नो केबलकार समर्थक १४ आन्दोलनकारी पक्राउ, एउटा गाडीमा तोडफोड
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकबाट ८ जना र सुनसरीको धरानबाट ६ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणमा अवरोध गर्ने क्रममा प्रहरीले गोली चलाएको घटनाको विरोध गर्दै आन्दोलनकारीले कोशी प्रदेश बन्दको आह्वान गरेका थिए । उक्त बन्दको आंशिक प्रभाव परेको छ । ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबिच झडप हुँदा गत माघ १२ गते शनिबार १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएका थिए । झडपका क्रममा प्रहरीले गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वा शक्त घाइते बनेका थिए । उनीहरूको अहिले पनि काठमाडौँमा उपचार भइरहेको छ । सो घटना भएको तेस्रो दिन आन्दोलनकारीका अगुवा प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।
गोली लागेर घाइते भएकाहरूको उपचार र जीवन निर्वाहभत्ताको माग गर्दै नो केबलकार समूहले प्रदेश बन्दको आह्वान गरेका हुन् । उनीहरूले केलबकार निर्माणको काम स्थगित गर्दै त्यस क्षेत्रबाट सशस्त्र प्रहरी हटाउनु पर्ने बताउँदै आएका छन् । यस्तै पक्राउ परेका आफ्ना समर्थक छोड्नुपर्ने उनीहरूको माग छ ।
बन्दको कारण आइतबार ताप्लेजुङ, पाँचथरमा पूर्ण प्रभाव देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार संखुवासभा, इलाम, धनकुटा र तेह्रथुम, झापा, सुनसरी र मोरङमा पनि कमै प्रभाव परेको छ । यस्तै उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको यातायात क्षेत्रमा भने खासै असर नपरेको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले जानकारी दिए । उनले झापाको दमकमा ८ जना र सुनसरीको धरानबाट ६ जना पक्राउ परेकाहरूलाई त्यहाँको अवस्था र परिस्थिति अनुसार आवश्यक अनुसन्धान पछि छोडिने बताए ।
बन्दको क्रममा झापाको दमकमा भने झडप भएको छ । दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब एक सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन बल प्रयोग गरेको थियो ।
त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट मे१च ५१६१ नम्बरको स्कोरपियोमा क्षति पुगेको एसपी पोखरेलले जानकारी दिए । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार
-
ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
-
माओवादीभित्र शक्ति संघर्ष : गुटको टकराब कि विचारको मन्थन ?
-
काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण
-
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण