आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

योगेशलाई माधवको जवाफ– हामीले अध्यादेशको विरोध गर्दा दास भएर बसेकालाई बढी पोल्यो

आइतबार, २० माघ २०८१, १८ : ४१
आइतबार, २० माघ २०८१

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा दास भएर बसेको आरोप लगाएका छन् । भट्टराईले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए । 

त्यसको जवाफ दिँदै नेपालले योगेशको नाम नलिई आफूहरूले अध्यादेशको विरोध गर्दा उनैलाई बढी पोलेको दाबी गरे । ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ’ नेपालले भने । 

उनले आफ्नो पार्टी बनाउने बेलामा अध्यादेश आउनु आवश्यकता भएको तर, अहिले संसद् चल्ने बेलामा अध्यादेश आउन आवश्यक नभएको तर्क गरे । संसदमा विचारधिन रहेका विधेयकहरू फिर्ता नै नगरी विधि प्रक्रिया नपुराई अध्यादेश ल्याउने कुरा ठिक नभएको उनको भनाइ थियो । 

नेपालले विपक्षीहरू सरकार ढाल्न नलागेको पनि बताए । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बरु प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सरकार ढल्यो ढल्यो भन्दै गीत गाउन थालेको दाबी गरे । प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै नेपालले प्रतिपक्षले नभई प्रधानमन्त्रीले नै सरकार ढल्यो ढल्यो भन्दै गीत गाएको बताए । 

उनले सरकारकै कारण सबै तिर निराशा छाएको आरोप लगाए । संविधान संशोधन जस्तो विषय अपरिपक्व ढंगले प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले सरकार बन्दाको नियत के भएको भन्ने समेत स्पष्ट भएको उनले बताए । ‘यो सरकारबाट निराशा छ । पहिला पनि धेरै आशा थिएन । त्यही पनि शङ्काको लाभ भने जनतामा थियो । त्यो अहिले पूर्ण रूपमा निराशामा परिणत भएको छ,’ उनले भने । 

सरकारको रवैया अत्यन्तै अलोकतान्त्रिक भएको समेत उनले बताए ।  सरकार गठन गर्दा नै रहस्यमय तरिकाले गरिएको उनको भनाइ छ ।  प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन गर्ने भनेर दिएको वक्तव्यले सरकारको नियत उदाङ्गिएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप