिमेकीप्रति सन्तुलित नीति बनाउन उनले लिएको प्रयास त्यति फलदायी भएको देखिँदैन । रोजगारी निर्माण, गरिबी निराकरण, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय अनि नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विकास गतिविधिमा उनले अपेक्षित फड्को मार्न सकेनन् । 

विश्वराजनीतिको नजिरलाई नियाल्दा यो स्पष्ट हुन्छ कि गरिबीले च्यापुन्जेल संसारका कुनै पनि राजनीतिक सिद्घान्त तथा दर्शनले जनतालाई परिवर्तनको आभास दिँदैन । आर्थिक अवस्था सबल भएमा कुनै पनि राजनीतिक सिद्घान्त आफैँमा अफापसिद्घ हुँदैन । आर्थिक सफलता र प्रगति अन्य सबै प्रगतिको साध्य र साधन दुवै हो तर आर्थिक सूचक समेत चलायमान हुन सकेनन् । बैंकमा तरलता अधिक छ, उद्योगमैत्री सोच खस्कँदै छ । कोही पनि लगानी गर्न विश्वस्त छैन । व्यापार घाटा अकासिँदो अनि सार्वजनिक ऋणको बोझ भयंकर बन्दै छ । 

ओलीले आर्थिक असमानता र अधोगतिलाई विस्थापित गर्ने महत्त्वाकांक्षी बाटो बनाउनुपथ्र्यो । दैनिक दुई हजारको हाराहारीमा बिदेसिने युवालाई देशमै भविष्य देखाउनु थियो । भीमकाय दुर्घटना उन्मुख विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वः उत्पादनमा रूपान्तरण गर्नु थियो । अधिकांशलाई दुई छाक जुटाउन समस्या पर्ने पीडादायी अवस्थाबाट मुक्ति दिनु थियो । बढ्दै गएको जीवन निर्वाह प्रतियुनिट खर्च र आम्दानीबिच तादात्म्यता राख्न नागरिकलाई सामथ्र्यवान बनाउनुपथ्र्यो । शून्य वा नकारात्मक दिशामा गएका गुणस्तरीय जीवनका अधिकांश सूचकलाई उच्च रफ्तारमा सकारात्मक बनाउने अभ्यास लगाउनु थियो । आर्थिक अभावमा कैयाँै सपनालाई भारी कटौती गर्नुपर्ने समय समाप्त पार्नु थियो । नागरिक दिनचर्याको सकारात्मक सुधारले राजनीतिका सफलता वा असफलताको मापन गर्ने अभ्यास थालनी गर्नु थियो । सुस्पष्ट योजना, सशक्त संकल्प अनि निष्ठावान् समर्पण प्रर्दशन गर्नु थियो । यसो गर्न सकेको भए सायद अभैm धेरैले ‘आई लभ यु’ भन्थे होलान् । 

लेखक टोमस पिकेटीको ‘द प्राइस अफ इनइक्वालिटी’ र जोसेफ स्गिल्जको ‘द इकोनोमिक्स अफ इनइक्वालिटी’जस्ता पछिल्ला पुस्तकले अधिकांश देशमा उच्च र धनी थोरै व्यक्तिले अकुत अनि विशाल अनुपातका सामान्य नागरिकले ज्यादै न्यून अंशमा सम्पत्ति नियन्त्रण गरेको देखाउँछ । यस्तो विषमता चिर्न समतामूलक आत्मनिर्भर आर्थिक विकास हुनुपर्छ । ओलीले बन्द भएका सबै कलकारखाना पुनः सञ्चालनसहित हजारौँ नयाँको तीव्र स्थापना र विस्तार गर्न खोजी गर्नुपथ्र्याे । निर्यातमुखी औद्योगिक गतिविधिको व्यापक प्रवर्धन गर्दै देशका एकाएक खनिजको उत्खनन अनि उपभोग गर्नु थाल्नु थियो । पछिल्ला शोधले नेपाल भूभागको हिसाबले विश्वको ०.०३ प्रतिशत मात्र अनुपात भए पनि स्रोत–साधनको हिसाबले झन्डै पाँच प्रतिशतको हैसियतमा रहेको देखाउँछ । बिम्सटेक सम्मेलनले समेत जोड दिएका पर्यटन, जलस्रोत, ब्लु इकोनोमी लगायत अन्य हरेक सम्भावनाको अधिकतम दोहनमा ध्यान लगाउनु थियो । भ्रष्टाचाररहित चुस्त–दुरुस्त प्रशासन अनि किफायती र नागरिकमुखी सेवाप्रवाह बनाउनु थियो । कम्तीमा अबको १० वर्षमा अल्प विकसितबाट मध्यमस्तरको विकासशील राष्ट्र बन्ने पक्षमा काम थालिनुपथ्र्यो । अरुसँग मागेर होइन, आफैँ कमाएर खाने र अरुलाई पनि निर्यात गर्नेतिर लाग्नु थियो । ली क्वानको लक्ष्य ‘फ्रम थर्ड वल्र्ड टु फस्र्ट वल्र्ड’ र महाथिर मोहम्मदको अवधारणा ‘द च्यालेन्ज’जस्ता प्रगतिशील योजनाको प्रभावकारी सम्पादनको सोच राख्नुपथ्र्यो । 

चौथोपटक मौका पाउँदा ओलीले यी पक्षमा सकारात्मक सुधारार्थ बढी ध्यान दिनुपथ्र्यो । चर्का मन्तव्यभन्दा नागरिकलाई अपेक्षित गन्तव्यको महत्त्व बढी थियो । तर सघन प्रतिफल दिन नसक्दा नागरिक विश्वास तथा सम्भावित साख गुम्दै छ । ओली अल्झँदै छन्, निराशा बल्झँदै छन् । असफल नै हुने योजना त होइन होला, सायद सही योजना बनाउनचाहिँ असफल भएका हुन् कि ? यसैले होला ‘केपी बा, आई लभ यु’ गुन्जनै छाड्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप