अब घरायसी प्रयोजनका ग्यासमा अनुदान
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास व्यावसायिक र घरायसी प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । दुवै प्रयोजनमा ग्यास परल मूल्यमा बिक्री गरेता पनि घरायसी प्रयोजनमा खपत हुने ग्यासमा भने अनुदान दिने तयारी थालेको निगमले जनाएको हो ।
घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन सफ्टवेयर प्रणाली निर्माण अघि बढाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । घरायसी प्रयोजनमा एलपी ग्यास उपयोग गर्ने उपभोक्तालाई अनुदान दिनका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा अहिले सफ्टवेयर निर्माण थालिएको उनको भनाइ छ । अब उक्त सफ्टवेयरमा घरायसी प्रयोगकर्तालाई सहभागी गराई अनुदान उपलब्ध गराइने तयारी भइरहेको छ ।
‘घरायसी प्रयोगकर्तालाई अनुदान उपलब्ध गराउनेबारे राष्ट्रिय वाणिज्य बैंकसँग छलफल गर्यौँ ,’ उनले भने, ‘छलफलमा घरायसी प्रयोजनमा एक परिवारले वार्षिक रूपमा खपत गर्ने सिलिण्डर संख्या तोकेर सोहीअनुसारको अनुदान रकम सफ्टवेयरमार्फत उपलब्ध गराउने निर्णय भएको र अहिले सफ्टवेयर निर्माणको काम भइरहेको छ ।’
प्रवक्ता ठाकुरका अनुसार हाल निगमले प्रतिसिलिण्डर ३२२ रुपैयाँ घाटा खाएर बिक्री गरिरहेको छ । तर अब परल मूल्य कायम हुँदा हाल बिक्री भइरहेको मूल्यमा घाटा रकम ३२२ रुपैयाँ प्रतिसिण्डिरमा जोडेर बिक्री गर्ने तयारी थालेको छ । निगमले हाल १४.२ किलो परिमाणको ग्यास १९१० रुपैयाँमा बिक्री गर्दै आएको छ । उक्त मूल्यमा घाटा रकम जोड्दा २ हजार २३२ रुपैयाँ प्रतिसिलिण्डर पर्न जान्छ ।
‘आजको दिनमा निगमले ३२२ रुपैयाँ घाटा बेहोर्दै ग्यास बिक्री गरिरहेको छ । घरायसी प्रयोजनमा ठिकै हो तर व्यावसायिक प्रयोजनमा समेत घाटा खाएर बिक्री गर्नु उचित हुँदैन,’ प्रवक्ता ठाकुर भन्छन्, ‘व्यावसायिक प्रयोगकर्ताले परल मूल्यमा उपभोग बिक्री नगर्दा निगमलाई घाटा भएको छ । त्यो घाटा कम गर्न सबैलाई परल मूल्यमा उपलब्ध गराउने र घरायसी प्रयोजनका उपभोक्तालाई अनुदान दिन्छौँ ।’
अबदेखि परल मूल्यमा बिक्री गर्ने र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा घाटा रकम अनुदान सिधै उपभोक्ताको खातामा पठाउने व्यवस्था गरेको छ । साथै घाटा बेहोरेको बराबरको मूल्य घरायसी प्रयोजनका उपभोक्तालाई अनुदानका रूपमा दिने उनले बताए ।
- यसरी उपलब्ध गराइन्छ अनुदान
घरायसी प्रयोजनमा ग्यासमा अनुदान उपलब्ध गराउनका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एउटा सफ्टवेयर तयार गरिरहेको छ । साथसाथै अनुदान उपलब्ध गराउनका लागि निगमले एउटा मोडालिटी तयार गरेको छ । उक्त मोडालिटी अनुसार कम्तीमा ४ जना सदस्य भएको एउटा परिवार मानेको छ ।
साथै घरायसी प्रयोजनमा ग्यास उपयोग गर्ने उपभोक्ता कम्तीमा चार जना सदस्य भएको हुनुपर्नेछ । साथै यस्तो परिवारलाई वार्षिक रूपमा बढीमा ८ वटा सिलिण्डरमा अनुदान रकम उपलब्ध गराउने उक्त मोडालिटिमा व्यवस्था गरिएको प्रवक्ता ठाकुरको भनाइ छ ।
‘४ जना सदस्यलाई एउटा परिवार मानेर अहिले मोडालिटी तयारी भएको छ । त्यही हिसाबले सफ्टवेयर पनि बनिरहेको छ,’ उनले भने, ‘सफ्टवेयर बनिसकेपछि त्यहीअनुरुप अनुदान लागू हुन्छ ।’
ठाकुरका अनुसार अनुदानका लागि निगमले घरायसी प्रयोजनमा खपत गर्ने उपभोक्ताको नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सिस्टममा राख्ने व्यवस्था गरिनेछ । सिस्टम बनिसकेपछि निगमले परीक्षण गरी कार्यान्वयनमा ल्याउने छ ।
घरायसी प्रयोगकर्ताले पनि खरिद गर्दा परल मूल्यमा खरिद गर्ने र त्यसको बिल सफ्टवेयरको सिस्टममा अपलोड गर्ने व्यवस्था हुनेछ । साथै सिस्टममा स्वीकृति भइसकेपछि अनुदानको रकम सम्बन्धित उपभोक्ताको खातामा ट्रान्सफर हुने व्यवस्था गरिएको छ ।
- कहिले सुरु हुन्छ अनुदान वितरण ?
गत पुस २६ गते निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिने माघ महिनाभित्र अभ्यासमा लैजाने बताएका थिए ।
‘यसअघि व्यावसायिक रूपमा खपत हुने ग्यासमा अनुदान दिँदै आएको थियो,’मन्त्री भण्डारीले भने, ‘यसमा निगमले ११ अर्ब रकम अनुदान दिनुपर्ने थियो । अब घरायसी प्रयोजनमा अनुदान दिँदा ९ अर्ब रकम निगमको खर्च हुनेछ ।’
व्यावसायिक प्रयोजनमा भन्दा घरायसी प्रयोजनमा अनुदान दिँदा निगम र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको भनाइ थियो । सोही अनुरूप निगमले अहिले यस्तो अनुदान प्रक्रिया कार्यान्वयनमा ल्याउन पहल गरेको प्रवक्ता ठाकुरको भनाइ छ ।
‘मन्त्रीज्यूले घरायसी प्रयोजनमा खपत हुने ग्यासको अनुदान दिनुपर्छ भनेर निकै पहल भएको छ । उहाँकै निर्देशनमा निगमले पहल गरेको छ,’ उनले भने ।
अब सफ्टवेयर बन्नलाई एक महिना लाग्ने र बनिसकेपछि परीक्षण गरी कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । साथै फागुन अन्तिम सम्म यस्तो अनुदान वितरणका लागि प्रक्रिया सुरु हुने उनले बताए ।
- कति छ खपत ?
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाअनुसार ४४ प्रतिशत जनसंख्याले घरायसी प्रयोजनमा ग्यास प्रयोग गरेको पाइएको छ । हाल के कति ग्यास घरायसी प्रयोजनमा खपत हुन्छ र व्यावसायिक प्रयोजनमा हुन्छ भन्ने कुनै तथ्यांक छैन ।
वार्षिक रूपमा एलपीजी ग्यास खपतको अवस्था हेर्ने हो भने साढे ४ लाख मेट्रिक टनदेखि ५ लाख मेट्रिक टनसम्म खपत हुने गरेको निगमले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ४४९०६३ मेट्रिक टन ग्यास खपत भएको थियो । २०७६/७७को तुलनामा २०७७/७८ मा ६.४ प्रतिशतले खपत बढेको थियो । २०७७/७८ मा ४७७७५२ मेट्रिक टन ग्यास खपत भएको थियो ।
यस्तै २०७७/७८को तुलनामा २०७८/७९ मा १२.२ प्रतिशतले खपत बढेको थियो । २०७८/७९ मा ५३६०२८ मेट्रिक टन ग्यास खपत भएको थियो ।
२०७८/७९ को तुलनामा २०७९/८० मा भने ४ प्रतिशतले कमी आएको थियो । आर्थिक वर्ष २०७९/८० मा ५१४७१७ मेट्रिक टन र आर्थिक वर्ष २०८०/८१ मा ५२४२७४ मेट्रिक टन खपत भएको थियो । २०८०/८१ मा १.९ प्रतिशतले खपत बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० घण्टाभित्रै चोरी भयो ‘कसैले चोरी गर्न नसक्ने’ दाबी गरिएको कार
-
सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
-
मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
अमेरिकामा अर्को विमान दुर्घटना टर्यो
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
चर्चाका लागि इन्फ्लुएन्सरले रेकर्ड गरिन् तोडफोडको भिडियो, ५ वर्षको जेल सजायपछि रुवाबासी