सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
चिकित्सकहरूको आन्दोलन

आवासीय चिकित्सकहरूद्वारा काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा

सोमबार, २१ माघ २०८१, ११ : ५०
सोमबार, २१ माघ २०८१

काठमाडौँ । आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथिको चरम श्रम शोषणका विरुद्ध अन्तिम चेतावनीसहित विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । नेपालका विभिन्न मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्टहरूको हकहितका लागि आवाज उठाउँदै आन्दोलन गर्दै आएको समितिले देशभरका डाक्टरहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन अनुरोध गरेको हो ।

समितिका प्रवक्ता डाक्टर सञ्जय बरालले छैटाै दिनसम्म आन्दोलन गर्दा समेत राज्य मौन बसेको भन्दै काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरिएको बताए । देशैभरिका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनमा बोलाएको हो ।

माग पुरा नहुँदासम्म सेतो कोटमा माइतीघर मण्डलामा उपस्थित हुन लागिएको प्रवक्ता बरालले बताए । उक्त आन्दोलनमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी, चिकित्सक तथा चिकित्सकका अधिकार स्थापित गर्न स्थापना भएका सङ्घ सङ्गठनहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

समितिको नेतृत्वमा काठमाडौँमा माइतीघर मण्डलामा धर्ना दिनुका साथै आफू कार्यरत मेडिकल कलेजमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ओपीडी सेवा बहिस्कार गर्नुका साथै पेन डाउन गर्दै विरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सरकारले माग सम्बोधनका लागि कुनै निर्णय नगरेको प्रवक्ता बरालले बताए ।

सरकार र चिकित्सा शिक्षा आयोगले आफ्नो अधिकार सुनिश्चित गर्न र आफूहरूमाथि भएको चरम श्रम शोषण बन्द गराउने निर्णय नगर्दा सम्म विरोधका कार्यक्रम बढाउँदै जाने निर्णय गरिएको प्रवक्ता बरालले बताए ।

श्रम शोषण र आत्मसम्मानमाथिको गम्भीर प्रहारविरुद्धको लडाइँका कारण परिरहेको अप्ठ्यारोबारे सबैले बुझिदिन समेत अनुरोध गरिएको छ । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको तीन बुँदे निर्णय खारेज गर्नुपर्ने माग गरेको छ । सारा नेपाली डाक्टरहरूको अपमान भएको बताउँदै समितिले उक्त निर्णयहरू खारेज हुनुपर्ने माग अघि सारेको हो । 

WhatsApp Image 2025-02-03 at 7.36.19 AM

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप