सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म

आइतबार, २० माघ २०८१, २२ : ००
आइतबार, २० माघ २०८१

काठमाडौँ । आज २०८१ माघ २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–

  • बाघ व्यवस्थापन

कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई माघ १३ गते राति १० बजे बाघले आक्रमण गर्‍यो । बस्तीमै पसेको बाघ गाउँलेको होहल्लापछि भागेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । बाघको आक्रमणबाट घाइते भएकी सरस्वतीको अवस्था भने खतरामुक्त छ । 

  • पूर्वराष्ट्रपति भण्डारीको सक्रियता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौँ फर्किने कार्यक्रम छ । एक हप्ता कोशी प्रदेशको राजधानी विराटनगरमा बसेर अर्थपूर्ण ‘राजनीतिक मुभ’ गरेकी उनले सयौँ नेता तथा कार्यकर्तासँग भेट गरिन् । 

  • भूमिगत प्रणाली

नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि पोखरामा पनि भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । यसअघि भूमिगत वितरण प्रणालीमार्फत काठमाडौँका विभिन्न स्थानबाट यो सेवा दिइँदै आएको छ । 

  • सपना देखाएर सर्वत्र ठगी 

नुवाकोटको ककनी गाउँपालिका–२ का ३५ वर्षीय दिनेश घिमिरे हाल जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । काठमाडौँ उपत्यकामा लामो सयमदेखि ठगीधन्दा चलाएका घिमिरेलाई पीडितहरूले ‘कुशल ठकुरी’ भनेर चिन्छन् । छद्म नामबाट हिँडडुल गर्ने घिमिरे २०७२ सालदेखि नै ठगीमा संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

  • खोकनाको जग्गा विवाद

राष्ट्रिय गौरवका आयोजना मध्येको एक हो, काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) । ७ वर्षअघि सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर, सात वर्षमा यो आयोजना साढे ३७ प्रतिशत मात्र सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । २०७४ सालदेखि निर्माण प्रक्रिया सुरु भएको यो आयोजना २०८१ पुस मसान्तसम्म भौतिक प्रगति ३७.६० प्रतिशत र  ३९.५६ प्रतिशत वित्तीय प्रगति रहेको सैनिक प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । 

  • उपकुलपति नियुक्ति प्रक्रिया फेरि विवादमा

काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्ति प्रक्रिया फेरि विवादमा तानिएको छ । विगतमा पनि केयूको उपकुलपति नियुक्ति विवादमा मुछिने गरेको थियो । उपकुलपति छनोटका लागि पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा खोज तथा सिफारिस समिति बनेको छ । तर, नियुक्तिको प्रक्रियामा भने अनेक विवाद उत्पन्न भएको हो । 

  • यसरी टुक्र्याइँदैछ क्यान

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गरेको हो । 

  • सशस्त्र प्रहरी विधेयक

सीमा अपराध नियन्त्रण सम्बन्धी सम्पूर्ण अधिकार सशस्त्र प्रहरी बललाई दिन प्रस्ताव गरिएको छ । सङ्घीय संसदमा दर्ता भएको ‘सशस्त्र प्रहरी विधेयक’ अनुसार सीमासँग सम्बन्धित सबै अपराध नियन्त्रणमा सशस्त्र प्रहरीलाई परिचालन गर्न लागिएको हो । 

  • माओवादीभित्र शक्ति संघर्ष

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अनेरास्ववियु (क्रान्तिकारी)को निर्वाचन विद्यार्थीको नभई पार्टी नेताहरूको भएको तर्क गरे । माघ १६ गते सम्पन्न अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन २१ औँ सम्मेलनकै निरन्तरता भएको गजुरेलको दाबी थियो ।

  • सामाजिक सञ्जाल विधेयक

सरकारले माथिल्लो सदनमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक, २०८१ माथि सरकारमै सहभागी दल असन्तुष्ट देखिएका छन् । यस विधेयकलाई संशोधन गरेर परिमार्जन गर्ने अनि मात्र कानुनी रूप प्रदान गर्ने बाचा कांग्रेस-एमालेकै उच्च तहका नेताहरूले गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप