सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘पुँजीवादले जलवायु संकट समाधान गर्न सक्दैन’

सोमबार, २१ माघ २०८१, ०९ : ००
सोमबार, २१ माघ २०८१

३७ वर्षे जापानी नागरिक काहेइ साइतो टोकियो विश्वविद्यालयका प्राध्यापक हुन् । उनले मार्क्सका कृतिहरूको अध्ययन गरेर पर्यावरणबारे मार्क्सको धारणासँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् । यस क्रममा उनले मार्क्सका मूल कृतिहरूको जर्मन भाषामै अध्ययन गरेका हुन् ।

उनका पुस्तकहरू पछिल्लो समय विश्वव्यापी रूपमा लोकप्रिय छन् । पर्यावरणीय समाजवाद अर्थात् इको–सोसलिजम, ‘डी–ग्रोथ’ जस्ता अवधारणाको चर्चाका कारण साइतोले विश्वको ध्यान आफूतर्फ खिच्न सफल भएका छन् । हालसम्म उनका ‘मार्क्स इन एन्थ्रोपोसिन’, ‘स्लो डाउन’ र ‘कार्ल मार्क्स इको–सोसलिजम’ पुस्तक प्रकाशित छन् । विश्वव्यापी चर्चामा रहेका जापानी युवा प्राध्यापकसँगको कुराकानी हामीले जर्मन समाचार संस्था डिडब्ल्युबाट अनुवाद गरेका हौँ ।

  • तपाईंले आफ्नो पुस्तकको सुरुमा ‘पर्यावरणमैत्री झोला (इको–ब्याग) बोक्ने वा जीवाश्म इन्धनमा आधारित इन्जिनबाट विद्युतीय गाडी प्रयोग गर्नेहरूको’ आलोचना गर्नुभएको छ । उनीहरूको आलोचना किन ?

जलवायु परिवर्तनको सङ्कट जति गम्भीर छ त्यसमा यस्ता सानातिना कामले समाधानको विधि पहिल्याउन तथा त्यसमा परिवर्तन ल्याउन सक्दैनन् । यो सङ्कट हामीले सोचे भन्दा धेरै गम्भीर र गहिरो छ । आजसम्म मानव जातीले भोगेका संकटहरूको तुलनामा यो सबैभन्दा ठुलो हो । यसैका कारण अकालमै धेरै मानिसको मृत्यु हुनेवाला छ ।

जब तपाईं कुनै पर्यावरणमैत्री झोला बोल्नुहुन्छ वा केही प्लास्टिकको पुनः प्रयोग (रिसाइकल) गर्नुहुन्छ, त्यसबेला तपाईंलाई मैले पर्यावरण जोगाउन भूमिका खेलेँ भनेर राम्रो लाग्छ । खासमा भन्ने हो भने यो आरामदायी तरिका हो । तर, यसको समस्या के हो भने यस्तो व्यवहारले हामीलाई आजको अवस्थासम्म ल्याई पुर्‍याउन भूमिका खेल्ने गर्छ । व्यापारीहरूले केही यस्ता पर्यावरणमैत्री सामान उत्पादन गर्छन् । राम्रो छवि बनाउँछन् । तर, यस्तो काम त मूलतः आफ्नो उत्पादन बेच्नका लागि गरिन्छ ।

यहाँ भन्नु पर्ने महत्त्वपूर्ण कुरा के हो भने हामी सामान्यतया चाहिने भन्दा धेरै उत्पादन गरिरहेका छौँ र आवश्यक भन्दा धेरै खपत गरिरहेका छौँ । कसैले पनि खपत घटाउने कुरा गरिरहेका छैनन् । हामीले एउटा प्लास्टिक रिसाइकल गर्नु भन्दा समस्या धेरै व्यापक र जटिल छ भन्ने बिर्सिनु हुँदैन । त्यसैले हामीले अहिलेको व्यवस्थाबारे नै सोच्नुपर्छ । पुँजीवादी व्यवस्थाबारे नै पुनर्विचार गर्नुपर्छ । पुँजीवादले आफूलाई टिकाउनका लागि उत्पादनको निरन्तर विस्तार र व्यापक उपभोगलाई कायम राख्नै पर्ने हुन्छ ।

  • तपाईंका पुस्तकले आजको समय र जलवायु विपद्लाई कार्ल मार्क्सका कृतिहरूको आलोकमा हेर्ने प्रयास गरेका छन् । मार्क्सले यस्तो सङ्कट र पुँजीवादलाई कसरी हेरेका रहेछन् त ?

मार्क्सलाई प्रायः पुँजीवादको आलोचना गर्ने र खास गरी श्रमिकहरूको शोषण तथा यो व्यवस्थाले निम्त्याउने असमानताको कुरा गर्ने व्यक्तिका रूपमा हेरिन्छ । उनको अध्ययन गर्ने समाजवादीको समस्या के छ भने उनीहरू कसरी पुँजीवादलाई नयाँ प्रविधि र उत्पादक शक्तिले विस्थापित गरेर उन्नत समाजको रचना गर्न सकिन्छ भन्ने बारेमा मात्रै कुरा गर्छन् । उनीहरूले भनेको नयाँ व्यवस्थामा प्रत्येक मान्छे पुँजीवादी जस्तै हुन सक्छ । फगत उसले शोषण चाहिँ गर्दैन । उपभोगको शैली त उस्तै हुन्छ नि ।

जबसम्म पुँजीवाद रहन्छ यसको अर्थतन्त्रको अनन्त विस्तार पनि जारी रहन्छ । र, यसले पर्यावरणमा गम्भीर समस्याहरू पनि सृजना गरिरहन्छ ।

मलाई मार्क्सबारेको यस्तो अध्ययन समस्याग्रस्त लाग्छ । जब मैले मार्क्सका कृति पढ्न थालेँ, म पर्यावरणबारे पनि त्यत्तिकै ध्यान दिइरहेको थिएँ । मार्क्सका अनुसार पुँजीवादमा पर्यावरणीय समस्या स्वाभाविक हुन । यसमा प्रविधि र नव–प्रवर्तन केवल नाफाका लागि सिर्जना गरिएका हुन्छन् । मार्क्सका अनुसार मान्छे र प्रकृतिबिचमा एक खालको मेटावोलिक (यसमा  शरीर भित्र जीवनका लागि आवश्यक रासायनिक प्रक्रियाहरू, जसमा शरीरले खानालाई कसरी ऊर्जामा रूपान्तरण गर्छ र कसरी फोहोरको विसर्जन गर्छ भन्ने समावेश छ । यसले शरीरलाई राम्रोसँग काम गर्ने सबै भौतिक र रासायनिक गतिविधिहरू समेट्छ ।) अन्तरक्रियाको सम्बन्ध हुन्छ । 

तर, पुँजीवाद त विस्तृत र तीव्र हुन्छ । यसै कारण यसले बढी भन्दा बढी उत्पादन गर्ने र बेच्ने काम गर्छ । यसले प्राकृतिक स्रोतको दिगोपनाको ख्याल नै गर्दैन । यसो गर्दा त्यो मेटावोलिक अन्तरक्रियामा समस्या पैदा हुन्छ । यसले त्यसमा असन्तुलन पैदा गराउँछ । यो पुँजीवादले निम्त्याउने जोखिम हो । मार्क्सले यसको आलोचना गरेको हो । जबसम्म पुँजीवाद रहन्छ यसको अर्थतन्त्रको अनन्त विस्तार पनि जारी रहन्छ । र, यसले पर्यावरणमा गम्भीर समस्याहरू पनि सृजना गरिरहन्छ ।

  • तपाईंले ‘पुँजीवादी व्यवस्थाभित्र डी–ग्रोथ’ लाई समस्या समाधानको सूत्रको रूपमा उल्लेख गर्नु भएको छ, त्यो भनेको के हो ?

आजको दिनमा स्वयं पुँजीवादीहरू पनि यो समस्याबारे सचेत हुन थालेका छन् । जलवायु परिवर्तनले उनीहरूलाई पनि असर गर्छ । त्यसैले अहिले उनीहरू अर्थतन्त्रमा कार्बनको मात्रा कसरी घटाउने भन्नेबारे कुरा गर्न थालेका छन् । साथै उनीहरूलाई कसरी पुँजीवादलाई जोगाउने भन्ने पनि चाहिएको छ किनभने पुँजीवादमा वृद्धि भएन भने पुँजीवादमा त प्रलय नै आइहाल्छ ।

जलवायु परिवर्तनले पुँजीवादीलाई पनि असर गर्छ । त्यसैले अहिले उनीहरू अर्थतन्त्रमा कार्बनको मात्रा कसरी घटाउने भन्नेबारे कुरा गर्न थालेका छन् । साथै उनीहरूलाई कसरी पुँजीवादलाई जोगाउने भन्ने पनि चाहिएको छ किनभने पुँजीवादमा वृद्धि भएन भने पुँजीवादमा त प्रलय नै आइहाल्छ ।

हाम्रो विद्यमान प्रणालीको आधारभूत मान्यता भनेकै प्रत्येक वर्ष अर्थतन्त्र थप बढ्दै जान्छ भन्ने हो । अब आजको अवस्थामा जलवायु परिवर्तनलाई पनि सम्बोधन गर्दै के उनीहरूले यसो गर्न सक्छन् त ? त्यही भएर उनीहरू हरित प्रविधि, नवीकरणीय ऊर्जा जस्ता कुरामा लगानी बढाउनुपर्ने कुरा गरिरहेका छन् । उनीहरूलाई लागेको छ, एकैसाथ कार्बन उत्सर्जन घटाउँदै तथा नयाँ कारखानामा लगानी गरेर रोजगारी सिर्जना गर्दै अब पनि अर्थतन्त्रमा वृद्धि सम्भव छ । 

हाम्रो समस्या नै के भयो भने हामी आर्थिक वृद्धि पनि चाहन्छौँ र पर्यावरण राम्रो भएको पनि देख्न चाहन्छौँ । हामीलाई धेरै भन्दा धेरै विद्युतीय सवारी साधन उत्पादन गर्नु परेको छ । यसको अर्थ हो हामीलाई अझै नवीकरणीय ऊर्जा आवश्यक पर्छ । अझै धेरै सोलार प्यानल, अझै धेरै विन्ड टर्बाइन, अझै धेरै ब्याटरी चाहिन्छ । यसले फेरी अझै धेरै स्रोत–साधन र ऊर्जाको आवश्यकता हुन्छ ।

  • यस्तो हुनु नराम्रो हो त ?

हामीले आउँदो २०–३० वर्षमा पर्यावरणलाई तीव्र गतिमा कार्बनमुक्त बनाउनु पर्नेछ । हामीसँग समय सीमित छ । त्यसैले अब हामी धेरै उत्पादनको बाटोमा लाग्यौँ भने त्यसले राम्रो गर्दैन । हामीले अनावश्यक बस्तुको उत्पादन त घटाउनै पर्ने हुन्छ । 

खास गरी ल्याटिन अमेरिका लगायतका देशहरूमा अब लिथियम जस्ता खनिजको अझै धेरै उत्खनन, दोहन हुनेवाला छ । ग्रिन क्यापिटलिजम (हरित पुँजीवाद) ले प्राकृतिक स्रोतको अझै धेरै दोहन गर्नेवाला छ । इएसजी (पर्यावरण, समाज र शासन भनिने रुपरेखा) को नाममा अझै जबर्जस्ती दोहन हुनेवाला छ ।

‘अमेरिकन ग्रिन न्यु डिल’ पक्कै पनि अमेरिकी श्रमिक वर्गको हितमा त छ तर यो धरतीका असङ्ख्य मानिसको अहितमा छ । प्रस्ट छ यसलाई संसारभर अनुकरण गर्न सम्भव छैन ।

यसै कारण म ‘अमेरिकन ग्रिन न्यु डिल’ को आलोचक हुँ । यो पक्कै पनि अमेरिकी श्रमिक वर्गको हितमा त छ तर यो धर्तीका असङ्ख्य मानिसको अहितमा छ । प्रस्ट छ यसलाई संसारभर अनुकरण गर्न पनि सम्भव छैन । त्यसैले मलाई यो रणनीति ठिक होइन भन्ने लाग्छ । तपाईं साँच्चै सबै मान्छेको जीवनको चिन्ता गर्नु हुन्छ भने तपाईंले अझै उन्नत नीति बनाउनु पर्ने हुन्छ ।

  • अनि अति विपन्न देशहरूका बारेमा चाहिँ ?

मैले हामी अहिलेकै स्तरको विकासमा रहिरहनु पर्छ भनेको छैन । पक्कै पनि गरिब मुलुकलाई अझै धेरै विकासको खाँचो छ । ब्राजिलका धेरै ठाउँहरूमा सडक, विद्युत्, खानेपानी जस्ता अझै धेरै पूर्वाधार चाहिएकै छ । तर, ज्यादा उत्पादन र बढी वृद्धिले समस्या समाधान गर्दैन । किनभने धनीहरू सजिलै धेरै खर्च गर्न सक्छन् । 

Kohei Saito

उनीहरू सहजै आफ्ना पानी जहाजहरू, जेट, कार, गगनचुम्बी महल तथा अत्यधिक उपभोगमा खर्च त गरि नै रहन्छन् । सम्भवतः सन्तोषजनक शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सफा हावासहित दिगोपना र लोकतन्त्रमा केन्द्रित भएको समाज मात्रै समतामूलक हुनसक्छ । 

जलवायु परिवर्तन जति गहन हुँदै जान्छ, पुँजीवादी सङ्कट पनि त्यति नै गहिरिँदै जान्छ । धेरै मानिसले अहिलेको प्रणाली तर्कसंगत छैन भन्ने बुझ्दै जान्छन् । त्यसपछि ३.५ प्रतिशत मानिस विद्यमान परिस्थिति फेर्नका लागि उठ्नेछन् । उनीहरू उही इको–ब्याग बोक्ने वा प्लास्टिकका बोतल रिसाइकल गर्नेमा सीमित हुने छैनन् ।
  • पुस्तकको अन्त्यमा तपाईंले जम्मा साँढे ३ प्रतिशत मानिसले अहिलेको संकटमा ठुलो फेरबदल ल्याउन सक्छन् भन्नु भएको छ । यसलाई थोरै व्याख्या गरिदिनुस् न !

हामी प्रायः जसो केही कुरा बदल्न ५० प्रतिशत भन्दा बढी मान्छे संलग्न हुनुपर्छ भन्ने सोचिरहेका हुन्छौँ । तर, त्यो आवश्यक छैन । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक एरिका चेनोवेथले गर्नु भएको एक अध्ययनले देखाएको छ साँच्चै लाग्ने हो भने जम्मा ३.५ प्रतिशत मानिसले परिवर्तन सम्भव छ ।केही बदल्नका लागि पनि ३.५ प्रतिशत मानिस शान्तिपूर्वक तथा अहिंसात्मक ढंगले उठे भने परिवर्तन सम्भव छ । समाज यसरी फेरिएको छ । साथै भविष्यमा पनि फेरिनेछ । 

त्यसैले मलाई लाग्छ जलवायु परिवर्तन जति गहन हुँदै जान्छ पुँजीवादी सङ्कट पनि त्यति नै गहिरिँदै जान्छ । धेरै मानिसले अहिलेको प्रणाली तर्कसंगत छैन भन्ने बुझ्दै जान्छन् । त्यसपछि त्यो ३.५ प्रतिशत मानिस विद्यमान परिस्थिति फेर्नका लागि उठ्नेछन् । उनीहरू उही इको–ब्याग बोक्ने वा प्लास्टिकका बोतल रिसाइकल गर्नेमा सीमित हुने छैनन् । उनीहरू हालको अवस्था फेर्न उठ्नेछन् ।

(डिडब्ल्युबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप