आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीभित्र शक्ति संघर्ष : गुटको टकराब कि विचारको मन्थन ?

आइतबार, २० माघ २०८१, २० : ००
आइतबार, २० माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अनेरास्ववियु (क्रान्तिकारी)को निर्वाचन विद्यार्थीको नभई पार्टी नेताहरूको भएको तर्क गरे । माघ १६ गते सम्पन्न अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन २१ औँ सम्मेलनकै निरन्तरता भएको गजुरेलको दाबी थियो ।

‘विद्यार्थी संगठन २१ औँ राष्ट्रिय सम्मेलनबाट नै दुई कित्ता विभाजन भयो । भर्खर सम्पन्न भएको २३ औँ सम्मेलन त्यसकै निरन्तरता हो । नेतृत्वको लागि जसरी चुनाव भयो, त्यो विद्यार्थीको थिएन । केन्द्रीय नेताहरूको चुनाव भयो । विद्यार्थीको आफ्नै चुनाव भएन । नेताहरू प्रत्यक्ष संलग्न भए’, रातोपाटीसँग शुक्रबार उनले भने ।

असोज १० देखि १५ गतेसम्म भएको राष्ट्रिय सम्मेलन नेताहरूकै स्वार्थका कारण चार महिनासम्म लम्बिएको गजुरेलको आरोप छ । गुटबन्दीलाई ठिक ढंगले संश्लेषण नगरिए पार्टी दुर्घटना पर्न सक्ने उनले आकलन गरे । यद्यपि सही ढंगले विचारको संश्लेषण गर्न सकिए पार्टीलाई फाइदा हुने उनको भनाइ छ । 

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको बन्दसत्रमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा विद्यार्थीबिच विवाद हुँदा हुलदङ्गा भएको थियो । अन्ततः नेतृत्व छनोट नगरी प्रतिनिधि रित्तो हात घर फर्किएका थिए ।

उमेर हद लगाउने कि नलगाउने विषयमा दुई पक्षबिच विवाद नमिलेपछि कात्तिकको अन्तिम साता बसेको माओवादीको पदाधिकारी बैठकले विद्यार्थी मोर्चामा देखिएका समस्या विद्यार्थी नेतृत्वसँग परामर्श गरी सहमति जुटाएर समाधान गर्न पहल गर्ने निर्णय गरेको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने विषयमा पुस १३ को निर्वाचनमा खुला पक्षधर पराजित भएको थियो । मुद्दा थप पेचिलो हुँदै गएपछि विवाद स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकसम्म प्रवेश ग¥यो ।

पुस २३ मा बसेको माओवादी केन्द्रीय समिति बैठकले विवाद समाधानका लागि दुई वटा छुट्टाछुट्टै समिति बनायो । उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा तीन सदस्यीय अवकाशप्राप्त नेताहरूको व्यवस्थापन समिति बन्यो । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा निर्वाचनमा भएको धाँधली छानबिन गर्न तीन सदस्यीय समिति बनेको थियो ।

तर माघ ८ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने समयसम्म आइपुग्दा नेतैपिच्छे उम्मेदवार खडा भए । 

सकभर सहमतिमा साझा उम्मेदवार बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा विद्यार्थीका नेताहरू, संगठनका फ्याक्सन इन्चार्जसहित पदाधिकारीहरूलाई बोलाएर छलफल गरे । प्रचण्डको प्रयास असफल भएपछि सोही दिन अध्यक्षमा मात्रै ६ जनाले उम्मेदवारी दर्ता गराए । उपमहासचिव बस्नेतनिकट विजयप्रकाश सापकोटा जो अहिले अध्यक्षमा निर्वाचित भए, उनलाई प्रचण्डको पनि सदाशयता रहेको पार्टीभित्र चर्चा छ । 

अर्का उपमहासचिव जनार्दन शर्मानिकट मानिएका हेमन्त राई त प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए । यसैगरी सुदिन पौडेल उपमहासचिव वर्षमान पुन, उपदेश यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट, योगेन्द्र बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापा उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङनिकट प्रतिस्पर्धामा उत्रिएका थिए ।

सापकोटालाई जिताउन राई प्यानलबाहेक साझा उम्मेदवार बनाउन कार्यदल संयोजकसमेत रहेका बस्नेतले निर्वाचनको दिन बिहानसम्म पनि मतदातालाई प्रभावित पार्ने काम गरेको आरोप लाग्यो । 

बस्नेतसहित प्रचण्डकी छोरी गंगा, स्वकीय सचिव रमेश मल्ल, पञ्चा सिंह लगायत नेताहरूले उम्मेदवारी फिर्ता लिन लगाउनेदेखि मतदातालाई प्रभावित पार्नेसम्मको काम गरेका स्रोतको दाबी छ । पूर्वमन्त्री तथा नेता सुदन किरातीले त हेडक्वाटरको नाममा प्रचण्डको दुरुपयोग गरेको आरोप नै लगाए ।

‘३२ वर्ष उमेर हद आफैमा कोशेढुंगा थियो नै, लोकतान्त्रिक प्रतिस्पर्धामा योग्य उम्मेदवार मैदानमा उत्रिएका बेला हेडक्वार्टर (प्रचण्ड) को नाम दिएर धमिलो पानीमा माछा मारी खाने प्रवृत्तिले अध्यक्ष प्रचण्डको नाम हदैसम्म दुरुपयोग गरियो’, किरातीले भने, ‘व्यक्ति व्यक्तिसम्म फोन गयो । त्यो सर्वाधिक दुरुपयोग भयो । यसले माओवादी आन्दोलनको राजनीतिक नर्सरीमा प्वाइजन हाल्ने काम गर्‍यो । यो राम्रो कुरा भएन । यसको भण्डाफोर गर्नैपर्छ।’

उपमहासचिव गजुरेलले पनि विद्यार्थीको निर्वाचनलाई आफूअनुकूल व्यक्तिलाई जिताउन शक्तिको दुरुपयोग भएको स्विकारे । तर व्यक्ति विशेषलाई आरोपित गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।

‘अहिले व्यक्ति विशेषलाई आरोप लगाएर समस्या समाधान हुँदैन । हामीले विद्यार्थीको नेता विद्यार्थी प्रतिनिधिलाई नै छाड्न दिनपर्थ्यो, तर त्यसो भएन । व्यक्ति व्यक्तिलाई प्रभावित गर्ने काम नेताहरूबाटै भयो । यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुन जरुरी छ’, उनले भने ।

विद्यार्थीका इन्चार्ज हिमाल शर्मा भने पार्टीभित्र पहिला गुटगत स्वार्थ भए पनि अहिले भत्किएको दाबी गर्छन् । मेरो गुट वा तेरो गुट भनेर नेताहरूलाई भल छोप्ने काम नगर्न उनले आग्रह गरे ।

‘अहिले मान्छेहरूले धेरै गुट भए, कुन गुटका आए भनेर बाहिर ल्याएका छन्, त्यो होइन । अब गुट भत्किएको छ, अझै भत्कन्छन् । यो मेरो गुट, त्यो तेरो गुट भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ’, शर्माले भने ।   

विद्यार्थीको चुनावी परिणामलाई लिएर माओवादी केन्द्रमा शक्ति सन्तुलन फेरबदल हुन लागेको रूपमा धेरैले अर्थ्याए । चुनावी परिणामअनुसार पदाधिकारीमा महासचिव, कोषाध्यक्षसहित आधा पद पार्टी उपमहासचिव जनार्दन शर्मानिकट प्यानलले जितेको थियो । अध्यक्ष भने बस्नेत निकटकाले जिते । 

उपमहासचिव शर्मा निकटले ३३ पदाधिकारीमध्ये महासचिव, पाँच उपाध्यक्ष, सात उपमहासचिव, ६ सचिव, कोषाध्यक्ष र केन्द्रीय आयोगका पदाधिकारीमा ११ जनाले जित हासिल गरेको दाबी गरेको छ । 

पार्टीभित्र अहिलेसम्म गुटको रूपमा प्रचार नभएका बस्नेत विद्यार्थीको निर्वाचनबाट नयाँ गुटमा उदाएको चर्चा भइरहेको छ । यसअघि प्रचण्ड आफैले गुटको नेतृत्व नगरे पनि खुमलटारलाई छुट्टै गुटको रूपमा चित्रण गरिँदै आएको छ । प्रचण्डबाहेक वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरू महरा, भुसाल, महासचिव गुरुङ, उपमहासचिवहरू पुन र शर्माको आ–आफ्नै गुट रहेको माओवादी वृत्तमा चर्चा चल्ने गरेको छ । यस्तै उपमहासचिव मात्रिका यादव, गिरिराजमणि पोखरेल लगायतका पनि छुट्टै उपगुट रहेको बुझिएको छ ।

  • शक्ति संघर्ष गुटको कि स्वार्थ समूहको ?

बेलाबखत प्रचण्डको अभिव्यक्तिले पनि पार्टीभित्र विचार समूह नभई गुट वा स्वार्थ समूह रहेको स्पष्ट झल्किन्छ । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले देशभर १ सय ७५ पालिका जित्ने आकलन गरेको थियो । तर १ सय २२ पालिका प्रमुख मात्र जित्यो । निर्वाचनलगत्तै पार्टी कामको सिलसिलामा भदौ १७ गते सुर्खेत पुगेका प्रचण्डले गुटबन्दी र स्वार्थ समूहका कारण जितेका ५० पालिकासमेत गुमाएको आरोप लगाएका थिए । गुटबन्दी देखेर बेला बेला आफू हैरान भएको उनले त्यसबेला बताएका थिए । पार्टी नै विघटन गरौँ कि जस्तो लागेकोसम्म उनले निराशा व्यक्त गरेका थिए ।

‘नेताहरूको बिचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन् । गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ’, त्यतिबेला उनले भनेका थिए, ‘पार्टीमा गुटबन्दी देखेर बेलाबला म आफै हैरान भएको छु । यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नुभन्दा कार्ल मार्क्सले झैँ पार्टी विघटन गरौँ कि भन्ने लागेको छ ।’

निर्वाचन भएको २६ महिनामा पार्टीप्रति जनआकर्षण बढे पनि नेताहरूको स्वार्थगत प्रवृत्तिमा कुनै सुधार नआएको गजुरेलले दाबी गरे । पार्टीभित्र गुट वा स्वार्थ समूह युद्धकालमा पनि भएको तर, त्यतिबेला विचारको बहस हुने गरेको उनको भनाइ छ । 

शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्ड विचार समूह, किरण विचार समूह र बाबुराम विचार समूह भएको तर पार्टी विभाजनपछि स्वार्थ समूह बढ्दै गएको गजुरेलको निष्कर्ष छ ।

‘विचार समूह भएको भए राम्रो हुन्थ्यो । विचार संश्लेषण भएन, गुटबन्दी भयो । गुटलाई मान्यता दिनुभएन । पार्टी निर्माणका लागि अस्थायी रूपमा विचार समूहसम्म पुग्न सकिन्छ’, उनले भने, ‘हिजो पनि एउटा प्रवृत्ति थियो । त्यसलाई बहस संश्लेषण गरेर पार्टीलाई उचाइमा लैजान मद्दत ग¥यो । तर शान्ति प्रक्रियामा आउँदा संश्लेषण हुन पाएन । चुनावको मुखमा विद्रोह भनियो । २०६३ साल भदौमा सम्पन्न बालाजुको पाँचौँ विस्तारित बैठकले विचार संश्लेषणलाई बन्ध्याकरण गर्‍यो ।’

२०७२ सालमा डा.बाबुराम भट्टराई पार्टीबाट अल्गिएपछि आफू कुनै गुटमा पनि नलागेको गजुरेल दाबी गर्छन् । विचारको सही विश्लेषण नहुँदा पार्टी नै विभाजन भएको उनको अनुभव छ । पालुङटारको विस्तारित बैठकसम्म आइपुग्दा यो पुष्टि भएको गजुरेलले बताए ।

‘पार्टी अहिले गुटबन्दीको घेराबन्दीमा छ । गुटबन्दीले तिक्तता ल्याउँछ । तिक्तताले शत्रुता बढ्छ । शत्रुतापूर्ण व्यवहारले पार्टी बन्दैन । त्यसैले पहिला गुटको अन्त्य गरी विचारको संश्लेषण हुन जरुरी छ’, उनले भने ।

उपमहासचिव गजुरेल मात्र होइन, उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा गुटगत प्रवृत्ति विकास भएको स्वीकारेका छन् । माघ १५ गते काठमाडौँमा प्रेस सेन्टर नेपालको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै सापकोटाले भनेका थिए, ‘पार्टीभित्र विचार होइन, गुट उपगुट विकास भइरहेको छ । विद्यार्थी चुनावसम्म आउँदा यो गुटगत स्वार्थ प्रस्ट देखिन्छ’, उनले भने ।

त्यसको अघिल्लो दिनमात्रै प्रचण्डले उपमहासचिव पुनलाई सँगै लिएर पूर्वको भ्रमणमा निस्किएका थिए । प्रचण्ड र पुनको हिमचिम बढ्नु र सतहमा देखिने गरी बस्नेतले विद्यार्थीको निर्वाचनमा भूमिका खेल्नुले माओवादीको उच्च तहमा शक्ति सन्तुलन फेरबदल हुन लागिएको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।   

  • शक्ति सन्तुलन फेरबदल हुन लागेको हो ?

तर राजनीतिक विश्लेषक डम्बर खतिवडाले माओवादीभित्र वैद्य, बाबुराम, बादल हुँदासमेत समानान्तर शक्ति अभ्यास भएकाले अहिले गुट उपगुट हुनु स्वाभाविक मान्छन् । विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा देखिएको गुटगत स्वार्थका कारण प्रचण्ड अप्ठेरोमा नपर्ने उनको दाबी छ ।

‘प्रचण्डलाई टसल दिने व्यक्ति अहिले माओवादीमा छैनन् । किरण, बादल, बाबुराम हुँदा पनि प्यारलल शक्तिको अभ्यास गरेका हुन् । उनीहरू किरण र बाबुराम गुट मात्र नभई विचार समूह पनि थिए । अहिले प्रचण्डको तुलनामा अन्य नेता धेरै पुड्के देखिन्छन्’, खतिवडाले भने, ‘माओवादीमा अहिले विचार समूह छैन । प्रचण्ड ४० वर्ष लामो पार्टी नेतृत्व गरेका पाका नेता हुन् । तीन पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नेतृत्व, शक्ति र स्रोतको राम्रै विकास गरेका छन् । त्यसैले आन्तरिक शक्ति सन्तुलनमा फेरबदल ल्याएर वर्षमान वा शक्ति बस्नेत वा जनार्दन शर्माले नेतृत्व लिन्छन् भन्ने मेरो विश्वास छैन ।’

तर राजनीतिक विश्लेषक कृष्ण पोखरेल भने प्रचण्डको विकल्पमा युवा पुस्ता तयार भयो भन्ने विषय एउटै घटनालाई लिएर समग्र माओवादीको मूल्यांकन गर्न नहुने खालको भएको बताउँछन् । अन्य संगठनमा पनि यस्तै अभ्यास भए नयाँ पुस्ता पनि प्रचण्डको विकल्पमा तयार भएको पुष्टि हुने उनको भनाइ छ । 

‘कडा कमान्ड अर्गनाइजेसनबाट चलेको कम्युनिस्ट पार्टीमा लोकतान्त्रिक अभ्यास स्थापित भयो । विद्यार्थीको निर्वाचन परिणामले जो लोकप्रिय छ, ऊ नेतृत्वमा आउने वातावरणको सुरुवात भयो । यद्यपि, प्रचण्डले चाहेको भए जुनसुकै उपाय लगाएर भए पनि आन्तरिक लोकतान्त्रिक अभ्यासको प्रक्रियालाई अवरुद्ध गर्न सक्थे,’ पोखरेल भन्छन्, ‘सहमतिको नाममा आफ्नो वर्चस्व कायम गर्न सक्थे, तर उनले प्रतिस्पर्धाको अभ्यासलाई सहज रुसमा सहयोग गरेको देखिन्छ । यो प्रचण्डको राम्रो पक्ष हो । चुनावमा प्रचण्डले जित्यो वा हार्‍योभन्दा लोकतान्त्रिक अभ्यासको जित भयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप