सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

हतारमा पार्टी एकता भन्दा प्रचण्डको ध्यान अर्कैतिर

सोमबार, २१ माघ २०८१, १० : ३१
सोमबार, २१ माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हतारमा पार्टी एकता नगर्ने मुडमा देखिएका छन् । उनका यही मनस्थितिका कारण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र महिन्द्र राय  नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)सँग हुने भनिएको एकता पर धकेलिँदै आएको छ । 

 करिब १९ महिना सरकारको नेतृत्व गरेका प्रचण्ड असार ३१ गते सत्ताबाट बाहिरिएपछि अन्य वामपन्थी पार्टीसँग हतारमा एकता गर्नेभन्दा पनि पार्टी संगठनलाई बलियो बनाएर जाने पक्षमा देखिन्छन् । माघ ८ गते खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि तत्काल अन्य पार्टीसँग एकताभन्दा आन्तरिक संगठनलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएको एक पदाधिकारीले बताए ।

‘विचार मिल्ने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टीसँग एकता नगर्ने भनेको छैन । पहिला आफै बलियो हुनु पर्‍यो नि । पार्टी बलियो भएपछि विचार, सिद्धान्त मिल्नेसँग एकता गरेर जाँदा राम्रो हुन्छ भन्ने पार्टीको निष्कर्ष हो । तर नेकपा र नेसपासँग एकता गर्ने भनेर पहिले नै सहमति भइसकेकाले पदाधिकारी बैठकले निर्णय गर्छ’, रातोपाटीसँग तीन नेताले भने ।

सत्ताबाट हटेपछि प्रचण्ड आफै आन्तरिक बैठकमा निकै व्यस्त देखिएका छन् । यस बिचमा पटक पटक पार्टीको पदाधिकारी, स्थायी समिति बैठक राखेका प्रचण्ड पुस(२१–२३)मा केन्द्रीय समिति बैठक सम्पन्न गरे । एकता प्रक्रियामा आएका नेताहरूलाई साबिक पार्टी सरहकै जिम्मेवारी दिने निर्णय माओवादीले गरिसकेको छ । 

केन्द्रीय समिति बैठकले नेकपा र नेसपा लगायत दलहरूसँग एकता गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्ने भनिएको थियो । तर निर्णय भएको एक महिना पुग्न लाग्दासमेत निर्णय कार्यान्वयनमा आउन सकिएको छैन । प्रवक्ता अग्निप्रसाद सापकोटाले यसबिचमा विद्यार्थीको चुनाव भएकाले निर्णय कार्यान्वयनमा ढिलाइ भएको तर्क गरेका छन् । पदाधिकारी बैठकले सबै नेताहरूको जिम्मेवारी दिने तयारी भइरहेको बताए ।

‘विद्यार्थी संगठनको चुनावका कारण केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो । छिट्टै पदाधिकारी बैठक बसेर सबै नेताहरूलाई जिम्मेवारी दिएर पालिका पठाउँछ’, केही दिनअघि प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा उनले भनेका थिए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले केहीअघि पार्टी एकता प्रचण्डले नै नचाहेको आरोप लगाएका थिए । यसै वर्षको वैशाखमा नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । तर निर्णय भएको ८ महिनासम्म उनले एकताका लागि कुनै चासो नदेखाएपछि मंसिर दोस्रो साता कपिलवस्तुको शिवगढीमा सम्पन्न केन्द्रीय समिति बैठकमा विप्लवले तीव्र असन्तुष्टि पोखेका थिए । 

माघ १५ गते समाजवादी मोर्चाको काठमाडौँमा भएको सभामा समेत पार्टी एकताप्रति ढिलाइ भएकोमा प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । सभामा प्रचण्ड, विप्लव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच निकैबेर घोचपेच नै चलेको थियो ।  विप्लव र नेपालले लगाएको आरोपप्रति प्रचण्डको असन्तुष्टि प्रस्ट झल्किन्थ्यो ।

‘पार्टी एकतामा प्रचण्डले अरुचि ग¥यो कि भने जसरी कमरेडहरूले मप्रति ताक्ने गरेका छन्, त्यस्तो होइन– म तत्काल एकता गर्ने पक्षमा छु । तर हतारोमा एकता गर्दा नेकपा असफल भएको विगतका अनुभव छन् । मोर्चा बनाएर नै जाऊँ त्यसपछि विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ । यसको मतलब कछुवाको गतिमा वर्षौँ लगाउने भन्न खोजेको होइन,’ असन्तुष्टि पोख्दै उनले भनेका थिए ।

नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले पनि पार्टी एकताका लागि आफूले निर्णय गरे पनि प्रचण्डले नै नचाहेको आरोप लगाए । यद्यपि विचार र राजनीतिमा निष्कर्षमा नपुगेसम्म अगाडि नबढ्ने उनले दाबी गरे ।

‘विचार र राजनीतिमा एउटा निष्कर्षमा नपुगेसम्म अगाडि बढ्दैन । प्रचण्डजी पहिला संगठनको कुरा मिलाऊँ– विचार र राजनीतिक कार्यदिशाबारे छलफल गर्दै गरौँला भन्नुहुन्छ, त्यस्तो हुँदैन । माओवादीमा विचार, राजनीतिक कार्यदिशा मात्र होइन संगठनमा पनि एकरूपता छैन’, उनले भने, ‘प्रचण्डले आफ्ना पङ्क्तिलाई एक ठाउँमा ल्याउनु पर्‍यो नि । माओवादीको व्यक्तिपिच्छे फरक फरक धारणा छ । एउटालाई भेट्दा अर्कोले शङ्का गर्ने उहाँहरूको बानी नै हो । हाम्रो माओवादीका सबै नेतासँग राम्रो सम्बन्ध छ ।’

खासगरी मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले उल्लेख्य मत र सिट सङ्ख्या बढाएपछि हौसिएका प्रचण्ड अहिले देश दौडाहामा निस्किएका छन् । पूर्व–पश्चिम जहाँ पुग्छन् उनी स्थानीयसँग घुलमिल हुने, सँगै खाना खाने, मर्निङ वाक गर्ने, गुनासा सुन्ने, सहिद परिवार, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारसँग समय बिताउने गरेका छन् ।

 पदाधिकारी बैठकबाट सबै केन्द्रीय सदस्यहरूलाई पालिकाको जिम्मा दिएर ६ महिना पूर्व–पश्चिम मध्यपहाड राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । धेरै समय देशको पूर्वी क्षेत्रको कार्यक्रममा व्यस्त रहेका प्रचण्डमा माओवादी फेरि कमब्याक हुनेमा आशा बढेको देखिन्छ । कोशी प्रदेशका इन्चार्ज समेत रहेका उपमहासचिव हरिबोल गजुरेलले पनि पूर्वबाट नै माओवादी कमाब्याक हुने दाबी गरे । २०८४ को आम निर्वाचन कांग्रेस र एमालेसँग सहकार्य नगरी एक्लै लड्ने प्रचण्डले दाबी गर्दै आएका छन् ।

‘पछिल्लो समय माओवादीले सत्ताको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गरेकाले हाम्रो पार्टीप्रति जनआकर्षण बढेको छ । अब हाम्रो सम्पूर्ण ध्यान पार्टी निर्माण र समाजवादी विचार संश्लेषण दिनुपर्छ । २०८४ सम्म सत्तामा जान हुँदैन भनेर पार्टीले निर्णय गरेको छ । अब पार्टीको सम्पूर्ण शक्ति जनतामा केन्द्रित रहन्छ । पहिला पार्टी बलियो भएपछि वामपन्थी शक्तिसँग एकता र ध्रुवीकरण गर्नुपर्छ’, उनले भने ।

माओवादीभित्र प्रचण्ड मात्रै सक्रिय रहेको र अन्य नेताहरूले जिम्मेवारी नपाएकोमा असन्तुष्टि बढ्दै गएको छ । केन्द्रीय समिति बैठकमा पनि अधिकांश नेताहरूले नेतृत्वको जीवनशैली बदल्नुपर्ने, सबै नेताहरूलाई जिम्मेवारी दिनुपर्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने सुझाव दिएका थिए । 

एक हजार हाराहारीको केन्द्रीय समिति रहेको माओवादीमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ । धेरैजसो केन्द्रीय नेताहरूले भूगोलको जिम्मेवारी लिन नचाएको बुझिएको छ । कतिपयले कार्य विभाजनप्रति असहमति जनाएकाले निर्णय गर्न ढिलाइ भएको अर्का एक पदाधिकारीले बताए । नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनसम्बन्धी कार्यदलले प्रस्तावमा अधिकांशले चित्त नबुझाएको ती नेताले बताए । ती नेताका अनुसार अहिलेसम्म कार्यदलको बैठक समेत बसेको छैन ।

‘क–कसले कुन जिम्मेवारी पाए थाहा छैन । कार्यदलको बैठक अहिलेसम्म बसेको पनि थाहा छैन । बैठकमा कुनै छलफल भएको छैन । पम्फाजीले प्रस्ताव पेस गर्नुभएको छ । कुनै  निर्णय भएको छैन’, ती नेताले भने ।

कार्यदलमा पम्फा भुसालसहित उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । कार्यविभाजनबारे छलफल गर्न प्रचण्डले माघ २ गते पदाधिकारी बैठक बोलाएका थिए । दोस्रो पटक विद्यार्थीको निर्वाचनसम्बन्धमा माघ ८ गते बैठक बसेको थियो । त्यस बैठकमा सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिसकेको र अब एक घण्टा बसेपछि सबै ठिक हुने प्रचण्डले जवाफ दिएका थिए । निर्णयका लागि उनले आइतबार बिहान ११ बजे बैठक बोलाएका थिए । तर प्रचण्ड गृह जिल्ला चितवनमा व्यस्त रहेकाले दिउँसो २ बजे बस्ने गरी सबै नेताहरू सूचना दिएको थियो । अन्ततः दोस्रो पटक पनि बैठक नबसी सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

स्रोतका अनुसार अघिल्ला बैठकमा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशको  इन्चार्ज फेर्ने विषयमा छलफल भएको छ । प्रदेशको साथै केन्द्रीय कार्यालय र प्रचण्डका सचिवालय सदस्य पनि हेरफेर गर्ने माओवादीको तयारी छ । 

जिम्मेवारीको यही गाँठो नफुक्दा बैठक पटक पटक प्रभावित हुँदै आएको छ । यसै कारणले केन्द्रीय समिति बैठक सम्पन्न भएको एक महिना हुँदा समेत निर्णय हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप