आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल : आर्यन र अन्जना उत्कृष्ट

आइतबार, २० माघ २०८१, १९ : १९
आइतबार, २० माघ २०८१

काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अन्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भए । ‘पुजार सार्की’ फिल्मबाट दुबैले अवार्ड प्राप्त गरेका हुन् । 

दुबैले राष्ट्रिय राष्ट्रिय प्रतिस्पर्धामा अवार्ड जितेका हुन् । यसै प्रतिस्पर्धामा उत्कृष्ट फिल्म ‘बुलाकी’ बन्दा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउतले आफ्नो पोल्टामा पारे । चलचित्रतर्फ नै उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकालले, बुलाकीबाटै इन्करेजमेन्ट अवार्ड अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले हासिल गरे । 

सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजीत बासकोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहले लगायतले विजेताहरूलाई अवार्ड प्रदान गरे ।

चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा थिए । यि सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो । 

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड भारतबाट पुभुले हासिल ग¥यो । चलचित्र पुभुबाटै उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हासिल गरे भने उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हासिल गरे । यस्तै फिचरतर्फ नै उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीबाट चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचीरुवाले हासिल गरिन् ।

यसैगरी यो महोत्सवमा अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बँगलादेशको सर्ट फिल्म सौदाबाट फकिर जिप्लवले, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हासिल गरे । अन्तर्राष्ट्रिय बृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले  हासिल गरे । यस्तै एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दि पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तर्राष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, उत्कृष्ट चलचित्र स्कृप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गर्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गरे । यस्तै पपुलर अवार्ड जर्मनीको चलचित्र सिड वीथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाईड मेन्सुरेसनबाट ओडिटी लारामीले हासिल गरे । 

महोत्सवमा अन्तराष्ट्रियतर्फ आठ जना विदेशी निर्णायकहरू छन् । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।

यस्तै राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, बृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र पपुलर अवार्ड चलचित्र लेट नाईटबाट ओविन उद्दिनले जिते ।

राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङदेन र टेलिभिजनकर्मी टिकाराम यात्री थिए । 

कार्यक्रममा सञ्चारमन्त्री गुरुङले चलचित्रको विकास र विस्तामा यस्तो महोत्सव निकै उपयोगी हुने बताए । उनले सबै विदेशी अतिथिहरुलाई भगवानको रुपमा आफूहरूले लिने गरेको भन्दै आउँदो वर्षहरुमा पनि महोत्सवमा सहभागी हुन विदेशीहरूलाई अनुरोध गरे ।

बोर्डका अध्यक्ष डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको बताए । उनले नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय महोत्सवले नेपाललाई विश्वमा चलचित्रमार्फत चिनाएको धारणा राखे ।

महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप