रातोपाटी ब्रिफिङ : पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियतादेखि नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक दर्तासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. बाघ व्यवस्थापन
कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई माघ १३ गते राति १० बजे बाघले आक्रमण गर्यो । बस्तीमै पसेको बाघ गाउँलेको होहल्लापछि भागेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । बाघको आक्रमणबाट घाइते भएकी सरस्वतीको अवस्था भने खतरामुक्त छ ।
२. पूर्वराष्ट्रपति भण्डारीको सक्रियता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौँ फर्किने कार्यक्रम छ । एक हप्ता कोशी प्रदेशको राजधानी विराटनगरमा बसेर अर्थपूर्ण ‘राजनीतिक मुभ’ गरेकी उनले सयौँ नेता तथा कार्यकर्तासँग भेट गरिन् ।
३. भूमिगत प्रणाली
नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि पोखरामा पनि भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । यसअघि भूमिगत वितरण प्रणालीमार्फत काठमाडौँका विभिन्न स्थानबाट यो सेवा दिइँदै आएको छ ।
४. सपना देखाएर सर्वत्र ठगी
नुवाकोटको ककनी गाउँपालिका–२ का ३५ वर्षीय दिनेश घिमिरे हाल जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । काठमाडौँ उपत्यकामा लामो सयमदेखि ठगीधन्दा चलाएका घिमिरेलाई पीडितहरूले ‘कुशल ठकुरी’ भनेर चिन्छन् । छद्म नामबाट हिँडडुल गर्ने घिमिरे २०७२ सालदेखि नै ठगीमा संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
५. खोकनाको जग्गा विवाद
राष्ट्रिय गौरवका आयोजना मध्येको एक हो, काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (एक्सप्रेस वे)। ७ वर्षअघि सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर, सात वर्षमा यो आयोजना साढे ३७ प्रतिशत मात्र सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । २०७४ सालदेखि निर्माण प्रक्रिया सुरु भएको यो आयोजना २०८१ पुस मसान्तसम्म भौतिक प्रगति ३७।६० प्रतिशत र ३९।५६ प्रतिशत वित्तीय प्रगति रहेको सैनिक प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
६. उपकुलपति नियुक्ति प्रक्रिया फेरि विवादमा
काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्ति प्रक्रिया फेरि विवादमा तानिएको छ । विगतमा पनि केयूको उपकुलपति नियुक्ति विवादमा मुछिने गरेको थियो । उपकुलपति छनोटका लागि पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा खोज तथा सिफारिस समिति बनेको छ । तर, नियुक्तिको प्रक्रियामा भने अनेक विवाद उत्पन्न भएको हो ।
७. यसरी टुक्र्याइँदैछ क्यान
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गरेको हो ।
८. सशस्त्र प्रहरी विधेयक
सीमा अपराध नियन्त्रण सम्बन्धी सम्पूर्ण अधिकार सशस्त्र प्रहरी बललाई दिन प्रस्ताव गरिएको छ । सङ्घीय संसदमा दर्ता भएको ‘सशस्त्र प्रहरी विधेयक’ अनुसार सीमासँग सम्बन्धित सबै अपराध नियन्त्रणमा सशस्त्र प्रहरीलाई परिचालन गर्न लागिएको हो ।
९. माओवादीभित्र शक्ति संघर्ष
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अनेरास्ववियु (क्रान्तिकारी)को निर्वाचन विद्यार्थीको नभई पार्टी नेताहरूको भएको तर्क गरे । माघ १६ गते सम्पन्न अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन २१ औँ सम्मेलनकै निरन्तरता भएको गजुरेलको दाबी थियो ।
१०. सामाजिक सञ्जाल विधेयक
सरकारले माथिल्लो सदनमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक, २०८१ माथि सरकारमै सहभागी दल असन्तुष्ट देखिएका छन् । यस विधेयकलाई संशोधन गरेर परिमार्जन गर्ने अनि मात्र कानुनी रूप प्रदान गर्ने बाचा कांग्रेस(एमालेकै उच्च तहका नेताहरूले गर्न थालेका छन् ।
११. सहकारीको रकम अपचलन
म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदनका आधारमा प्रहरीले अपचलनमा दोषी देखिएका उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका संस्थापक सचिव राजकुमार थापा, पूर्वऋण समितिका संयोजक मनप्रसाद थजाली, पूर्वअध्यक्ष थमबहादुर गर्वुजा, पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङ र पूर्वसचिव देवीकुमारी थापा छन् । राजकुमार नेकपा एमालेका नेता तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख हुन् । सहकारीको रकम अपचलनको मुख्य योजनाकार नै उनी रहेको छानबिन प्रतिवेदनले देखाएको छ ।
१२. पोखरा कोटीहोम
कोटिहोमका लागि भन्दै पोखराका विभिन्न ठाउँमा चौतारा र सयौँ वर्ष पूराना रुखहरु काटेर जम्मा गरिएको दाउरा पोखरा महानगरपालिकाले जफत गर्ने भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा रुख काटिएको विषय आएपछि सबै दाउरा जफत गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी सुरु
-
नेपालमा थ्रिजी बन्द गर्ने एनसेलको घोषणा
-
नामिबियासँग अघिल्लो हारको बदला लिन नेपालले १२६ रन बनाउनुपर्ने
-
चेक अनादरको मुद्दामा उल्लेखित रकमको पाँच प्रतिशत जरिबाना लाग्ने
-
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
पाकिस्तान रेल हाइज्याक : २७ जना अतिवादी मारिएको दाबी, कति यात्रुको भयो उद्धार ?