सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

साथीहरू, सरस्वती पूजा किन गरिन्छ ?

सोमबार, २१ माघ २०८१, ११ : १८
सोमबार, २१ माघ २०८१

साथीहरू, हामीले वसन्तपञ्चमीका दिन सरस्वतीको पूजा गर्छौं । तपाईं हामीले किताबमा, पोस्टर, अनि मूर्तिमा सरस्वतीको तस्बिर पनि देखेका छौँ । किन मनाइन्छ होला, सरस्वती पूजा ? तपाईंलाई थाहा छ ?

सेतो वस्त्र धारण गरेकी, गोरो वर्णकी र विभिन्न गरगहना लगाएर हाँसिरहेकी; हातमा वीणा, पुस्तक र माला बोकेकी देवी सरस्वतीको तस्बिर हामीले देखेका छौँ । मेरो विद्यालयमा सरस्वतीको मूर्ति पनि छ, सायद तपाईंहरू पढ्ने सबै विद्यालयमा सरस्वतीको मूर्ति बनाइएको हुन्छ । 

उनले बोकेको पुस्तक, वीणा र मालाले हामीलाई गीत, नाचगान र लेखपढ गर्न सिकाउँछ भने मालाले ध्यान गर्न । अनि सरस्वतीको तस्बिरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वाहन हो । मयुर सुन्दर र मिठो स्वर निकाल्ने पन्छी भएकाले हामीलाई पनि त्यस्तै बन्नका लागि सायद सिकाइएको होला । 

यस दिनलाई हामी ‘वसन्त पञ्चमी’ भन्छौँ । त्यसैले आज कुनै पनि शुभ काम विवाह, व्रतबन्ध, भात खुवाइ अनि अरु कामका लागि साइत हेराइरहनुपर्दैन । त्यसैले त, यस दिन साना बच्चाहरूलाई अक्षर लेख्न सिकाइन्छ । सरस्वती विद्याकी देवी हुन् । विद्या नभई नहुने कुरा हो, विद्या भए हामी ज्ञानी, विवेकी र पैसा पनि कमाउन सक्छौँ । धन र विद्या भएपछि सबैले मान्छन् पनि । 

यस दिन हामी बिहानै उठेर नुहाइ सफा भएर सरस्वतीलाई रोटी, दही, दुध, लड्डु, सेतो र पहेँलो रङका फूल, चन्दन, शङ्ख, फलफूल, अक्षता, बुनियाँ चढाएर सरस्वतीको पूजा गर्दछौँ । विद्यालयमा धुमधामसँग पूजापाठ गरिन्छ । पढ्न आओस् भनेर आशीर्वाद मागिन्छ । यस दिन सबैले भन्ने सरस्वती स्तोत्रम् यस्तो छ :

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।

पञ्चमन्तु जगन्माता षष्टं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी ।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।

एतद्द्वादश नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।

यो सरस्वती स्तोत्रम् तपाईंलाई पनि कण्ठ आउँछ ? 
सरस्वतीप्रति साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी धेरैको आस्था र विश्वास रहेको पाइन्छ । यस दिन सबैले आ–आफ्नै किसिमले सरस्वतीको रूपमा पूजा–आराधना समेत गर्छन् ।
०००
कक्षा : ४
बागमती बोर्डिङ सेकेन्डरी स्कुल, सुकेधारा काठमाडौँ


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिवांशी खड्का
शिवांशी खड्का
लेखकबाट थप