सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
विपिनको रिहाइ

विपिन रिहाइमा नेपालको पहल नपुगेकै हो त ?

सोमबार, २१ माघ २०८१, ०५ : ५०
सोमबार, २१ माघ २०८१

काठमाडौँ  । हमास र इजरायबिच युद्धविराम भएपछि दुवैतर्फका बन्धक धमाधम रिहा भइरहेका छन् । तर, नेपाली युवा विपिन जोशीको हालसम्म कुनै टुंगो लागेको छैन । 

हमास समूहले सन् २०२३ अक्टुबर ७ मा इजरायलको अलमिम कबुजबाट विपिनलाई बन्धक बनाएको थियो । उनी बन्धकमा परेको झण्डै डेढ वर्ष हुन लागेको छ । हालै युद्धविरामपछि दुवैतर्फका बन्धकहरू रिहा हुँदा विपिनको परिवार पनि रिहाइको बाटो हेरेर बसिरहेका छन् । 

विपिन रिहाइका लागि नेपालको तर्फबाट पहल नभएको पनि भन्न पनि मिल्दैन । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पनि पहल गरिरहेका छन् । 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले यस विषयमा कतारका विदेशमन्त्रीसँग पटक पटक फोनमा कुरा गरेकी छन् । नेपालका लागि कतारी राजदूतलाई बोलाएर उनले छलफल गरेकी थिइन् । 

माघ १ गते परराष्ट्रमन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् । त्यही दिन उनले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोन गरी रिहाइको पहल गर्न आग्रह गरेकी थिइन् । 

माघ ७ गते मन्त्री राणाले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल अतिसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् । त्यसअघि पनि उनले नेपालका लागि कतारी राजदूत जदूत युसूफ बिन मोहम्मद अल–हइललाई मन्त्रालयमै बोलाएर कुराकानी गरी पहलका लागि आग्रह गरेकी थिइन् । 

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेला पनि मन्त्री राणाले विपिनको रिहाइका लागि अपिल गरेकी थिइन् । 

मन्त्री राणा मात्र होइन, यसअघिका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले पनि विपिनलाई छुटाउन पहल गरेका थिए । विपिन बन्धक बनाइएको बेला नेपालमा परराष्ट्रमन्त्री रहेका एनपी साउद कतार गएर त्यहाँका सरकारसँग यसबारे कुरा गरेका थिए । 

२०८० मंसिरको पहिलो हप्ता नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँगको भेटघाटमा पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए । तत्कालीन परराष्ट्रमन्त्री साउदले पनि राज्यमन्त्री मुखैरीसँगको भेटघाटमा रिहाइको कुरा उठाएका थिए ।

साउदले कतार भ्रमणका बेला त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिनसँग विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए । सो भेटवार्तामा कतारी प्रधानमन्त्री थानीले रिहाको विषयलाई लिएर आफूहरू पनि चिन्तित रहेको र त्यसका लागि सकेसम्म गर्ने आश्वासन दिएका थिए । 

गत वैशाख ११ गते कतारका राष्ट्रप्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएका बेला राष्ट्रपति रामचन्द्र पौडेलदेखि तत्कालीन प्रधानमन्त्री प्रचण्डलगायत हरेक उच्चस्तरीय भेटघाटमा विपिनको रिहाइको कुरा नै उठाइरहेका थिए । अमिर शेखको भ्रमणपछि उनी रिहा हुन्छन् भन्ने धेरैले अपेक्षा गरेका थिए । सरकारले पनि आस गरेको थियो । 

तर, हालसम्म विपिन छुट्ने अत्तोपत्तो छैन । परराष्ट्रविज्ञ जयराज आचार्यले नेपालबाट कस्तो खालको पहल भएको हो, त्यो बुझ्न नसकिएको बताए । उनले भने, ‘कतार र इजिप्टलाई मात्र फोन गरेर हुँदैन, अलि फरक ढंगले पहल थाल्ने हो कि ?’

विपिन हालसम्म रिहा नहुनुको कारण नेपालको पहल नुपुगेकोजस्तो देखिएको उनको बुझाइ छ । 

तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने आफूहरूको तर्फबाट हरेक ढंगको प्रयास जारी रहेको बताए । भने, ‘जोशी रिहाइका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने हरेक पहल भइरहेको छ, चाँडै रिहा हुनेमा हामी आशावादी छौँ ।’

विपिनलाई गर्न गरिनुपर्ने सबै कूटनीतिक पहल गरिरहेको र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री राणा स्वयमले पहल गरिरहेका उनले बताए । भने, ‘अहिलेलाई यति बुझौँ, हामी आशापूर्ण ढंगले लागेका छौँ ।’

हमासको बन्धकबाट सबभन्दा बढी थाई नागरिक रिहा भएका छन् । यसो हुनुको कारण इरान र थाइल्यान्डबिच बलियो कूटनीतिक सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

इरानले पहल गरेपछि थाई नागरिकहरू रिहा भएको बताइन्छ । थाईहरूसँगै बन्धकमा परेका विपिन भने रिहा हुन सकेनन् । यस्तोमा कूटनीतिक पहल नपुगेको यससम्बन्धी मामिलाका जानकारहरूको बुझाइ छ । 

thumbs_b_c_38fd5d54aee37c7c641c59f854442f27

विपिन रिहाइको सबैभन्दा ठुलो भरोसा नेपालले कतारमाथि गरेको छ । त्यसकै कारण सबैभन्दा बढी नेपालले कतारलाई आग्रह गरेको हो । 

नेपाल र कतारबिच राम्रै कूटनीतिक सम्बन्ध छ । आफ्नो देशको विकासमा कतारले नेपालबाट थुप्रै जनशक्ति पाएको छ । तर, कूटनीतिक सम्बन्धले मात्र विपिनको रिहाइ हुने देखिएको छैन । 

एक व्यक्ति रिहाइका लागि कतारले पहल गर्ला त ? प्रश्न उठिरहेको छ । तर, कतारका अधिकारीहरूले रिहाइका लागि आफूहरू गम्भीर रहेको बताउँदै आएका छन् ।  

कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले कतारले चाहे जोशी रिहा हुन सक्ने तर, नेपालबाट हुने पहलमा भर पर्ने बताए । ‘हमास समूहसँग कतारको राम्रो सम्बन्ध छ, कतारकै मध्यस्थताका कारण पटक पटक युद्धविराम भएको हो,’ उनले भने, ‘नेपाली युवा रिहा गर्न कतारले कति पहल गरेको होला, त्यो कुरा बाहिर आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप